‘रोनाल्डोविहीन’ च्याम्पियन्स लिग फुटबल आजदेखि – Nepal Press

‘रोनाल्डोविहीन’ च्याम्पियन्स लिग फुटबल आजदेखि

लन्डन । प्रतियोगिताको इतिहासकै सर्वाधिक सफल क्रिस्टियानो रोनाल्डोबिना नै युरोपियन च्याम्पियन्स लिग फुटबल मङ्गलवारदेखि सुरु हुँदै छ ।

पहिलो दिन पेरिस सेन्ट जर्मन (पीएसजी)ले युभेन्ट्स, म्यानचेस्टर सिटीले सेभिल, रियल म्याड्रिडले सेल्टिक र चेल्सीले डाइनामो जाग्रेबसँग प्रतिस्पर्धा गर्दै छ । मङ्गलवार विभिन्न ८ वटा खेलहरू हुनेछन् ।

म्यानचेस्टर युनाइटेड छनोट हुन नसकेका कारण यो सिजन च्याम्पियन्स लिग रोनाल्डोबिहिन बनेको हो । रोनाल्डो लगातार २० सिजनपछि पहिलो पटक च्याम्पियन्स लिग खेल्न असफल भएका हुन् । म्यानचेस्टर युनाइटेड गत सिजन घरेलु लिगको छैटौँ स्थानमा रहेको थियो ।

१२ वर्षपछि म्यान युनाइटेडमा फर्किएको पहिलो सिजनमै रोनाल्डोले खराब समयको सामना गरिरहेका हुन् । गत सिजन उनी म्यान युनाइटेडका लागि घरेलु लिगमा सर्वाधिक गोल गर्ने खेलाडी रहे पनि टोलीले अपेक्षित नतिजा निकाल्न सकेको थिएन । यो सिजन रोनाल्डोको व्यक्तिगत प्रदर्शन राम्रो छैन। उनले ६ खेल खेले पनि एक गोल पनि गर्न सकेका छैनन् ।

रोनाल्डोले युरोपियन च्याम्पियन्स लिगमा मात्र हालसम्म एक सय ४० गोल गरेका छन् । उनले रियल म्याड्रिडबाट एक सय १ खेलमा एक सय ५ च्याम्पियन्स लिग गोल गरेका थिए ।

सन् २०१८ मा युभेन्ट्समा आबद्ध भएपछि उनले त्यहाँबाट २३ खेलमा १३ च्याम्पियन्स लिग गोल गरेका थिए । रोनाल्डोले हालसम्म रियल म्याड्रिडबाट चार पटक र म्यानचेस्टर युनाइटेडबाट एक पटक च्याम्पियन्स लिग उपाधि जितेका छन् ।

रोनाल्डोपछिका तीन खेलाडी प्रतिस्पर्धामा

च्याम्पियन्स लिग इतिहासमा सर्वकालिन सर्वाधिक गोलकर्ताको सूचीमा रहेका दोस्रोदेखि चौथो स्थानसम्मका खेलाडी भने यो सिजन पनि मैदानमा देखिनेछन् ।

एक सय २५ गोल गरेका लियोनल मेस्सी पीएसजीबाट उत्रने छन् । उनी गत सिजनदेखि पीएसजीबाट खेलिरहेका छन् । पीएसजी गत सिजन घरेलु लिगको विजेता बनेको थियो । ८६ गोल गरेका रोबर्ट लेवान्डोस्की यो सिजनदेखि बार्सिलोनाबाट देखा पर्दैछन् ।

दुई पटकका फिफा वर्ष खेलाडी लेवान्डोस्कीले यसअघि बुन्डेस लिगा क्लब बायर्न म्युनिख र बोरुस्सिया डर्टमुन्डबाट खेलेका थिए ।

८६ नै गोल गरेका करिम बेन्जेमा फेरी एक पटक रियल म्याड्रिडबाट च्याम्पियन्स लिग खेल्दैछन् । बेन्जेमाकै निर्णायक प्रदर्शनमा रियल म्याड्रिडले गत सिजन च्याम्पियन्स लिग उपाधि जितेको थियो । बेन्जेमाले हालसम्म पाँच पटक च्याम्पियन्स लिग जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर