साफ जितेर महिला खेलाडीप्रतिको दृष्टिकोण बदल्न चाहन्छौं : प्रशिक्षक थापा (भिडिओ) – Nepal Press

साफ जितेर महिला खेलाडीप्रतिको दृष्टिकोण बदल्न चाहन्छौं : प्रशिक्षक थापा (भिडिओ)

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले साफको उपाधि घरमै राखेर महिला टिमप्रति सबैको दृष्टिकोण परिवर्तन गरेर देखाउने बताएका छन् । सोमबार आयोजित प्रि-म्याच कन्फेरेन्समा बोल्दै उनले विगतका गल्तीहरुलाई सुधार गर्दै यो पटक साफको उपाधि घरमै राख्नेमा आशावादी रहेको समेत प्रष्ट पारे ।

‘पुराना गल्तीलाई सुधार गर्दै उपाधि जित्ने हाम्रो पहिलो आधार हो । अनि महिला खेलाडीप्रतिकोे दृष्टिकोणमा परिवर्तन ल्याउने हाम्रो प्रयत्न रहनेछ’, उनले भने । नेपालले उद्घाटन खेलमा मंगलबार भुटानको सामना गर्दैछ । भुटानसँगको खेलका लागि नेपाली टिम शारिरिक, मानसिक सम्पूर्ण रुपमा तयार रहेको र सकारात्मक नतिजा ल्याउनेमा विश्वस्त रहेको प्रशिक्षक थापा बताउँछन् ।

‘‘हामी भुटानविरुद्धको खेलमा आफ्नो सतप्रतिशत दिँदै सकारात्मक नतिजा निकाल्ने प्रयास गर्छाै । त्यसका लागि हामी शारीरिक, मानसिक र प्राविधिक रुपमा तयार छौं,’ उनले भने ।

नेपाली टिममा साफका लागि तीन खेलाडी नयाँ र तीन पुरानाले पुनरागमन गरेका छन् । पुराना र नयाँ खेलाडीसँग राम्रो समायोजनले टिम उत्कृष्ट बनेको थापा बताउँछन् ।

घरेलु मैदानमा हुने साफका लागि नेपाली टिमकी गोलकिपर एन्जिला तुम्बांपो सुब्बाले कप्तानको जिम्मेवारि पाएकी छिन् । कप्तान रेनुका नगरकोटे प्रशिक्षणका क्रममा घाइते भएपछि एन्जिलालाई सो अवसर जुरेको हो ।

आफ्नो टिममा रहेका २३ खेलाडी कप्तान सरहनै भएपनि एन्जिलााई उनको अनुभवका आधारमा कप्तान चयन गरेको थापाले प्रष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर