‘सिबिफिन-नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ स्थापना, भदौ ३१ गते २ जना आर्थिक पत्रकारलाई प्रदान गरिने – Nepal Press

‘सिबिफिन-नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ स्थापना, भदौ ३१ गते २ जना आर्थिक पत्रकारलाई प्रदान गरिने

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को आर्थिक सहयोगमा ‘सिबिफिन-नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । नाफिजका अध्यक्ष मोदनाथ ढकाल र सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले बिहीबार एक कार्यक्रमबीच उक्त पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

दुई संस्थाले बैंकिङ बिटमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्ति विकास, क्षमता विस्तार र असल पत्रकारिता अभ्यासमा प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको जनाएका छन् । पुरस्कारले स्वस्थ तथा खोजमूलक आर्थिक पत्रकारितालाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ ।

यस वर्षको ‘सिबिफिन-नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ भदौ ३१ गते नाफिजको वार्षिकोत्सव समारोहमा पहिलोपटक ५०-५० हजार रुपैयाँको दरले २ जना आर्थिक पत्रकारलाई प्रदान गरिने भएको छ । पुरस्कार पाउने पत्रकार छनोट गर्न दुइटै संस्थाको प्रतिनिधि रहने गरी ३ सदस्यीय कार्यदल गठन गरिनेछ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि सिबिफिनका अध्यक्ष गोल्यानले सिबिफिन नाफिज बैंकिङ पत्रकारिता पुरस्कारले आर्थिक पत्रकारलाई आर्थिक घटनाक्रम तथा विषयवस्तुलाई सबल, निष्पक्ष, खोजमूलक, प्रभावकारी तथा तार्किक निचोड दिन हौसला मिल्ने दाबी गरे ।

नाफिजका अध्यक्ष ढकालले पत्रकारितालाई प्रतिस्पर्धी बनाउन तथा खोजमूलक पत्रकारिताको प्रवर्द्धन गर्न पुरस्कारले सघाउ पुर्‍याउने उल्लेख गरे ।

हस्ताक्षर समारोहमा सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, उपाध्यक्ष राजेश उपाध्याय, महासचिव केशवबहादुर रायमाझी, कोषाध्यक्ष तुल्सीराम अग्रवाल, सचिव कुशप्रसाद मल्ली र महानिर्देशक डा. गोपालप्रसाद तिवारी तथा नाफिजका महासचिव नारायणप्रसाद पौडेल र कार्यसमिति सदस्यद्वय दीपक भट्ट तथा रोविन पौडेलको पनि उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *