फर्निचर तथा फर्निसिङ एक्स्पोमा भारत र बंगलादेशका प्रदर्शक सहभागी हुने – Nepal Press

फर्निचर तथा फर्निसिङ एक्स्पोमा भारत र बंगलादेशका प्रदर्शक सहभागी हुने

काठमाडौं । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ मा विदेशी प्रदर्शकहरु सहभागी हुने भएका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले एक्स्पोमा नेपालसहित भारत तथा बंगलादेशका प्रदर्शकको सहभागिता हुने जानकारी दिएको हो ।

एक्स्पो आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघले एक्स्पोको आन्तरिक तयारी पूरा भई भौतिक तयारी अघि बढेको जनाएको छ ।

संघका अध्यक्ष शुभेन्द्र जोशीले फर्निचर तथा फर्निसिङसँग सम्बन्धित विश्व बजारका आधुनिक प्रविधिको जानकारी आदानप्रदान गर्न एक्स्पो महत्वपूर्ण हुने बताए ।

‘किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षण रहनेछ’, उनले भने ।

भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा हुने एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी कक्ष रहनेछ । संघका महासचिव अर्जुन घिमिरेका अनुसार ५ दिन चल्ने एक्स्पोमा १ लाख अवलोकनकर्ता आउने अपेक्षा छ । एक्स्पो अवलोकनकर्ताका लागि प्रवेश निःशुल्क गरिएको उनले बताए । यसका लागि अवलोकनकर्ताले आफ्नो विवरण रजिष्ट्रेशन डेक्समा उपलब्ध गराउनु पर्नेछ ।

एक्स्पोको डिजिटल पेमेण्ट पार्टनर डिजी पेमार्फत पनि निःशुल्क प्रवेश पास पाउन सकिने व्यवस्था छ । प्रत्येक दिन डोर प्राइज र दशैं विशेष छुटको व्यवस्था गरिएको उनले जानकारी दिए ।

प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको एक्स्पोलाई हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाइटेड फोम एण्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका छन् । प्रेस्टिज कार्पेटका सञ्चालक अनिल महेश्वरीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ एक्स्पो आयोजना गरिएकाले स्वदेशी ब्राण्ड प्रेस्टिज कार्पेटले मेलामा शीर्ष प्रायोजन गरेको बताए ।

मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचर र फर्निसिङका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने अपेक्षा गरिएको छ । प्रदर्शनीमा फर्निचर फर्निसिङका नवीनत्तम सामग्रीको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराइने आयोजकले जनाएको छ ।

एक्स्पोलाई डिजिटल पेमेन्ट पार्टनरमा डिजि पे र स्पेस म्यागिजिन, नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एसोसियसन नेपालको सहयोग रहेको छ । इभेण्ट सोलुसन प्रालिले व्यवस्थापन गरेको एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको समर्थन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *