क्यानको पेलाइमा परेका ज्ञानेन्द्रले ब्याटबाटै दिए जवाफ – Nepal Press

क्यानको पेलाइमा परेका ज्ञानेन्द्रले ब्याटबाटै दिए जवाफ

काठमाडौं । केन्याविरुद्धको श्रृंखलाअघि नेपाली टिमका कुनै खेलाडी सर्वाधिक दबाबमा थिए भने उनी ज्ञानेन्द्र मल्ल नै थिए । नेपाली टिमका पूर्वकप्तानसमक्ष फेरि एकपटक टिममा आफ्नो उपादयेता सिद्ध गर्नुपर्ने चुनौती थियो ।

नेपाल क्रिकेट संघ (क्यान) सँगको टसलले गर्दा ज्ञानेन्द्रको क्रिकेट करिअर नै दाउमा लागेको अवस्थामा यो सिरिज उनलाई एकप्रकारको ‘जीवनदान’ सावित भएको छ । उनले पाएको मौका खेर फालेनन् । पाँच टी-२० को श्रृंखलामा दुईपटक म्यान अफ दी म्याच बने । फाइनलमा उनले अर्धसतकीय इनिङ खेल्दै टिमलाई म्याच मात्र होइन, सिरिज नै जिताउन सहायक बने ।

पारस खड्काले कप्तानीबाट राजीनामा दिएपछि तत्कालीन उपकप्तान ज्ञानेन्द्र मल्ललाई क्यानले कप्तान नियुक्त गरेको थियो, जसका उनी स्वभाविक दाबेदार थिए । तर, कप्तान भएयता उनको व्यक्तिगत प्रदर्शन खस्किँदै गएको थियो । साथै, कोरोनाका कारण क्रिकेट म्याचहरू पनि भएनन् । यही बीचमा संघ र ज्ञानेन्द्रसहितका क्रिकेटहरूबीच विवाद चर्कियो ।

क्यानले गरेको वर्गीकरणमा केही खेलाडीहरूलाई विभेद गरिएको भन्दै ज्ञानेन्द्रसहितका केही खेलाडीहरूले असन्तुष्टि जनाएका छन् । त्यही बहानामा क्यानले उनीहरूमाथि कारवाही गर्‍यो । ज्ञानेन्द्र कप्तानबाट र दीपेन्द्रसिंह ऐरी उपकप्तानबाट हटाइए । उनीहरूसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सेन्ट्रल कन्ट्राक्टबाटै बाहिर राखियो । नयाँ कप्तानको जिम्मेवारी सन्दीप लामिछानेले पाए ।

क्यानले चार खेलाडीमाथि पूर्वाग्रही ढंगले कारवाही गरेको भन्दै ठूलै विवाद जन्मियो । चौतर्फी दबाबबीच अन्ततः क्यान लचक हुन वाध्य बन्यो । उसले सेन्ट्रल कन्ट्राक्टबाट चार खेलाडीलाई बाहिर राख्ने निर्णय फिर्ता लियो । तर, ज्ञानेन्द्र र दीपेन्द्रको जिम्मेवारी भने खोसिएको खोसिएै भयो । यद्यपि, उनीहरूलाई सिनियर खेलाडीका रूपमा राष्ट्रिय टिममा स्थान दिइएको थियो ।

ओमानमा सम्पन्न चारदेशीय टी-२० अन्तर्राष्ट्रिय श्रृंखला र त्यसपछि आयोजित विश्वकप छनोटमा ज्ञानेन्द्रले सन्दीपको कप्तानीमा खेले । त्यसपछि यूएईएमा विश्वकप लिग-२० अन्तर्गत पपुआ न्युगिनी र यूएई सम्मिलित त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा पनि उनी सहभागी भए । कप्तानी गुमाएसँगै उनको प्रदर्शन चित्तबुझ्दो भइरहेको थिएन । र, ज्ञानेन्द्रलाई टोलीमै राख्न नचाहेको क्यानका लागि यही बहाना भयो ।
फर्ममा नरहेको भन्दै उसले नेपालमै आयोजना भएको पपुवा न्यूगिनी र मलेसियाविरुद्धको श्रृंखलामा ज्ञानेन्द्रलाई राष्ट्रिय टोलीमा स्थान दिएन ।

गत चैतयता ज्ञानेन्द्र लगातार टिमबाहिर थिए । लगातार खराब प्रदर्शन गरिरहेका केही खेलाडीहरूलाई अवसरमाथि अवसर दिइरहेको क्यानले ज्ञानेन्द्रप्रति चरम पूर्वाग्रह देखाइरह्यो । यद्यपि, ज्ञानेन्द्रले क्यानका विरुद्धमा सार्वजनिकरूपमा मुख खोलेनन् । यता, सन्दीपको नेतृत्वमा नेपाली राष्ट्रिय टिमको प्रदर्शन पनि सन्तोषजनक हुन नसकेपछि दबाबमा परेको क्यानले केन्याविरुद्धको सिरिजमा ज्ञानेन्द्रलाई कमब्याक गराउन बाध्य भयो ।

लगातार टिमबाहिर रहँदा ज्ञानेन्द्रको क्रिकेट फ्यूचरमाथि नै प्रश्न उठेको थियो । अब राष्ट्रिय टिममा उनको करिअर समाप्त भएको विश्लेषण समेत भयो । तर, केन्याविरुद्धको सिरिजमा गरेको प्रदर्शनसँगै उनको करिअर ब्युँतिएको छ । सिरिजका पाँच म्याचमा सर्वाधिक रन बनाउनेमध्ये रोहित पौडेलपछि नेपालका दोस्रो र समग्रमा तेस्रो ब्याट्सम्यान बनेका छन् ज्ञानेन्द्र । साथै, यस सिरिजमा नेपालबाट एक मात्रै अर्धशतक उनले बनाए । उनको ब्याटबाट तीन वर्षपछि अर्धशतकीय इनिङ निस्केको हो ।

रन संख्याभन्दा महत्वपूर्ण चाहिँ उनले दुई वटा म्याचमा टिमलाई जिताउन महत्वपूर्ण योगदान गरे । तेस्रो म्याचमा १५७ रन पछ्याउने क्रममा उनले टिमका लागि ४१ बलमा ४६ रन बनाएका थिए । अनि निर्णायक फाइनलमा उनले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई उच्च स्कोरतर्फ डोहोर्याए । मल्लले ४४ बलमा ५९ रन बनाएपछि नेपाली टिमले १७५ रनको मजबुत स्कोर खडा गर्न सफल भएको थियो । १७६ रनको लक्ष्य केन्याले भेट्टाउन सकेन र नेपाललाई सिरिज सुम्पियो ।

ब्याट्सम्यानहरू चल्न नसकेको प्रतियोगितामा ज्ञानेन्द्रको फर्मले नेपाललाई राहत दिएको छ । उनी र रोहित पौडेललाई छोडेर अन्य ब्याट्सम्यानहरूले निराश बनाए । खासगरि, दिपेन्द्र मल्लको खराब फर्म नेपालका लागि चिन्ताको विषय बनिरहेको छ ।

नेपाली क्रिकेट टिममा अहिले युवा खेलाडीहरूको बाहुल्य छ । पारस खड्काले सन्न्यास लिएपश्चात ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी लगायतका सिनियर खेलाडी एकैपटक टिमबाहिर हुँदा अनुभवको कमी खट्किएको थियो । कप्तान सन्दीप स्वयम्‌ले यसको स्वीकारोक्ति गरेका थिए । शरद र विनोदले फेरि टिममा स्थान बनाउन कठिन देखिन्छ । तर, ज्ञानेन्द्रको सफल कमब्याकले चाहिँ क्रिकेट समर्थकहरूमा केही उत्साह पक्कै जागेको छ ।

नेपालको ओपनिङ जोडीमा फेरि एकपटक अस्थिरता उत्पन्न भएको अवस्थामा ज्ञानेन्द्रलाई प्रशिक्षकले सदुपयोग गर्न सक्छन् । उनी ओपनिङमा, वान डाउनमा वा मध्यक्रममा जहाँ पनि सुट हुन सक्ने ब्याट्सम्यान हुन् । यद्यपि, टी-२० मा उनको सुस्त ब्याटिङलाई लिएर भने आलोचना हुने गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर