केन्याविरुद्धको टि २० श्रृंखला नेपालको पोल्टामा, अन्तिम खेलमा ३१ रनले विजयी – Nepal Press

केन्याविरुद्धको टि २० श्रृंखला नेपालको पोल्टामा, अन्तिम खेलमा ३१ रनले विजयी

काठमाडौं । केन्याविरुद्धको टि–२० सिरिज नेपालले जितेको छ । अन्तिम खेलमा ३१ रनको जित दर्ता गर्दै नेपालले सिरिजमा कब्जा जमाएको हो ।

पाँच म्याचको सिरिजमा यसअघि दुवै टिमले २–२ जित हासिल गरेका थिए । निर्णायक अन्तिम म्याचमा आफ्नो ब्याटिङ सुधारेपछि नेपाललाई सहज जित प्राप्त भयो ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले केन्यालाई १७६ रनको चुनौति दिएको थियो । नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले ५९ रन बनाए । उनले ४४ बलको सामना गर्दै पाँच चौका र २ छक्का हिर्काएका थिए ।

पहिलो विकेटका लागि ज्ञानेन्द्र र अर्जुन साउदबीच ६५ रनको सुदृढ साझेदारी भएका थियो । अर्जुन २९ रनको निजी स्कोरमा आउट भएपछि दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलले ज्ञानेन्द्रलाई साथ दिए । रोहितले २५ बलमा ४७ रनको अर्को उत्कृष्ट इनिङ खेले । नेपालका पछिल्लो क्रमका ब्याट्सम्यानले उल्लेख्य रन बटुल्न सकेनन् । केन्याका लागि सेम नोछे, विराज पटेल र नेहेमिया ओधियाम्बोले २–२ विकेट लिए ।

१७६ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गर्दै केन्याले ८ रनमै पहिलो विकेट गुमायो । दोस्रो विकेटका लागि ४५ रनको साझेदारी गर्दै केन्याले खेलमा फर्किने संकेत गरेको थियो । तर, उक्त साझेदारी तोडिएपश्चात केन्याले लगातार विकेट गुमाइरह्यो ।

ब्याटिङतर्फ पनि नोछे र ओधियाम्बोले उत्कृष्ट प्रयास गरे, तर टिमलाई जितसम्म लैजान सकेनन् । केन्याले २० ओभरमा ७ विकेट गुमाएर १४४ रन मात्र जोड्न सक्यो ।

बलिङ तर्फ नेपालका लागि बसिर अहमद र सन्दिप लामिछानेले २–२ विकेट लिए । दिपेन्द्र ऐरी, करण केसी र मोहम्मद अदिल आलमको खातामा एक–एक विकेट रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर