किकबक्सिङ्गमा नेपाललाई ६ स्वर्ण – Nepal Press

किकबक्सिङ्गमा नेपाललाई ६ स्वर्ण

काठमाडौं । भुटानमा भएको पाँचौं दक्षिण एशियन किकबक्सिङ्ग च्याम्पियनसीपमा नेपालले ६ स्वर्ण जितेको छ ।

टोली नेता सो क्योकुशिन कराते संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार सिवानी श्रेष्ठले खुला तौल समूहमा फाइनलमा भुटानकी खेलाडीलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले सम्पूर्ण महिला तर्फ उत्कृष्ट खेलाडीको उपाधी समेत हात पार्न सफल भएकी छिन् ।

भदौ ४ र ५ गते भएको च्याम्पियनसीपमा ५४ केजी तौलमा स्वर्ण हात पारेका कविन देशारले सम्पूर्ण पुरुषतर्फ उत्कृष्ट खेलाडीको उपाधिसमेत जिते । यसैगरी ६० केजी तौलमा स्वर्ण जितेका भुवन हायुले च्याम्पियनसीपको अनुशासित खेलाडीको ट्रफी जिते ।

स्वर्ण जितेर नेपाल शान र नाम उच्च राख्न सफल अन्य खेलाडीहरुमा ६२ केजी तौलमा मुकेश लुईटेल, ६४ केजी तौलमा जय राम ब्लोन र ७२ केजी तौलमा दलबहादुर घले रहेका छन् ।

भुटानको फुएनसोलिगमा भएको च्याम्पियनसीप निन्जा स्पोर्टस् फेडेरेशन र ईन्टरनेशनल स्पोर्टस् गेम्स फेडेरेशनको संयुक्त आयोजनामा भएको थियो ।

उक्त च्याम्पियनसीपमा सहभागी भएका नेपालका ६ जनै खेलाडीले स्वर्ण जिते । यस्तै आयोजकले नेपाललाई सम्मान गर्दै संघका अध्यक्ष राजकुमार श्रेष्ठलाई प्रमुख अतिथिको आतिथ्यता प्रदान गरेको थियो । भुटान गएको टोलीमा प्रशिक्षकमा जगत धामी र टिम व्यवस्थापकमा कसि कुमारी क्षेत्री रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर