छोराछोरी छोडेर रुँदै जापान लागिन् गायिका रिना केसी – Nepal Press

छोराछोरी छोडेर रुँदै जापान लागिन् गायिका रिना केसी

काठमाडौं । कलाकारिता क्षेत्रबाट निराश हुँदै विदेश पलायन हुने संगीतकर्मीको सूचीमा थपिएकी छन् दोहोरी गायिका रिना केसी । उनी आफ्ना दुई छोराछोरीलाई नेपालमै छोडेर रोजगारीका निम्ति जापान लागिन् ।

गीत गाएर जीवनयापन गर्न कठिन भएको भन्दै रिनाले वैदेशिक रोजगारीमा जाने निर्णय लिएकी हुन् । श्रीमानसँग दुई वर्षअघि डिभोर्स भएपछि उनले एकल आमाका रुपमा छोराछोरीको लालनपालन गर्दै आएकी थिइन् । छोराछोरीलाई बहिनीको जिम्मा लगाएर हिँडेको उनले बताइन् ।

विदेशिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रिनालाई सञ्चारकर्मी तथा गायक कमल सरगमले भेट्टाएका थिए । उनीसँगको कुराकानीमा रिना निकै भावविव्हल बनिन् । खासगरि छोराछोरीलाई छोडेर हिँड्नुपर्दाको पिडा उनको आँखामा छचल्किएको थियो ।

रिनाले रुँदै भनिन्, ‘गीत गाएर मात्रै जिविकोपार्जन गर्न नसकेपछि जन्मभूमि छोडेर जाँदैछु । यो मेरो रहर नभएर बाध्यता हो । छोराछोरीलाई आमाको साथ चाहिने बेलामा छोडेर हिँड्नुपर्दा सास रोकिएजस्तो भएको छ ।’

रिनाकी छोरी १२–१३ वर्षकी र छोरा ८–९ वर्षका छन् । यसअघि पनि उनी छोराछोरी छोडेर रोजगारीका लागि साइप्रस गएकी थिइन् । दूध खाँदै गरेको छोरा र छोरीलाई माइतीमा छोडेर साइप्रस गएकी उनी दुई वर्ष त्यहाँ काम गर्दा सोचेजस्तो भएन । निकै दुःख पाएपछि उनी ऋण समेत तिर्न नभ्याउँदै तीन वर्षअघि स्वदेश फर्किइन् र संगीत क्षेत्रमा लागिन् ।

संगीतमा सफलताको उकालो चढ्न उनलाई समय लागेन, तर पारिवारिक जीवन भताभुंग थियो । श्रीमान र उनको परिवारबाट रिनालाई सुख मिलेन । अन्ततः श्रीमानसँग डिभोर्स गरेर बच्चाहरुको जिम्मेवारी आफूले लिइन् । सँगसँगै सांगीतिक जीवन अगाडि बढाइन् ।

छोटो अवधिमा रिनाले थुप्रै हिट गीतहरु दिएकी छन् । सालमा आएको ‘भंगेरी चरी’ बोलको गीतले उनलाई पहिलोपटक सफलताको स्वाद चखाएको थियो । यस गीतको यस गीतभित्रको टुक्का ‘चुरापोते सिन्दुरको जालमा, फसिहालम् दुईजना यही सालमा, कहाँ गयौ भँगेरी चरी तिम्लाई मैले बिर्सुम्ला कसरी’ टिकटकमा निकै चल्यो । उनले तेजस रेग्मीसित मिलेर गाएको भंगेरी चरी गीतले अहिलेसम्म १ करोड ४० लाख भ्यूज पाइसकेको छ ।

रिनाको अर्को भाइरल गीत हो, तीन वर्षअघि आएको ‘के छ ओइ पानपाते ठुली…’ । यो गीतले टिकटकमा तहल्का नै मच्चाएको थियो । युट्यूवमा हालसम्म ७६ लाख भ्यूज पाएको छ । यो गीतमा उनलाई रविन लामिछानेले साथ दिएका छन् ।
रिनाका अरु गीतले पनि राम्रै भ्यूज कमाएका छन् । तर, गीतले जति सफलता पायो, त्यति उनले पाइनन् । कोरोनाका कारण तीन वर्षजति स्टेज शोहरु नहुँदा पनि उनलाई ठूलो घाटा लाग्यो । अहिले सांगीतिक क्षेत्र पूर्णरुपमा सुचारु भए पनि उनको स्टेज शोमा उनको डिमान्ड बढ्न सकेन ।

नेपाली गायन क्षेत्रमा पनि एकप्रकारको सिन्डिकेट नै छ । यस क्षेत्रका केही प्रभावशाली व्यक्तिहरुसँग नजिक हुनेहरुले एकाध हिट गीतको भरमा प्रशस्त शोहरु पाउँछन् । देश–विदेश घुम्छन् । तर, जो आफ्नै बलबुतामा टिकिरहेका छन्, उनीहरुर्लाइ अवसरको कमि हुन्छ । रिनालाई पनि यस्तै भयो । उनले दर्जनौं हिट गीतहरु गाइसक्दा पनि विदेशयात्रा गर्ने अवसर पाएकी थिइन् । भारतबाहेक जापान यात्रा नै उनको पहिलो हुने छ । जापानमा रोजगारीमा जोडिनुअघि उनले केही सांस्कृतिक कार्यक्रममा गीत गाउनेछिन् ।

आफू छोराछोरीको भविष्यका लागि परदेशिएको बताउँछिन् रिना । उनले भनिन्, ‘जहाँ गए पनि बाबुनानीको उज्जवल भविष्यकै लागि हो । नत्र मत त जसरी पनि जीवन निर्वाह गरिहाल्थेँ ।’

उनले छोराछोरीलाई जापानमै लैजाने र आफूसँगै राख्ने योजना पनि बनाएकी छन् । साथै, जापानबाट केही पैसा कमाएर फर्किएर फेरि सांगीतिक क्षेत्रमा कम ब्याक गर्ने सपना पनि छँदैछ ।

‘मलाई संगीतको भोक मरेको छैन,’ उनी भन्छिन्, ‘दुई चार पैसा कमाएर फेरि फर्किन्छु र संगीतलाई निरन्तरता दिनेछु ।’

उनले सम्भवतः आफूले अर्को विवाह नगर्ने बताइन् । परिवारले विवाहका लागि दवाव दिएको भए पनि आफूले अर्को श्रीमानको मानसिकता बनाउन नसकेको उनको भनाइ छ ।

‘मैले अर्को विहे गरेँ भने छोराछोरी आमाको मायाबाट टाढा हुन्छन् । त्यसैले नयाँ जिन्दगी सुरु गर्न सकिनँ । सायद भविष्यमा पनि सक्दिनँ,’ उनले भनिन् ।

प्रतिक्रिया

2 thoughts on “छोराछोरी छोडेर रुँदै जापान लागिन् गायिका रिना केसी

  1. दुधे बालक छोडेर जाने मान्छेले किन गोहिको आंसु झार्नुपर्ने,उहाको गित राम्रो छ मन पर्छ तर यसरि बच्चाबच्चि छोडेर जानु राम्रो होईन पेट पाल्न लाई बिदेश नगई नहुने त हुदैन हो।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *