गगनविरुद्ध उठ्न लागेका सन्ताेष भन्छन्: प्रधानमन्त्रीको ललीपप देखाएर हुँदैन, म ३० हजार भोटले जित्छु – Nepal Press
नेपाल टक

गगनविरुद्ध उठ्न लागेका सन्ताेष भन्छन्: प्रधानमन्त्रीको ललीपप देखाएर हुँदैन, म ३० हजार भोटले जित्छु

काठमाडौं । २०७० सालमा सम्पन्न संसदीय चुनावमा कुकुर चुनाव चिन्ह लिएर केही युवाहरुले काठमाडौंमा उम्मेदवारी दिए । उनीहरुको चुनाव चिन्हको चर्चा त भयो । तर, खासै भोट पाएनन् ।

तत्कालीन विवेकशील पार्टीले सग्लो चुनाव चिन्ह प्राप्त गर्न नसकेपछि केही नेताहरुले कुकुर चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये एक हुन् सन्तोष प्रधान चाैधरी । उनले काठमाडौं ४ बाट लडेर ४ सय चानचुन भोट ल्याए । त्यसपछि उनले पार्टी नै परित्याग गरेर निष्क्रिय बसे ।

उनै सन्तोष करिब १० वर्षपछि फेरि चल्मलाएका छन् । उनले आसन्न संसदीय चुनावमा फेरि सोही क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेसका लोकप्रिय नेता तथा महामन्त्री गगन थापाको क्षेत्र हो यो । तर, गगनलाई हराएर सांसद निर्वाचित हुने महत्वाकांक्षा बोकेका छन् सन्तोषले ।

नेपाल प्रेससँगको कुराकानीमा सन्तोषले राष्ट्रियता र जनजीविकाका मुद्दाहरुलाई अघि सार्ने बताए । उनी संघीयता र धर्म निरपेक्षताका विरोधी हुन् । यिनै एजेन्डामा कुरा नमिलेपछि उनले विवेकशील त्यागेका थिए ।

प्रधानसँग नेपाल प्रेसले आसन्न चुनावको सन्दर्भमा गरेको कुराकानीः

– आसन्न संघीय चुनावमा काठमाडौं क्षेत्र नं ४ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेको एक स्वतन्त्र उम्मेदवारबाहेक तपाईंको परिचय के हो ?

राजनीतिलाई रोजीरोटी बनाएको ‘टिपिकल’ राजनीतिज्ञ म होइन । म आफूलाई त्यसरी चिनाउन चाहन्न । मेरो आफ्नो पेशा–व्यवसाय छ ।

म पहिला कमोडिटिज मार्केटमा थिएँ । आईटी सेक्टर भनौं न, इन्टरप्राइज एप्लिकेसन बनाउने हाम्रो एउटा कम्पनी थियो । सन् २०१५-१६ पछि हामीले त्यो बन्द गर्‍यौं । सन् २०१७ पश्चात नेपालको घर-जग्गा व्यवसायलाई एउटा सिस्टम्याटिक ढंगले अगाडि बढाउन भनेर हामीले ‘प्रपर्टी ३६०’ भन्ने कम्पनी दर्ता गर्‍यौं । म गर्वका साथ भन्नसक्छु आज त्यो कम्पनी रियल स्टेट ब्रोकरेज कम्पनीमध्ये नेपालकै टप तीनभित्र पर्छ । म घरजग्गा व्यवसायी भन्न हिच्किचाउँदिनँ ।

– एउटा घरजग्गा व्यवसायीले राजनीति रोज्नुको कारण के हो ?

म राजनीतिमा बाध्यताले आएको हुँ । नेताहरुको अकर्मण्यताका कारण अहिले आ-आफ्नो पेशामा जमेर बसेका मान्छेहरु राजनीतिमा ‘जम्प’ गर्नुपर्ने अवस्था आयो ।

धनगढीमा गोपाल हमाल दाइको कुरा सुन्नुहुन्छ, काठमाडौंमा बालेन, उता पूर्वमा हर्क साम्पाङ दाइको कुरा सुन्नुहुन्छ । परम्परागत राजनीतिको कुरा गर्ने हो भने त यी मान्छे अटाउँदैनन् । तर, उहाँहरु आउन जरुरी पर्‍यो, किन भन्दा देशलाई विकल्प चाहिएको छ ।

कांग्रेस, माओवादी, एमालेले विगतका ३० वर्षमा यो देशको स्थिति जर्जर बनाए । उनीहरुले स्वाधीन भने पनि लगभग देशलाई पराधीन बनाए । यो समयमा दिल्लीले के भन्छ, बेइजिङले के भन्छ भन्नेमै हाम्रो राजनीति रुमल्लियो । यो भयो राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरको राजनीतिको कुरा ।

स्थानीयस्तरमा कुरा गर्नुपर्दा मेरो घर कपन हो । त्यहाँ दुई घण्टा पानी पर्‍यो भने अहिले पनि बाइक बगाउँछ । अस्ति भर्खर कपनको मिलन चोकमा एउटा बच्चा मेन रोडको भड्खालोभित्र छिर्‍यो । बच्चाको शव ललितपुरमा भेटियो । त्यो बच्चाको आमाबुवा बनेर हेर्नु त, तपाईंलाई राजनीति गर्न मनलाग्छ कि लाग्दैन ? अब राजनीतिलाई फोहोरी खेल भनेर बस्ने होइन । फोहोरी खेल हो भने पनि त्यसमा जम्प गर्ने र सफा गर्ने । राजनीति अत्यन्तै पवित्र पेशा हो । पेशा पनि होइन सेवा हो ।

– गगन थापाको क्षेत्र रोज्नुको कारण चाहिँ चर्चामा आउनमात्र हो कि अरु पनि केही छ ?

आजभन्दा दश वर्ष अगाडिको चुनावमा कुकुर चुनाव चिन्ह लिएर क्षेत्र नम्बर ४ मा लड्दा त्यो ‘र्‍यान्डम च्वाइस’ थियो । तर, पछि त्यही क्षेत्रमा बस्न थालियो । त्यो क्षेत्रबाट जितेका सभासदको र तिनका पार्टीको अवस्था हेरियो । तब होइन, दश वर्ष अगाडि रोपेको बीउ रुख बन्नुपर्छ र त्यसले फल दिनुपर्छ भनेर लागेको हो । अहिले त म त्यहीको स्थानीय वासिन्दा हुँ । त्यसैले म कुनै अमूक उम्मेदवारको विरुद्ध उठेको भन्न नमिल्ला ।

– देशको एउटा प्रभावशाली नेता र ठूलो पार्टीको महामन्त्रीसमेत रहेका नेताको क्षेत्रबाट चुनाव लड्दा उहाँको मिडिया कभरेज पाइने लोभ त पक्कै होला नि ?

यो प्रश्न मलाई धेरै आउँछ । यो मिडिया एटेन्सन भन्ने कुरा अत्यन्तै क्षणिक हुन्छ भन्ने मैले २०७० सालकै चुनावमा थाहा पाएको हो । यो अत्यन्तै क्षणभङ्गुर हुन्छ । उदाहरणका लागि भूमिगत राजनीतिबाट भर्खर बाहिर आउँदा प्रचण्डको क्रेज कस्तो थियो ? नाकाबन्दीको बेलामा केपी ओलीको कस्तो थियो ? मिडिया क्रेज भनेको पैसा जस्तै हो । यो एकै ठाउँ बस्दैन । आज उहाँसँग मिडिया क्रेज छ । त्यो बिल्ड भएको हो ।

आजभन्दा १०-१५ वर्ष अगाडि त्यस्तो थिएन । त्रिचन्द्रमा ढुङ्गा हान्दै गरेको एउटा युवालाई कसरी बीबीसीले खिच्छ ? तपाईं-हामीले यो बुझ्न जरुरी छ । कस्ता पात्रलाई मिडियामा फोकस गराइँदैछ ?

– तपाईंको गुनासो अवस्थामा मात्रै हो कि व्यवस्थामा पनि हो ?

व्यवस्थाको विषयमा पनि हाम्रो चासो छ । हामीलाई संघीयता चाहिँदैन । यो घाँडो भयो । सरकार भनेको हाम्रो शरीर जस्तै हो । यदि यसले ठिक्क खान्छ, पातलो र जाँगरिलो छ भने काम गर्नसक्छ । मोटो भयो, भद्दा भयो भने त्यसले राम्रोसँग काम गर्न सक्दैन । संघीयता वा प्रदेश सरकार छ भनेको पनि त्यही हो ।

प्रदेश सरकार भनेको कांग्रेस, माओवादी र एमाले कार्यकर्ता भर्ती गर्ने केन्द्र भयो । १५ खर्ब रुपैयाँ लगानी भएको छ विगत ५-७ वर्षमा । त्यही कारणले हाम्रो आन्तरिक ऋण बढ्दै गएको छ । मैले भन्न खोजेको सरकार पातलो हुनुपर्छ ।

– हामीलाई राजा पनि चाहिन्छ, राष्ट्रपति पनि चाहिन्छ भन्नुभएको रहेछ, यो कस्तो शासन पद्धति हो ?

राजा र राष्ट्रपति एकैठाउँमा अट्न सक्छन् भन्ने कुरा हो यो चाहिं । मदन भण्डारीले पनि यो प्रणालीको वकालत गर्नु भएको छ ।

राजाको कुरा गर्नेबित्तिकै एकदमै निरङ्कुश राजाको कुरा गरेको छैन मैले । राजतन्त्र हैन राजसंस्थाको कुरा गरिराखेको छु ।

– तपाईंले चाहेको व्यवस्था चाहिँ ठ्याक्कै कस्तो हो त ?

मैले देखिरहेको राष्ट्र चाहिँ समाजवादी राष्ट्र हो । स्केलेटन समाजवादको हो । नर्वेमा रहँदै आएको जस्तै उन्नत समाजवाद । शिक्षा, स्वास्थ्य, आधारभूत आवासलगायतका कुरालाई राष्ट्रले नै परिपूर्ति गर्दिनुपर्छ भन्ने मेरो मान्यता हो । राज्य नै अभिभावक हो । बाँकी सबै फ्री मार्केट हुनुपर्छ । म त क्यासिनो पनि खुल्न दिन पर्छ भन्छु । त्यो हो हामीले देखेको समाजवाद । हो, त्यसलाई गाइड गर्ने चाहिं वैदिक सनातन धर्म । सनातन धर्म भनेको ॐकार ।

– तपाईं एकातिर सनातन धर्मको कुरा गर्नुहुन्छ, अर्कोतिर वैकल्पिक शक्तिको । यसअघि तपाईं विवेकशील पार्टीमा हुनुहुन्थ्यो, अहिले स्वन्तन्त्र बन्नुभएको छ । तपाईंको आफ्नै एउटा स्ट्याण्ड नदेखिएजस्तो लाग्छ । तपाईंलाई जनताले कसरी विश्वास गर्ने ?

मैले योभन्दा अगाडि नै चुनाव लड्दा भनेको थिएँ । यदि मैले चुनाव जितेँ भने म भ्रष्टाचार नगरी काम गर्छु । चुनाव हारेँ भने म मेरो आफ्नै पेशा-व्यवसायमा फर्किन्छु । त्यही भएर यस्तो ग्याप देखिएको हो ।

रह्यो कुरा विवेकशील छोड्नुको । विवेकशीलले धर्म निरपेक्षतालाई स्वीकार गरेकाले नै मैले छोडेको हो । संघीयता पनि स्वीकार गर्‍यो । म यो दुवै कुराको विरोधी हो । अब विचार नै नमिलेपछि पार्टीमा बस्नुहुन्न भनेर मैले स्थानीय चुनाव अगाडि साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको हुँ ।

– त्यसो भए तपाईंको लाइन त रवीन्द्र मिश्रसँग मिल्दोरहेछ । उहाँसँग किन अलग हुनुभएको ?

रवीन्द्र दाइ भर्खर त्यो लाइनमा आउनुभो । उहाँ अझै पनि हिन्दू धर्म नै भन्दै हुनुहुन्छ । वैदिक सनातन धर्म भन्न उहाँलाई अझै केही समय लाग्छ ।

– तपाईंका ‘टु दि पोइन्ट’ एजेण्डा के हो ? तपाईं के भनेर जनतामाझ जाँदै हुनुहुन्छ ?

यो लडाइँ स्वाधीनता र पराधीनताको लडाइँ हो । मैले यो लडाइँ भनेको यो राष्ट्र, यो माटो, यो स्वाभीमानको लडाइँ भनेर बुझ्या छु । एमसीसीमा लगेर जोड्न चाहेँ । अमेरिकाले व्याख्यात्मक टिप्पणीलाई सजिलै मान्देको भए म चुनाव लड्दैन्थे । यो लडाइँ स्वाधीनता भर्सेस पश्चिमाहरुको हो । यो गठबन्धनले जित्यो भने हेर्नुहोला एसपीपी फेरि अघि बढ्छ । मेरो उम्मेदवारी नेपालको स्वाधीनताको लागि हो ।

– तपाईंको परिवार त एमाले निकट रहेछ । तपाईंले पनि एमालेको समर्थन प्राप्त गर्ने सोच राखेर स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ?

मेरो बुवा वामपन्थी विचारधारा बोक्नुहुन्थ्यो । २०४६ अगाडि उहाँ भूमिगत राजनीतिमा हुनुहुन्थ्यो एमालेबाट । मदन भण्डारीको हत्या हुँदा म पनि राँके जुलुसमा हिँडेको थिएँ ।

म मूल्याङ्कन भन्ने पत्रिका पढेर हुर्केको । पारिवारिक राजनीतिक चेत एमाले नै हो । तर, पछिल्लो समय देशलाई निकास दिने काम कांग्रेस, एमाले र माओवादीबाट हुँदैन भन्ने निचोडमा पुगेँ म । हुन त म अखिलको सदस्य पनि भएको स्कुलमा हुँदाखेरी । मेरो त एमालेलाई पनि सुझाव छ, यो पालि तपाईंहरु पनि युवालाई टिकट दिनुहोस् ।

– भनेपछि तपाईंको पनि अलि अलि झुकाव त अझै पनि एमालेमा रहेछ ?

कतिपय कुरामा चित्त बुझ्या छैन । जस्तै एमसीसीको विषयमा एमाले केही बोलेन । त्यो भनेको मौन समर्थन हो । भीम रावल चाहिं एमालेको जिउँदो नेता रहेछन्, म मान्छु त्यो कुरा ।

– कथंकदाचित चुनाव जित्नुभयो भने तपाईं एक्लैले के काम गर्नसक्नु होला त ?

सक्छु । दिल्लीमा हेर्नु न अरविन्द केजरिवाल । अरविन्द दलको विकल्प नै भनेर आएका व्यक्ति हुन् ।

– तर, तपाईं भएको दल पनि त्यागेर आउनुभएको छ । तपाईं र उहाँको कन्टेक्स्ट मिल्छ र ?

म एक्लै आएको होइन । मजस्ता हजारौं युवालाई प्रतिनिधित्व गर्दै आएको हुँ । म २७ देखि ३० हजार भोट ल्याएर जित्छु । हिजोका जस्ता छैनन् जनता । ‘म मन्त्री बन्छु’, ‘प्रधानमन्त्री बन्छु’ भन्ने ललीपप खुवाएर चुनाव जितिन्न ।

– तपाईंहरु जस्ता वैकल्पिक शक्तिको वकालत गर्दै आउनुभएका व्यक्तिहरु नै अहिले आएर व्यवस्था परिवर्तनको कुरा गर्दै हुनुहुन्छ भने भौतिक विकास पूर्वाधारका कुरा चाहिँ कसले गर्ने ? व्यवस्था भएन भनेरमात्र अबको युवालाई आकर्षित गर्न सकिएला त ?

हामीले फल बिग्रियो भनेर फललाई गाली गर्ने कि बीउलाई गाली गर्ने ? पराधीनताको कारणले गर्दा अहिलेको सिस्टममाथि बहस गर्नुपरेको हो । २०६२-०६३ को जुन ‘सो कल्ड’ जनआन्दोलन भयो, त्यसको अन्त्य १२ बुँदे दिल्ली सम्झौतामा गएर भयो । जब यो गणतन्त्रको बीउ नै दिल्लीबाट सुरु भएको छ भने भारतीयहरुले नेपाल धनी भएको देख्न सक्छन् ? हामीले बीउ परिवर्तन गर्न खोजेको हो । अपवित्र दिल्ली सम्झौतालाई खारेज गरेर त्यहाँको प्रस्थान विन्दु सुरु हुन्छ ।

– चुनाव अत्यन्तै खर्चिलो हुन्छ भन्छन् नि ? चुनावको खर्च कसरी जोहो गर्नुभएको छ ?

खर्च हुन्छ । तर, निर्वाचन आयोगको एउटा थ्रेसहोल्ड छ नि त्योभन्दा बढी खर्च हुँदैन । त्यतिबेला दश लाख जति थियो । अहिले २०-२५ लाख कति बनाए होलान् । त्योभन्दा बढी खर्च हुँदैन । हामीले यसका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँको अभियान सुरु गरेका छौं । विद्यार्थीको हकमा रु १०० मात्र राखेका छौं ।

– तपाईं भोट पनि नोट पनि दुवै माग्दै हो ?

हो । यहाँनेर मैले के भन्न चाहेँ भने हामीले भोटलाई मतदान भन्छौं । तर, यो दान हैन । दान भन्ने कुरा दिएपछि बिर्सिन्छ । हामी यसलाई दानको रुपमा लिँदैनौं । यसलाई फिर्ता गर्छौं । यो पटक मत दिउँ र विकास, सुशासन ब्याजसहित फिर्ता मागौं । आजसम्म हामीले फिर्ता माग्या छैन । मत दियो बिर्सियो । पार्टीले जे गर्‍यो गर्‍यो । के हामी यस्तो परिपाटीबाट खुशी छौं ? छैनौं भने तपाईं हामीहरुको भोटले नै परिवर्तन लिएर आउने हो । क्षेत्र नं ४ का मतदाताहरुले नै त्यो परिवर्तन लिएर आउने हो । हामीले युद्ध लड्न पर्दैन । हामीले युद्ध लड्ने भनेको ब्यालेट बक्समा हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर