जब प्रकाश सुवेदीले अन्तर्वार्तामा बोलाएर सौगातको सामान्य ज्ञान परीक्षा लिए – Nepal Press

जब प्रकाश सुवेदीले अन्तर्वार्तामा बोलाएर सौगातको सामान्य ज्ञान परीक्षा लिए

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकै प्रतिभावान कलाकारको सूचीमा पर्छन् सौगात मल्ल । अब्बल अभिनय क्षमताका उनले जस्तोसुकै भूमिकामा पनि आफूलाई प्रमाणित गरिसकेका छन् ।

सौगात अरु कलाकारभन्दा धेरै अर्थमा फरक पनि छन् । उनी अन्तर्वार्तामा निकै कम देखिन्छन् । विनम्र स्वभावका उनी हालसम्म कुनै गम्भीर विवादमा मुछिएका छैनन् । र, आफ्नो कामभन्दा अरु विषयमा फिटिक्कै रुचि राख्दैनन् । चलचित्रभन्दा बाहिरका अति सामान्य विषयवस्तुसँग पनि उनी अनभिज्ञ छन् । हालै एउटा अन्तर्वार्तामा सञ्चारकर्मी प्रकाश सुवेदीले सौगातको यो कमजोरीलाई नराम्ररी ‘एक्सपोज’ गरिदिए ।

कलाकारहरुलाई अन्तर्वार्तामा बोलाएर विभिन्न तरिकाबाट उनीहरुलाई विवादमा पारिदिने सञ्चारकर्मी हुन् प्रकाश । उनी आफ्ना कार्यक्रममा कलाकारहरुलाई स्कुले विद्यार्थीलाई जसरी ‘सामान्य ज्ञान’ सोध्ने गर्छन् । अनि दुई व्यक्तिका अप्सन दिएर एउटा रोज्न बाध्य पार्छन् । उनको कार्यक्रममा अन्तर्वार्ता दिएर थुप्रै कलाकार आलोचना र ट्रोलको शिकार बनिसकेका छन् । सौगात पनि अन्ततः यही लाममा थपिए ।

राजनीति र अन्य समसामयिक विषयमा जानकारी नै नराख्ने सौगातका लागि अन्तर्वार्ता दिन सायद यो गलत प्लेटफर्म थियो । यद्यपि, आफ्नो चलचित्रको प्रमोसनका खातिर उनी जान बाध्य भएका थिए । जब सुवेदीले विभिन्न सार्वजनिक व्यक्तिका तस्वीरहरु चिनाउने सेग्मेन्ट सुरु गरे, सौगातले राजनीतिक व्यक्तिहरु कोही पनि चिन्न सकेनन् ।

त्यसो त उनले सुरुमै आफ्नो कमजोरीबारे बताएर क्षमा मागिसकेका थिए । त्यसैले सुवेदीले एउटा सम्मानित कलाकारको कमजोरी खोतल्नतिर नलागेको भए पनि हुन्थ्यो । तर, उनलाई कार्यक्रम भाइरल बनाउनु न थियो । त्यसैले एकपछि अर्को व्यक्तिका तस्वीर देखाएर सौगातलाई लज्जित बनाइरहे ।

सौगातले हालका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वअर्थमन्त्री डा. रामशरण महत, पूर्वसेनापति रुक्मांगद कटवाल, मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेलगायतलाई चिन्न सकेनन् । यतिसम्म कि उनलाई देशका राष्ट्रपति र प्रधानमन्त्रीको नाम पनि थाहा थिएन । देशको राष्ट्रपति को हो भनेर सोध्दा उनले प्रचण्डको नाम लिए । बालेन साहको नाम भने पनि उनले कहाँको मेयर भन्न सकेनन् ।

‘हाम्रो सानेपातिरको हो कि ?’ उनले भने । धरानका मेयर हर्क साम्पाङलाई उनले चिन्नै सकेनन् ।

धेरैलाई लाग्छ, कलाकार भएपछि यति सामान्य ज्ञान त राख्नैपर्ने हो । त्यसमाथि राष्ट्रपति र प्रधानमन्त्रीको नाम त बच्चालाई पनि थाहा हुन्छ । तर, आ–आफ्नो क्षेत्रमा नाम कमाएका धेरै व्यक्तिहरु संसारमा भेटिन्छन्, जसको स्मरण शक्ति र सामान्य ज्ञान अत्यन्तै दयनीय हुन्छ ।

सौगात पुस्तक पढ्नमा रुचि राख्छन् । सोही अन्तर्वार्तामा भनेअनुसार उनी कपडाभन्दा पुस्तक बढी किन्छन् । आफ्नो धेरै खर्च पुस्तकमै हुने गरेको उनको भनाइ छ । अध्ययनशील भएर पनि सामान्य विषयवस्तुको ज्ञान नराख्नुले चाहिँ धेरैलाई आश्चर्यमा पारेको छ ।

यद्यपि, सौगातको आफ्नै कथा रहेछ । सौगातले अन्तर्वार्तामा बताएअनुसार उनका बुवा र हजुरबुवा राजनीतिमा थिए । उनी सानै छँदा घरमा राजनीतिक चहलपहल अत्यधिक हुन्थ्यो । घरको यो माहोलले सानैबाट आफूलाई राजनीतिप्रति वितृष्णा उत्पन्न भएको र एकप्रकारको ‘ट्रमा’ जस्तो हुन पुगेको सौगातले बताएका छन् ।

‘मैले नाम त सबैको सुनिरहेको हुन्छु । तर, दिमागमा रहँदैन’, उनले भने, ‘थाहा हुनुपर्ने हो । तर, मलाई हुँदैन । त्यही भएर पनि म कुनै प्रोग्राममा हतपती जान्न ।’

उनले थपे, ‘यहाँ आउनुभन्दा अगाडि पनि मैले यस्ता कुराहरु आउन सक्लान् भनेर राष्ट्रपतिको नाम याद गरेको थिएँ । तर अहिले बिर्सिएँ ।’

कार्यक्रमको अन्त्यमा सुवेदीले सौगातलाई सोधे, ‘तपाईं धेरै सोझो हो कि आज सोझो देखिनुभएको ?’

सौगातले विनम्र जवाफ दिँदै भने, ‘खासमा मलाई धेरै कुराहरु नआएर हो । जो मान्छेलाई केही थाहा छैन, केका लागि घमण्ड गर्नु ?’

यसअघि प्रकाश सुवेदीलाई अन्तर्वार्ता दिएर नायिका पूजा शर्मा व्यापक ट्रोलको शिकार भएकी थिइन् । उनले देशका अञ्चल र जिल्लाको संख्या सही बताउन सकेकी थिइनन् । पूजापछि ‘चिप्ल्याउने अंकल’ ले अर्को गतिलो ‘मुर्गा’ भेटेका छन् ।

भाइरल पत्रकारजी, कहिलेसम्म अन्तर्वार्तामा असम्बन्धित प्रश्नहरु सोधेर कलाकारहरुको सार्वजनिक बेइज्जती गरिरहने ? के उनीहरुको पेशा–व्यवसायसँग सम्बन्धित प्रश्नहरुमात्रै सोध्दा तपाईंको उद्देश्य पूरा हुँदैन ?

प्रतिक्रिया

2 thoughts on “जब प्रकाश सुवेदीले अन्तर्वार्तामा बोलाएर सौगातको सामान्य ज्ञान परीक्षा लिए

  1. पत्रकारजी हाम्रो देशकाे नाम के हाे भनी साेध्नाेस तपाईंको महान हिराेलाई ।
    जसले समाजकाे बारेमा केहि जान्दैन त्यस्ता (महान ?) कलाकारले समाजकाे अन्तरसम्बन्धका बारेमा कसरी उजागर गर्छन् कलाकारिता मार्फत ?

  2. देशकाे बिषयमा सामन्य पनि ज्ञान नभएकाे केटाेलाई नेपाली कलाकार भन्न सुहाउँदो भएन । जस्तोसुकै भएपनि म , मेराे अभिनय र चलचित्र लाई दर्शकले रुचाईएकाे छ भन्ने अहंकारले भरिएको व्यक्ति जस्ताे देखियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *