राजेश पायल राई र दयाहाङ राईलेद्वारा करण राईको ‘द काइट्स’ एल्बम विमोचन – Nepal Press

राजेश पायल राई र दयाहाङ राईलेद्वारा करण राईको ‘द काइट्स’ एल्बम विमोचन

काठमाडौं । नव गायक करण राईको पहिलो गीति एल्बम ‘द काइट्स’को विमोचन भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि वरिष्ठ गायक गणेश रसिक, विशेष अतिथिहरू लोकप्रिय गायक राजेश पायल राई, लोकप्रिय अभिनेता दयाहाङ राई, रैथाने संगीतज्ञ झुमा लिम्बु र कवि, गीतकार,निर्देशक तथा कार्यक्रमका सभापति प्रकाश आङ्देम्बेले गायक करणको एल्बम ‘द काइट्स’ एकसाथ विमोचन गरेका हुन् ।

एल्बम विमोचनपछि करणले २ गीतहरू ‘रानी हो’ र ‘चङ्गा’ लाइभ ब्याण्डसहित गाएका थिए । आफ्नो पहिलो एल्बमको बारेमा बोल्दै करणले भने ‘सानै उमेरदेखि गाउँथे, आज आएर पहिलो एल्बम उहाँहरूको हातबाट विमोचन गर्न पाउँदा चङ्गाजस्तै आकाशमा उडिरहेको महसुस गरिरहेको छु ।’

बाल्यकालदेखि नै गीत संगीतमा चासो राख्ने कारण उनले अमेरिकाबाट नेपाल फर्किएर यो एल्बम बजारमा ल्याएका हुन् । त्यस्तै ‘द काइट्स’ एल्बमको बारेमा बोल्दै कार्यक्रमका विशेष अतिथि राजेश पायल राईले करणलाई संगीतको श्रद्धा गर्ने व्यक्तिको रूपमा चिनेको बताए ।

राजेश पायलले भने ‘चङ्गा जसरी उड्यो भने त्यो सम्पूर्णं दुख, पिडा, रिस, राग, झिजोहरू उडिरहेको छ, हामीहरू संसारमा प्रफुल्ल मनले पनि उड्न सक्छौ भन्ने पनि अर्थ लाग्छ । त्यही कारण उनको मन, उनको संगीत, चङ्गा जसरी चैट नभईकन संसारभरलाई उडाएर, नेपाली माटोको संगीत र नेपाली मौलिक स्वर नै गुन्जाउनेछ । सायारेम शुभकामना ।’ भुटनीज शरणार्थी क्याम्पमा जन्मिएका करणको बाल्यकाल सम्झिँदै राजेश पायलले भने ‘जन्म कहाँ हो भन्ने कुराले फरक पार्छ जस्तो लाग्दैन, जन्मिसकेपछि उसको कर्मले र उसको क्षमता प्रदर्शनले ठुलो महत्त्व राख्छ ।’

करणलाई बधाई दिँदै कार्यक्रमका विशेष अतिथि स्वरूप पुगेका दयाहाङ राईले पनि ‘द काइट्स’को प्रशंसा गर्दै गीत गज्जब भएको बताए। सार्वजनिक भएको ‘द काइट्स’ एल्बममा ९ गीतहरू समावेश गरिएको छ । सबै गीतमा करणको स्वर रहेको छ, भने ‘फुलै राम्रो’ डोएट गीतमा भने करणलाई गायिका मेलिना राईले साथ दिएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *