१६ अर्ब पुग्यो विद्युत प्राधिकरणको नाफा, खुद आयात घट्दा निर्यात बढ्दै – Nepal Press

१६ अर्ब पुग्यो विद्युत प्राधिकरणको नाफा, खुद आयात घट्दा निर्यात बढ्दै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८मा ६ अर्ब १० करोड खुद नाफा रहेकोमा आव २०७८/७९ मा १६ अर्ब ९ करोड रूपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । प्राधिकरणको आव २०७८/७९को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वार्षिक आम्दानी एक खर्ब रूपैयाँ नाघेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । योसँगै सार्वजनिक संस्थाहरूमध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ ।

‘ऊर्जा खपत २७ प्रतिशत वृद्धि हुँदा बिक्री आम्दानी बढ्यो, विद्युत निर्यात वृद्धि भयो, प्राधिकरणका स्वामित्वका विद्युतगृहबाट विद्युत उत्पादन करिब १६ प्रतिशतले वृद्धि गर्न सफल भयौं, विद्युत चुहावट घट्यो, प्रभावकारी रुपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा प्राधिकरणको खुद नाफा बढेको हो’, घिसिङले भने ।

आव २०७२/७३ मा ८ अर्ब ८९ करोड रूपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा निरन्तर नाफामा छ ।

विद्युत चुहावट १५.३८ प्रतिशतमा झर्‍यो

प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रण गर्न संचालन गरिएका अभियानबाट विद्युत् चुहावट १५.३८ प्रतिशतमा झारिएको प्राधिकरणले जनाएको छ । २०७२/७३ मा २५.७८ प्रतिशत चुहावट थियो ।अघिल्लो वर्षको तुलनामा एक दशमलव ८० प्रतिशत विन्दुले घटाएर १५.३८ प्रतिशतमा झारिएको छ ।

‘चुहावट नियन्त्रणबाट मात्र प्राधिरकणलाई अघिल्लो वर्षको तुलनामा करिब २ अर्ब रुपैयाँ थप आम्दानी भएको छ, चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा अझै थप प्रभावकारी र व्यवस्थित रुपमा चलाउँछौं’, कुलमानले भने ।

विद्युत निर्यात बढ्यो, खुद आयात घट्यो

आव २०७८/७९ मा भारततर्फ विद्युत निर्यात बढेको छ भने आयात घटेको छ । अहिले नेपालमा खपत गरी अतिरिक्त भएको विद्युत दैनिक रुपमा करिब ३६४ मेगावाटदेखि करिब ४०० मेगावाटसम्म भारततर्फ निर्यात भइरहेको छ ।

आव २०७७/७८मा ४ करोड ४० लाख युनिट विद्युत निर्यात भएकोमा आव २०७८/७९मा ४९ करोड ३० लाख युनिट निर्यात भएको छ । विद्युत निर्यातबाट प्राधिकरणले ३ अर्ब ८८ करोड रूपैयाँ आम्दानी गरेको छ ।

अघिल्लो वर्षको तुलनामा आव २०७८/७९ मा आन्तरिक विद्युत खपत २१.२८ प्रतिशतले वृद्धि हुँदा आयात घटाउन सफल भएको प्राधिकरणले जनाएको छ ।

आन्तरिक माग धान्न २०७७/७८मा २ अर्ब ८० करोड ६० लाख युनिट विद्युत आयात गरिएकोमा आव २०७८/७९मा ४५.०५ प्रतिशत घटेर १ अर्ब ५४ करोड ३० लाख युनिटमा झरेको छ ।

आव २०७७/७८मा २१ अर्ब ८२ करोड रुपैयाँको विद्युत आयात भएको थियो । आव २०७८/७९मा आयात घटेर १५ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ ।

आव २०७८/७९मा विद्युत पिक डिमाण्ड १ हजार ७४७ मेगावाट पुगेको छ । विद्युत प्रयोग गर्ने ग्राहकको संख्या सामुदायिकसहित ५३ लाख पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *