११ वटा सहकारी ‘समस्याग्रस्त’ सूचीमा, गौतमश्री पनि थपिँदै – Nepal Press

११ वटा सहकारी ‘समस्याग्रस्त’ सूचीमा, गौतमश्री पनि थपिँदै

सर्वसाधारणको ८ अर्ब ४० करोड रुपैयाँ जोखिममा

काठमाडौं । सहकारीले सर्वसाधारणको निक्षेप गुट्मुट्याएर भाग्ने सिलसिला दिनानुदिन बढ्दो छ । सर्वसाधारणले दुःख गरेर कमाएको पैसाबाट केही अंश बचत गरी सहकारीमा जम्मा गर्छन् । तर, भविष्यका लागि भनेर गरेको बचत सञ्चालकले खाइदिएपछि उनीहरुको बिलिबाठ हुन्छ ।
निक्षेप हिनामिना गरेका सहकारीका केही सञ्चालकहरु अहिले जेलमा छन् । केही सहकारीलाई भने ‘समस्याग्रस्त’ मा सूचीकृत गरेर सञ्चालकहरुलाई जेल जानबाट जोगाउने खेल भइरहेको छ ।

सर्वसाधारणको अर्बौं रुपैयाँ निक्षेप फिर्ता नदिएर पीडित बनाएको गौतमश्री सहकारीको हकमा अहिले यही खेल जारी छ । उक्त सहकारीका सञ्चालक रामबहादुर गौतमलाई बचाउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै लागिपरेका छन् । ठूला औद्योगिक घरानाहरु पनि गौतमश्रीलाई समस्याग्रस्तमा सूचीकृत गराएर आफ्नो फँसेको पैसा उठाउने दाउमा लागेका छन् ।

सहकारीका सञ्चालकहरु बचतकर्ताको पैसा फिर्ता नगरी कार्यालय बन्द गरेर ‘फरार’ भएपछि पीडितहरुले सहकारी विभाग गुहारेका थिए । एक हजारभन्दा बढीले विभागमा लिखित उजुरी दिएका छन् । सहकारीका प्रमुख रामबहादुर गौतम बल्ल सम्पर्कमा आएका छन् । उनले बिस्तारै समस्या व्यवस्थापन हुने बताएका छन् ।

सहकारी विभागले गौतमश्री सहकारीलाई समस्याग्रस्त सहकारीमा राख्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरिसकेको छ । अब बाँकी निर्णय सहकारी मन्त्रालयले गर्नेछ । मन्त्रालय माओवादी मातहत नै छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य सचिव केशवप्रसाद पौडेलले समस्याग्रस्तको सूचीमा राखेपछि सहकारीको सम्पत्ति व्यवस्थापन र निक्षेपकर्ताको दायित्व भुक्तानी नै पहिलो काम हुने बताए । गौतमश्री सहकारीको फाइल अहिले सहरी विकास मन्त्रालयमा पुगेको र सो मन्त्रालयले समस्याग्रस्त भएको घोषणा गरेपछि समितिमा आउने उनले जानकारी दिए ।

पौडेलका अनुसार यसभन्दा अघि १२ वटा सहकारी समस्याग्रस्तमा आएका छन् । त्यसमध्ये ओरियन्टल सहकारीले भने अदालतबाट मुद्दा जितेको छ ।

‘हामीले अहिले ११ वटा सहकारीलाई समस्याग्रस्त सहकारीको सूचीमा राखेर काम गरिरहेका छौं,’ उनले भने ।

कुनै पनि सहकारी समस्याग्रस्तमा सूचीकृत भएपछि त्यसको सम्पत्ति खोज्ने, खाता रोक्का गर्ने, सञ्चालकहरुको सम्पत्ति खोजेर रोक्ने काम हुन्छ । त्यसपछि सम्पत्ति लिलाम गरेर निक्षेपकर्ताको विवरण तयार पारेर भुक्तानी गरिन्छ ।

सहकारीमार्फत ठगी बढ्दै गएपछि सरकारले २०७० सालमा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाहरुको छानबिन गरेको थियो । सो समितिको संयोजकमा पूर्वन्यायाधीश गौरीबहादुर कार्की थिए । समितिले १३० सहकारीको ११ अर्ब जोखिममा रहेको बताएको थियो । तर, कार्की आयोगले औंल्याएका सबै सहकारी समस्याग्रस्त घोषित भएनन् ।

हालसम्म सरकारले १२ सहकारीलाई मात्र समस्याग्रस्त घोषणा गरेको सहकारी विभागले जनाएको छ । ओरियन्टल को-अपरेटिभबाहेक ११ सहकारीमा ८ अर्ब ४० करोड रुपैयाँभन्दा बढी रकम बचत छ । सुधीर बस्नेतको ओरेन्टल को-अपरेटिभमा मात्रै ६ अर्ब ८६ करोड रुपैयाँ बचत थियो । अदालतबाट मुद्दा जितेपछि यसलाई सहकारी विभागले नै हेरिरहेको छ ।

पौडेलका अनुसार ११ वटा सहकारीको दायित्व १ अर्ब १९ कराेड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ९ करोड दाबी भुक्तानी भएको थियो । सरकारले घोषणा नै ढिला गर्दा सहकारीहरुले कागजपत्र, सम्पत्ति लुकाउने गरेको उनले बताए ।

प्रतिक्रिया

3 thoughts on “११ वटा सहकारी ‘समस्याग्रस्त’ सूचीमा, गौतमश्री पनि थपिँदै

  1. समश्याग्रश्त ११वटा सहकारीको सूचि खै?

  2. “सहकारीहरु सर्वसाधारणको पैसा गुट्मुट्याएर भाग्ने गर्छन्” जस्तो कडा शब्द राखेर समाचार बनाउने पत्रकारको नियत खराब छ । हो, सहकारीको लगानीको तरिका र क्षेत्र गलत भएर केही समस्या आएको छ तर गलत उद्देश्य राखेर समाचार बनाउन हुन्छ कि हुँदैन ? यो त सर्बसाधारणलाई तर्साउने नियत राखेको देखियो। मान्छेलाई सचेत बनाउनु पर्यो ! आफ्नो एरिया र क्षेत्र बाहिर गएर सहकारीको नाममा किन पैसाको ब्यापार चलिरहेको छ ।कालिमाटीमा कार्यालय भएको सहकारीले बौद्ध जोरपाटी तिर किन खाता खोल्ने, पाटन लगनखेल तिर कार्यालय भएकोले बुढानिलकण्ठ सम्म आएर किन कारोबार गर्ने ? यस्तो बिषयमा नियामक निकायले र कारोबार गर्नेहरूले ध्यान दिनु जरुरी छ । सचेत बनौ ।

  3. जनता ले सहकारीको बिश्वास गर्दा अाज लाखौं नेपाली नागरिक काे पेटमा लात हान्ने काम भएको छ।फकाइ फकाइ पैसा जम्मा गर्न लाउने र अन्तमा धाेक्रा भरिए पछि लिएर भाग्ने गम्भीर अपराध गरिएको छ।करोडौं रुपैयाँको कुनै हिसाबकिताब छैन ।जनता काे सम्पत्ति फिर्ता गराउनुपर्ने मा कतिपय पार्टी काे नेताहरू नै सहकारी बाट कमिसन खाएर जनता माथि दमन गरिरहेका छन ।वास्तव मा अब जनता काे एकता गरेर यी अपराधी हरु लाई नाङ्गो हतियार बाेकेर एक एक गरि खाेज्ने र षडकमा निकालेर छाला ताछ्ने काम अगाडि बढाउनु अनिवार्य भैसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *