पहिलो हुने प्रतिस्पर्धामा तयार हुँदै बुटवलका दुई शीरमा केबलकार – Nepal Press

पहिलो हुने प्रतिस्पर्धामा तयार हुँदै बुटवलका दुई शीरमा केबलकार

रुपन्देही । बुटवलको दुई उत्तरी डाँडामा एकएवा केबलकारको काम वर्षायाममा पनि धमाधम चलिरहेको छ । केबलकार निर्माणले पर्यटन व्यवसायीहरुलाई उत्साहित बनाएको छ ।

बुटवल- ३ गोलपार्कदेखि माथि बमघाटको सिरानमा पाल्पाको तिनाउ गाउँपालिका- ३ बसन्तपुर डाँडा जोड्ने लुम्बिनी केबलकारको स्टेशन बनिरहेको छ । त्यसैगरी बुटवल- १ पुरानो बटौलीदेखि माथि पाल्पा तिनाउकै वडा नं २ नुवाकोट डाँडा जोड्ने सिद्धार्थ केबलकारको आधार स्टेशन बनिरहेको छ ।

२०७७ साल फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बसन्तपुर जाने लुम्बिनी केबलकारको शिलान्यास गरेका थिए । त्यसको ९ दिनपछि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नुवाकोट जाने सिद्धार्थ केबलकारको शिलान्यास गरेका थिए ।

यस क्षेत्रको पर्यटन विकासका लागि महत्वपूर्ण मानिएका यी दुइटै आयोजनाको काम द्रुत गतिमा भैरहेको छ । बसन्तपुर डाँडोमा लैजाने लुम्बिनी केबलकार यही माघमा पूरा गर्नेगरी काम भइरहेको छ । आउने चैत मसान्तसम्म पूरा गर्ने गरी नुवाकोट जाने सिद्धार्थ केबलकारको काम भइरहेको छ ।

केवलकारको आधार स्टेशन बुटवल र हिल स्टेशन रहेका दुवै डाँडामा तीब्र गतिमा निर्माण भैरहेको छ । बुटवलबाट करिब ९ किलोमिटरको सडक दुरीमा रहेका यी दुई डाँडामा ६ देखि ८ डिग्री तापक्रम कम हुन्छ । अग्ला पहाडबाट भारतको गोरखपुरसम्म देख्न सकिने गरी टावरसमेत निर्माण गरिएकाले पर्यटकीय केन्द्र बन्नसक्ने अपेक्षा लगानीकर्ताको छ ।

यहाँका पर्यटन व्यवसायीहरु यी दुइटै केवलकार सञ्चालन भएपछि आन्तरिक र बाह्य पर्यटकहरुको चहलपहल बाक्लिने आशमा लगानी बढाइरहेका छन् । बाह्य पर्यटकहरुमा सबैभन्दा धेरै भारतीयहरुको उपस्थिति हुने र उनीहरुको बसाइ लम्बाउन थप रुटको विस्तार गर्न पर्यटन व्यवसायीहरुले आग्रह गरेका छन् ।

कुन केबलकार छिटो सञ्चालनमा आउला ?

लुम्बिनी केबलकार र सिद्धार्थ केबलकार ९ दिनको अन्तरालमा शिलान्यास भएका हुन् । त्यसकारणले पनि यी दुईमध्ये कुन छिटो सञ्चालन हुन्छ भन्ने चासो बढेको छ । व्यवसायिक रुपमा यसअघिको अनुभव रहेकाले लुम्बिनी केबलकार छिटो सञ्चालनमा आउने अनुमान गरिए पनि माथिल्लो स्टेशनको आन्तरिक निर्माणमा सिद्धार्थ केबलकार अगाडि छ ।

बुटवलबाट नुवाकोट र बसन्तपुर डाँडामा केबलकार सञ्चालन गर्न व्यवसायीहरुले लामो समयदेखि गृहकार्य गर्दै आएका थिए । २०६२ सालदेखि लाइसेन्स लिए पनि आयोजनाले काम अगाडि बढाउन सकेन । रुख काट्ने अनुमति पाएपछि मात्रै काम अघि बढेको थियो ।

निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा ल्याउने तयारी छ । हालै सम्पन्न कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आगामी पौषभित्र सम्पन्न हुने र माघ १ गतेदेखि सञ्चालनमा आउने बताएका थिए ।

करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचना निर्माण हुनेछ ।

‘केवलकारको तल्लो स्टेशनसम्म पुग्ने करिब ४०० मिटर पहँुचमार्गको निर्माण सम्पन्न भएको छ । तल्लो स्टेशनको सब–स्टक्चरको निर्माण करिब सम्पन्न भई सुपर स्टक्चर र साइट डेभलपमेन्टको काम अगाडि बढिरहेको छ’, उनले भने, ‘नौ वटा टावरमध्ये ८ वटा टावरको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ । बाँकी रहेको टावरको कार्य अगाडि बढिरहेको छ ।’

उनले माथिल्लो स्टेशनमा सब-स्टक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जाहरुको आयात गर्ने काम अगाडि बढेको बताए । ढकालले माथिल्लो स्टेशनमा प्रस्तावित होटललाई अन्तर्राष्ट्रिय चेन होटलसँग आबद्ध गराउन अन्तर्राष्ट्रिय परामर्शदाताहरुसँग छलफल भइरहेको जानकारी दिए ।

केबलकारमा काठमाडौंको चन्द्रागिरी केबलबार सञ्चालन गरेको ग्लोबल आईएमई गु्रप र शर्मा एण्ड कम्पनीको ७५ प्रतिशत तथा बुटवलका स्थानीयको २५ प्रतिशत लगानी रहेको छ । करिब ३ अर्ब लगानीमा तयार हुने भनिए पनि पछिल्लो साधारणसभाले सबै क्षेत्रमा लगानी बढ्दा ४ अर्ब ७१ करोड पुग्ने प्रक्षेपण गरेको सञ्चालक तेजप्रसाद सुनारले बताए । केबलकारमा १७ वटा डब्बा हुनेछन् । एक डिब्बामा ८ जना चढ्न सकिन्छ ।

केबलकारको अन्तिम स्टेशन रहेको पाल्पाको बसन्तपुर डाँडामा केबलकार प्रालिको ११० रोपनी जग्गामा फाइभ स्टार होटल बन्नेछ । जहाँ सेमिनार हलदेखि १५० वटा रूम रहनेछन् । त्यहाँ पुग्ने पर्यटकलाई दर्शन गर्न कामाक्षदेवी मन्दिर र सिद्धबाबा मन्दिर बन्दैछन् । सिद्धबाबा मन्दिर पहिला वसन्तपुरमा रहेको र त्यहाँ भक्तजनहरू कम गएपछि तल सिद्धार्थ राजमार्गको बुटवल र पाल्पाको सङ्गमस्थल सारिएको छ ।

केबलकार सञ्चालन गर्न प्रालिलाई बसन्तपुरस्थित ६.५ हेक्टर वन क्षेत्र उपयोग गर्न स्वीकृति दिइएको छ । प्रालिले बुटवल उपमहानगरपालिका- ३ को चुरे सामुदायिक वनसमेतको ३.१६ हेक्टर र पाल्पाको तिनाउ गाउँपालिका- ३ को चिउरीडाँडा न्याउली सामुदायिक वनसमेतको ३.११ हेक्टर वन क्षेत्र २५ वर्षसम्म प्रयोग गर्न पाउने सम्झौता भएको छ ।

केबलकारको मुख्य उद्देश्य लुम्बिनी आएका पर्यटकलाई बुटवल ल्याउँदै पर्यटन विकासमा टेवा पुर्‍याउने रहेको आयोजना सञ्चालकहरु बताउँछन् । यी आयोजनास्थल बुटवल लुम्बिनी प्रदेश र नारायणी पश्चिम क्षेत्रकै ठूलो पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी मणिमुकुन्द सेन उद्यान (फूलबारी) देखि पाल्पाको नुवाकोटसम्म पुग्ने केबलकार सञ्चालनको लागि सिद्धार्थ केबलकार प्रालिले २०७७ फागुन ९ गतेदेखि काम थालेको हो । संस्थाका प्रबन्ध निर्देशक पीएल श्रेष्ठले २०७९ को चैत मसान्तसम्म काम सकेर २०८० बैशाख १ गते सञ्चालन गर्ने गरी काम भइरहेको बताए ।

कोरोना महामारी, वन क्षेत्रमा रुख काट्ने सरकारी झन्झट र केही लगानीकर्ताको रकम समयमै आउन नसकेका कारण केही ढिलाइ भए पनि काम नरोकिएको श्रेष्ठको भनाइ छ ।

करिब १.९ किलोमिटर लामो केबलकारको लागि ८५ करोडको लागत अनुमान गरिए पनि अन्य खर्चसहित एक अर्ब पुग्ने इन्जिनियर निर्मल केसीले बताए । सिद्धार्थ केबलकार प्रालिमा ५० जनाको लगानी रहेको छ ।

व्यवसायी उत्साहित

केबलकारका सञ्चालक तेजप्रसाद सुनारले केबलकार बनेपछि रुपन्देहीको पर्यटन विकासले फड्को मार्ने दाबी गरे । बुटवलमा ठूल्ठूला होटल खुले पनि पर्यटकहरू खासै नआउँदा पर्यटन व्यवसायीहरू चिन्तित छन् ।

बुटवल-पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा खण्डको सडकमा सुरुङमार्ग बनाउने प्रक्रिया पनि अगाडि बढेको छ । यो आयोजना बनेपछि लुम्बिनी, बुटवल, पाल्पा हुँदै भारतीय पर्यटकहरू पोखरासम्म पुग्नेछन् । जसको फाइदा बुटवललाई प्रत्यक्ष रूपमा हुने पर्यटन विश्वास गरिएको छ । बुटवल पाल्पा सडकको अवस्थाले लुम्बिनी आउने पर्यटकहरू जहाजबाट काठमाडौं भएर फेरि पोखरा जाने गर्छन् ।

होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले पर्यटकको बसाइ लम्बाउन र एकपटक भए पनि यहाँ आउन केबलकारले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नुवाकोट विकास समितिका अध्यक्ष तथा नेपाल होटल व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपालले केबलकार सञ्चालन भएपछि यहाँको पर्यटन व्यवसायमात्रै होइन सबै क्षेत्रलाई प्रभाव पर्ने बताउँछन् । ‘पर्यटकको बसाइ लम्बाउनेगरी योजना बनाउनुपर्दछ, अन्तर्राष्ट्रिय विमानस्थल, बुद्धस्थल लुम्बिनी आउने भारतीय पर्यटकलाई यहाँ एकरातमात्रै बसाउन सके धेरै फाइदा हुनेछ’, उनले भने ।

नुवाकोटमा साना-ठूला १० होटल तयार भएको र केबलकार सञ्चालन हुने समयसम्म अन्य लगानीकर्ताको पनि ध्यान गइसकेको नेपालले बताए ।

भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यस क्षेत्रमा पर्यटकको संख्या वृद्धि हुने र लुम्बिनी आउने पर्यटकलाई बुटवलसम्म ल्याउन सकेमा यस क्षेत्रको पर्यटन क्षेत्र चलायमान हुने पर्यटन क्षेत्रका जानकार दलबहादुर गुरुङ बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *