सबैलाई हराउनै भनेर गएका थियौं तर भारतले हाम्रो स्तर के हो देखाईदियो : प्रशिक्षक केसी – Nepal Press

सबैलाई हराउनै भनेर गएका थियौं तर भारतले हाम्रो स्तर के हो देखाईदियो : प्रशिक्षक केसी

काठमाडौं । नेपाली यु–२० फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले भारतमा आयोजना भएको साफ च्याम्पियनसिपमा नेपाली टिम बाहिरिएर स्वदेश फर्किएसँगै प्रतियोगितामा भारतले नेपाली टिमको स्तर केहो प्रमाणित गरिदिएको बताएका छन् ।

‘यहाबाट हामी भारतलाई पनि हराउनै भनेर गएका हौं तर भारतले हाम्रो स्तर केहो देखाईदियो । साधारण एउटै कुरा हेर्यो भने हामीले धेरै कुरा बुझ्छौं । भारतले सबै खेलमा फरक फरक खेलाडीलाई मैदान उतारेको थियो । नेपालसँगको खेलमा अघिल्लो खेलका ८ खेलाडी भारतले परिवर्तन गरेको थियो । जुन खेलाडीहरु आईएसएल खेलेका थिए । आजको स्थितिमा भारतले साफाई आफ्नो स्तरमा गन्न छोडिसक्यो । हामीलाई साफमा रहन केके गर्नुपर्छ भन्ने कुरा फुटबललाई माया गर्ने मान्छेहरुले सोचिदिनु भयो भने राम्रो हुन्छ ।’

भारतको भुवनेश्वरमा आयोजना भएको यु–२० साफ च्याम्पियनसिपमा नेपालले लगातार दुई जित निकाल्दै फाइनलका लागि बलियो दावेदारी प्रस्तुत गरेको थियो । तर, तेस्रो खेलमा नेपाल भारतसँग ८–० गोलको नतिजामा पराजित भयो जुन खेलाडी समर्थकलाई त छँदैछ प्रशिक्षक केसीलका लागि बिर्सनलायक बन्यो ।

‘सुरुआती दुई खेलमा जित निकालेर पछि परेको नेपाली फुटबललाई पुनरागमन गराउन कोसिस गरेका थियौं तर तेस्रो खेलले हामीलाई हाम्रो मिहेनत र लगानि पुगेको छैन भन्ने महसुस गरायो,’ उनले भने ।

मेरो यति लामो फुटबल करियरमा मलाई दुई पटक मात्रै फुटबलमा लागेकोमा पछुतो जस्तो भएको छ । एक पटक नेपाली राष्ट्रिय टिम जोर्डनसँग ९–० ले पराजित भएको क्षण र हामी भारतसँग ८–० ले पराजित हुँदा,’ प्रशिक्षक केसीले थपे ।

उमेर समूहमा नेपाली टिमको प्रदर्शन यसअघि सँधैनै राम्रो हुने गरेको छ । उमेर समूहका कँयौँ खेलमा भारतलाई पराजित गरेर नेपालले उपाधि उचालेको इतिहास छ । अहिलेको टिमपनि क्षमतावान भएपनि त्योकुरा प्रमाण्ति गर्न नसकेको प्रशिक्षक केसी बताउँछन् ।

‘अहिलेको हाम्रो खेलाडीहरुले मिहेनत पनि धेरै गरेका थिए । हामी सक्षम पनि थियौं । र सबै कुरा आफूले सोचे जस्तो पनि हुँदैन । किनभने हाम्रो टिमको जुन स्तरको थियो त्यो स्तरको खेल हामीले प्रमाणित गर्न सकेनौ त्यसको लागि हामी क्षमा प्रार्र्थी छौं । यो टिममा भएका खेलाडीमा नेपाली फुटबललाई केहि हदसम्म माथि लाने क्षमता छ,’ उनले भने ।

हामीले राम्रो तयारी गरेका थियौं । हामी सक्षम थियौं । तर, कतिपय कुरा यस्तो हुन्छ जुन कुरा फुटबलमै लागिरहेका मान्छे बाहेक अरुले बुझ्न सक्दैनन् ।

यस्तै, प्रशिक्षक केसील नेपाली फुटबल समयअनुसार‘अपडेट’ हुन नसकेको प्रतिकृया दिएका छन् ।

‘अहिलेको फुटबल मोर्डन फुटबल हो । मोर्डन फुटबलका लागि फुटबलको हरेकदिन स्तरवृद्धि भइरहेको छ त्यसका लागि फुटबलमा लागेको मान्छे ‘अपडेट’ हुनुपर्छ जसमा हामी पछि छौं ।’

साफ च्याम्पियनसिप अन्र्तगत नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोलको नतिजामा पराजित गरेको थियो । दोस्रो खेलमा श्रीलंकालाई ३–० ले हराएको नेपाललाई तेस्रो खेलमा भारतसँग ८–० को हार निकै भारि पर्यो ।

भारतसँग पराजित भएसँगै नेपालको फाइनल सम्भावना पनि कम भयो । अन्तिम खेलमा बंगलादेशलाई हराउनै पर्नै दबाब नेपाललाई थियो तर १–१ को बराबरीमा रोकिएसँगै भारतको नतिजामा नेपाल निर्भर भयो ।

भारत अन्तिम खेलमा माल्दिभ्सलाई १–० गोलको नतिजामा हराउँदै फाइनल पुग्यो । यस्तै बंगलादेश अपराजित यात्रा कयम राख्दै फाइनल पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर