वर्ल्डलिङ्कलाई मधेस सरकारको आईसीटी अवार्ड – Nepal Press

वर्ल्डलिङ्कलाई मधेस सरकारको आईसीटी अवार्ड

काठमाडौं । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडले ‘प्रदेशको इमर्जिङ सेक्टर’का लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ ।

प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्न सूचना तथा सञ्चार प्रविधि (आईसीटी) महत्त्वपूर्ण योगदान रहेको भन्दै मधेस प्रदेशले कम्पनीलाई यो अवार्डबाट सम्मानित गरेको हो ।

मधेस प्रदेशमा समेत सञ्चालनमा रहेको, सफल व्यवसायिक मोडेल तयार पारेको, रोजगारी सिर्जना गरेको र जनताका लागि उपयोगी उत्पादन तथा सेवा ल्याएको आधारमा यस्तो अवार्ड दिइएको हो । मधेसका मुख्यमन्त्री लालबाबु राउतले वर्ल्डलिङ्कका निर्देशक लक्ष्मण यादवलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए ।

त्यसक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र प्रदेशका अन्य मन्त्रीहरूको समेत उपस्थिति थियो ।
वर्ल्डलिंकले नेपालका शहरी तथा ग्रामीण क्षेत्रमा बृहत फाइबर नेटवर्क निर्माण गरी देशका ७५ जिल्लामा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले ६ लाख ४५ हजारभन्दा बढी घरधुरी इन्टरनेट प्रयोगकर्ता तथा ९ हजारभन्दा बढी संघसंस्था, बैंक एवं वित्तीय संस्था तथा सरकारी कार्यालयहरुलाई इन्टरनेट एवं डाटा कनेक्टिभिटीलगायत १३ हजारभन्दा बढी स्थानहरूमा फ्रि वाइफाई सेवा उपलब्ध गराइरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषमार्फतको परियोजनाअन्तर्गत वर्ल्डलिंकले नेपालको विकट क्षेत्र कर्णाली प्रदेशका आठै जिल्ला र गण्डकी प्रदेशका पाँच जिल्लामा सफलतापूर्वक नेटवर्क विस्तार गरी इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *