सेजभित्र गुट्खा उद्योग खोल्न अनुमतिको फाइलमा मुख्यसचिवले लगाए ‘ब्रेक’ – Nepal Press

सेजभित्र गुट्खा उद्योग खोल्न अनुमतिको फाइलमा मुख्यसचिवले लगाए ‘ब्रेक’

काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज) मा गुट्खा उद्योग खोल्ने फाइल उद्योग मन्त्रालयमा रोकिएको छ । मन्त्री दिलेन्द्र बडूले तयार बनाएको फाइल मुख्य सचिव शंकरदास बैरागीले केही समयपछि हेरौंला भनेपछि सेजभित्र गुट्खा खोल्ने अनुमति केही समयका लागि रोकिएको हो ।

उद्योगमन्त्रीले तयार पारेको फाइल मुख्य सचिवले हेर्न नमानेपछि पिके श्री इन्डस्ट्रिज प्रालिका सञ्चालक प्रधानमन्त्रीपत्नी आरजु राणालाई भेटेर लबिङ गरेको स्रोतले बतायो । जसरी पनि सेजमा गुट्खा उद्योग सञ्चन गर्ने भन्दै उद्योग सञ्चालन गर्ने व्यक्तिहरूले राजनीतिक पहुँचका लागि भेटघाट बढाएका छन् ।

सेजभित्र मदिरा र गुट्खा उद्योग खोल्नका लागि उद्योग मन्त्रालयले अर्थमन्त्रालयसँग राय मागेको थियो । अर्थसचिव मधुकुमार मरासिनीले मदिरा उद्योगलाई नहुने भन्दै गुट्खा उद्योगका लागि सहमति दिएका थिए ।

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएको बेलामा नै अर्थसचिव मारासिनीले सेजमा गुट्खा उद्योग खोल्न सहमति दिएको स्रोतले बतायो ।

सेजमा मदिरा, हातहतियार, विष्फोटक पदार्थ र गुट्खालगायत सुर्तीजन्य उद्योग स्थापना गर्न नपाइने व्यवस्था छ । तर, सरकारले नियम नै संशोधन गरेर पिके श्री इन्डस्ट्रिज प्रालिलाई लक्षित गरी गुट्खा उद्योगका लागि सहमति दिने गरी उद्योग मन्त्रालयमा फाइल तयार भएको थियो । पिकेश्रीले उद्योग स्थापना गर्न राजस्वसमेत तिरिसकेको छ । मन्त्री जसरी भएपनि सेजमा गुट्खा उद्योग खोल्न दिनेगरी लागिरहेका छन् ।

हिजोको मन्त्रिपरिषद्‍बाट नै सेजमा गुट्खा उद्योग सञ्चान गर्न पी के श्री इन्ड्रष्ट्रिज प्रालि अनुमति दिने तयारी गरेकोमा मुख्यसचिवले फाइल हेर्न नमानेपछि रोकिएको हो ।

एउटा निश्चित कम्पनीलाई नै तोकेर कानुन संशवधन गर्न खोज्नु बदमासी भएको भन्दै मन्त्रालयभित्रै टिप्पणी बढेको छ । मन्त्रीस्तरीय निर्णयबाटै पिकेश्रीलाई अनुमति दिने तयारी गरिएकोमा विवाद आउनसक्ने भन्दै मन्त्रिपरषद्‍बाटै पास गर्न लागिएको बताइएको छ ।

गुट्खा उद्योग सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेजको नियमावली नै संसोधन गर्न लागेको छ । सेजमा स्थापना गर्न नपाइने उद्योगहरूको सूची संशोधन गरेर गुट्खा, मदिरा र सुर्तीजन्य उद्योगलाई समेत अनुमति दिने तयारी गरिएको थियो । तर,गुट्खा उद्योग मात्रै सञ्चालन गर्न पाइने गरेर संशोधन हुने तयारीमा रहेको छ ।

सेजमा गुट्खा र मदिराजन्य वस्तु उत्पादन नियमावली संशोधनका लागि औद्योगिक प्रवर्द्धन बोर्डमा पुगेको छ । अब बोर्डले भने गुट्खा उद्योग मात्रै सञ्चालन गर्ने स्वीकृति दिन लागेको हो ।

विदेश वस्तु निर्यात गर्नको लागि भनेर स्थापना भएको सेजमा उद्योगले करदेखि जग्गा र भवनको भाडासम्ममा छुट दिने गरेको छ । नियमावली संशोधन गरेर गुट्खा उत्पादन गर्न दिइए यस्ता उद्योगले पनि यी सहुलियत र छुट पाउनेछन् ।

भैरहवा र सिमरामा सेजको उद्योग स्थापना गर्ने प्लटहरू छन् । सरकारले मदिरा र सुर्ती तथा गुट्खाजन्य वस्तुको उत्पादन सेजमा नै गर्न दिने भन्ने भएपछि प्लटहरूको भाडा सम्झौता भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *