नियमावली नै संशोधन गरेर सेजभित्र गुट्खा उद्योग खोल्न अनुमति दिने चलखेल – Nepal Press

नियमावली नै संशोधन गरेर सेजभित्र गुट्खा उद्योग खोल्न अनुमति दिने चलखेल

काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज) मा मदिरा, हातहतियार, विष्फोटक पदार्थ र गुट्खालगायत सुर्तीजन्य उद्योग स्थापना गर्न नपाइने व्यवस्था छ । तर, सरकारले नियम नै संशोधन गरेर सेजभित्र गुट्खा उत्पादनका लागि एक उद्योगलाई अनुमति दिने सुरसार गरेको छ ।

उद्योग मन्त्रालयले टिप्पणी उठाएर सेजमा गुट्खा उद्योग खोल्नका लागि मन्त्रिपरिषद्‌मा पठाइसकेको स्रोतले बतायो । मन्त्रिपरिषद् बैठकबाट पिके श्री इन्ड्रष्ट्रिज प्रालिलाई यो उद्योग सञ्चालनको अनुमति दिन लागिएको स्रोतको दाबी छ । एउटा निश्चित कम्पनीलाई नै तोकेर यसरी अनुमति दिइनु अर्को बदमासी हो ।

सकेसम्म मन्त्रीस्तरीय निर्णय गरेर सेजमा पिके श्रीलाई गुट्खा उत्पादनको अनुमति दिने तयारी गरिएको थियो । तर, त्यसो गर्दा विवाद उत्पन्न हुनसक्ने भनेर मन्त्रिपरिषद्को बैठकबाटै पास गराउन लागिएको उद्योग मन्त्रालय स्रोतले बतायो ।

पिके श्रीले उद्योग स्थापना गर्न राजस्वसमेत तिरिसकेको छ । राजनीतिक पहुँचका कारण पनि अब सरकारले गुट्खा उत्पादनको लागि अनुमति दिनेमा उद्योग सञ्चालक निश्चिन्त छन् ।

गुट्खा उद्योग सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेजको नियमावली नै संसोधन गर्न लागेको छ । सेजमा स्थापना गर्न नपाइने उद्योगहरुको सूची संशोधन गरेर गुट्खा, मदिरा र सुर्तीजन्य उद्योगलाई समेत अनुमति दिने तयारी गरिएको हो । यो संशोधन मुलत: पिके श्रीकै लागि गर्न लागिएको स्रोतले बताएको छ ।

सेजमा गुट्खा र मदिराजन्य वस्तु उत्पादन नियमावली संशोधनका लागि औद्योगिक प्रवर्द्धन बोर्डमा पुगेको छ । अब बोर्डले स्वीकृति दिएपछि सेजमा गुट्खा उद्योग स्थापनाको बाटो खुल्छ ।

व्यक्ति विशेषका लागि सेजको नियमावली संशोधन गर्ने विषयमा मन्त्रालय भित्रका कर्मचारीबीच विवाद सुरू भएको पनि स्रोतले बतायो । केही कर्मचारीहरूले दिने भए सबैलाई दिउँ, नदिए कसैलाई नदिउँ भनेर फाइल नै रोक्नेसम्म अडान लिएका छन् । तर उद्योगमन्त्री दिलेन्द्र बडू भने जसरी भएपनि सेजको नियमावली संशोधन गराएर सेजमा गुट्खा उद्योग स्थापन गर्न दिने पक्षमा छन् ।

विदेश वस्तु निर्यात गर्नको लागि भनेर स्थापना भएको सेजमा उद्योगले करदेखि जग्गा र भवनको भाडासम्ममा छुट दिने गरेको छ । नियमावली संशोधन गरेर गुट्खा उत्पादन गर्न दिइए यस्ता उद्योगले पनि यी सहुलियत र छुट पाउनेछन् ।

सेजका कार्यकारी निर्देशक डा.चण्डिका भट्ट सेजमा अहिलेको नियमावली अनुसार गुट्खा उद्योग खोल्न नमिल्ने बताए । यस्तो उद्योग स्थापना गर्न लागिएको विषयमा विषयमा आफूलाई जानकारी नभएको उनको भनाइ छ ।

उनले भने, ‘सेजमा गुट्खा उद्योग खोल्न नियमावली संशोधन गर्नुपर्छ होला नि ? कसले के आधारमा सेजमा गुट्खा उद्योग खुल्न लागेको हो मलाई जानकारी छैन । अहिलेसम्म कसैले राजस्व तिरेको पनि थाहा छैन ।’

भैरहवा र सिमरामा सेजको उद्योग स्थापना गर्ने प्लटहरु रहेका छन् । सरकारले मदिरा र सुर्ती तथा गुट्खाजन्य वस्तुको उत्पादन सेजमा नै गर्न दिने भन्ने भएपछि प्लटहरूको भाडा सम्झौता भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *