चर्चामा सीसीटीभी : एक वर्षमा १ अर्ब ९० करोडको आयात – Nepal Press

चर्चामा सीसीटीभी : एक वर्षमा १ अर्ब ९० करोडको आयात

चीनबाट मात्रै साढे २ लाखभन्दा बढी भित्रियो

काठमाडौं । बजेटमा अनधिकृत व्यक्ति मन्त्रालय छिराएर करको दायरा हेरफेर गरेको अर्थमन्त्री जनार्दन शर्मामाथि आरोप लागेसँगै अहिले सीसीटीभीले चर्चा पाएको छ ।

नेपालमा गत आर्थिक वर्षमा मात्रै १ अर्ब ९० करोड २१ लाख ९५ हजारको सीसी क्यामेरा आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । २ लाख ७२ हजार ७६२ वटा सीसीटीभी विदेशबाट नेपाल भित्रिएको देखिन्छ । सीसीटीभी आयातबाट सरकारले आर्थिक वर्ष २०७८/७९ मा ३४ करोड ५६ लाख ७७ हजार राजस्व उठाएको छ ।

सबैभन्दा धेरै सीसी क्यामेरा आयात चीनबाट भएको तथ्यांकमा उल्लेख रहेको छ । चीनबाट मात्रै २ लाख ५३ हजार वटा सीसीटीभी आयात भएको छ । भने सीसीटीभी नेपालमा आयात हुने दोस्रो देश भारत रहेको छ । भारतबाट १३ हजारभन्दा धेरै सीसीटीभी आयात भएको छ ।

जापान, फ्रान्स, कोरिया, कुवेत, कतार र भियतनामलगायतका २५ भन्दा धेरै देशबाट नेपालमा सीसी क्यामेरा आयात भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा भने १८ हजार १ सय ६३ सीसीटीभी आयात भएको छ । गत आर्थिक वर्षको तुलानामा अघिल्लोको आर्थिक वर्षमा थोरै मात्रै सीसीटीभी आयात भएको तथ्यांकमा उल्लेख रहेको छ ।

पछिल्लो समय सीसीटीभीको प्रयोग बढ्दै गएको छ । शान्ति सुरक्षाको मुख्य उद्देश्यसहित जडान गरिएपनि देशको प्रशासनिक तथा राजनीतिक केन्द्रविन्दु सिंहदरबारमा नै सीसीटीभी फुटेज रहँदैन । अर्थ र गृहमन्त्रालयले १३ देखि १६ दिनसम्म मात्रै सीसीटीभी फुटेज रहने औपचारिक जानकारी गराएका छन् ।

गृहले तयार पारेको सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि २०७५ अनुसार सीसीटीभी फुटेज ३ महिनासम्म सुरक्षित राख्नुपर्ने व्यवस्था छ । तर, सुरक्षित र संवेदनशील मानिएको सिंहदरबारमै यो नियम कार्यान्वयन नभएकोमा आलोचना उत्तिकै छ ।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेल कार्यविधि पालना नभएकोमा सिंहदरबारभित्रको फुटेज प्रहरीले हेर्ने भएर आफूलाई कुनै जानकारी नभएको बताउँछन् ।

उनले भने, ‘पछिल्लो समय सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि २०७५ अनुसार सीसीटीभी फुटेज ३ महिनासम्म सुरक्षित राख्न भनेका छौं । अब कार्यविधि अनुसार नै फुटेज रहनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *