इङ्गल्यान्ड च्याम्पियन बनेसँगै दुई फरक देशसँग लगातार युरो उपाधि जित्ने प्रशिक्षक बनिन् वेइग्मेन – Nepal Press

इङ्गल्यान्ड च्याम्पियन बनेसँगै दुई फरक देशसँग लगातार युरो उपाधि जित्ने प्रशिक्षक बनिन् वेइग्मेन

काठमाडौं । इङ्गल्यान्डले आइतबार राती जर्मनीलाई २–१ गोलको नतिजामा पराजित गरेर युरो २०२२ को उपाधि उचालेसँगै दुई फरक देशसँग लगातार युरोपियन च्याम्पियनसिप उपाधि जित्ने पहिलो प्रशिक्षक बनेकी छिन्, सरिना वेइगमेन ।

उनले यसअघि सन् २०१७ मा आयोजना भएको महिला युरोमा नेदरल्यान्डको प्रशिक्षण सम्हालेकी थिइन् । त्यस सिजन नेदरल्यान्डले महिला युरोको उपाधि जितेको थियो । उनको प्रशिक्षणमा नेदरल्यान्डले खेलेका ६ वटै खेल जितेको थियो । यस सिजन इङ्गल्यान्डले पनि अपराजित रहँदै उपाधि उचाल्यो ।

डच प्रशिक्षक वेइग्मेन सन् २०१६ को सुरुवातमा केहि समयका लागि नेदरल्यान्डको प्रशिक्षकमा नियुक्त भएकी थिइन् । सन् २०१५ मा पहिलो पटक विश्वकप छनोट भएको नेदरल्यान्डलाई २०१७ को युरो जिताउन वेइग्मेनले सही दिशा दिएकी थिइन् ।

वेग्मेनको प्रशिक्षणमा नेदरल्यान्ड विश्व कप २०१९ को फाइनलसम्म पुगेको थियो ।

सन् २०२१मा वेग्मेनको नेदरल्यान्डसँगको सम्झौता सकिने वाला थियो । त्यस बेला इङ्गल्यान्डले निवर्तमान प्रशिक्षक फिल नेभिलेको प्रतिस्थापनमा उत्कृष्ट प्रशिक्षक खोजिरहेको थियो । वेग्मेनको सम्झौता अगस्ट २०२१ मा सकिने थाहा पाएपछि इङ्गल्यान्डले एक वर्ष अघि नै उनीसँग मुख्य प्रशिक्षक नियुक्तिका लागि सम्झौता घोषणा गरिसकेको थियो ।

इङ्गल्यान्डसँग उनले लामो समय बिताएकी छैनन् तर, छोटो समयमा पनि उनको प्रशिक्षणको नतिजा अविश्वसनीय छ ।

इङ्गल्यान्डले उनको प्रशिक्षणमा खेलेका सुरुवाती ६ खेलमा ५३ गोल गर्‍यो । तिनै ६ मध्य एउटा खेलमा लाटभियाविरुद्धको २०–० गोलको नतिजामा उत्कृष्ट जित निकालेका थिए । गत फेब्रुअरीमा आयोजना भएको अनोल्ड क्लार्क कपमा इल्यान्डले कडा विपक्षीहरु विरुद्ध उत्कृष्ट प्रदर्शन गरेर केहि जटिल प्रश्नहरू खडा गरेको थियो ।

त्यसपछि पनि इङ्गल्यान्डको प्रदर्शन झनै राम्रो हुन थाल्यो । युरो २०२२ सुरु हुनु ठिक अघि नेदरल्यान्डलाई ५–१ गोलको नतिजामा पराजित गर्दै इङ्गल्यान्डले आफूलाई प्रमाणित गर्‍यो ।

युरो २०२२ मा इङ्गल्यान्डले आफ्नो स्तर सुरुवात देखिनै उत्कृष्ट प्रदर्शन गरेर देखाएको थियो । समूह चरणमा नर्वेविरुद्ध ८–० गोलको नतिजामा कीर्तिमानी जित दर्ता गर्‍यो । क्वाटर फाइनलमा स्पेनविरुद्ध निर्धारित समयसम्म बराबरीमा रोकिएको इङ्गल्यान्ड इन्जुरी समयमा गोर्जिया स्टानवेले गरेको गोलसँगै सेमिफाइनलमा स्थान बनाएको थियो ।

यस्तै, फिफा वरियतामा दोस्रो स्थानको स्विडेनलाई सेमिफाइनलमा पराजित गर्दै इङ्गल्यान्डले फाइनल यात्रा तय गरेको थियो ।

जर्मनीविरुद्धको फाइनल भने इङ्गल्यान्डका लागि सहज थिएन । एला टोनीले ६२औँ मिनेटमा गोल गरेसँगै इङ्गल्यान्ड जितको उत्सव मनाउन थालेको थियो । तर, ७९औँ मिनेटमा जर्मनीकी लिना मागुलले बराबरी गोल फर्काएसँगै समर्थकमाझ निराशा छाएको थियो ।

निर्धारित समयसम्म पनि खेल बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा क्लोइ केलीले विजयी गोल गर्दै इङ्गल्यान्ड र विइग्मेन दुवैको नाममा इतिहास रच्न सफल भइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर