सञ्चालक भागेपछि गौतमश्री सहकारीमा सिल, सदस्यहरू धर्नामा (भिडिओ) – Nepal Press

सञ्चालक भागेपछि गौतमश्री सहकारीमा सिल, सदस्यहरू धर्नामा (भिडिओ)

काठमाडौं । सहकारी संस्थाले निक्षेपकर्ताको रकम फिर्ता नदिएर फरार भएको घटना बेलाबेलामा बाहिरिने गरेको छ ।

यतिबेला काठमाडौंकै कुलेश्वरमा मुख्य कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारीका सञ्चालक पनि फरार भएपछि निक्षेपकर्ता आत्तिदै नियामक निकाय सहकारी विभागमा पुगेका छन् ।

शुक्रबार नै सञ्चालक फरार रहेको खबर पाएपछि निक्षेपकर्ताहरु सहकारी विभागमा धर्ना दिन पुगेको थिए । आइतबार पनि निक्षेपकर्ताले आफूले रकम जम्मा गरेको रसिद बोकेर रकम फिर्ता गराइदिन भन्दै विभाग पुगेको छन् । निक्षेपकर्ताले सहकारीको भवनका एभरेष्ट बैंकको सुचनाहरुले थाहा पाएको बताएका छन् ।

संस्थाका सञ्चालक, म्यानेजर नै सदस्य र नियामक निकायको सम्पर्कमा छैनन् । विभागका अनुसार आइतबार नै उनीहरुलाई समस्याका बारेमा बुझ्न विभाग बोलाइएको विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले बताए । उपाध्यायका अनुसार शुक्रबार नै विभागले उसको अनुमतिविना गौतमश्रीको चल अचल सम्पत्ति प्रयोग गर्न तथा खोल्न नपाउने गरी प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान शाखालाई पत्राचार गरेको छ ।

सेयर सदस्यका अनुसार गौतम श्रीको कुलेश्वरको केन्द्रीय कार्यालय, टेकु पोखरा नारायणघाटको सेवा केन्द्र, हेटौंडाको गोदाम, कुलेश्वरको सुपरमार्केट, काभ्रे पात्लेखेतको सम्पत्तिलगायत रहेको बुझिएको छ ।

यता नियामकको जिम्मा पाएको विभागलाई भने न उसको सम्पत्तिको बारोमा जानकारी छ नत उसको सेयर सदस्य कति छन् भन्ने थाहा छ । यति मात्र होइन उसले हालसम्म साधारणसभा गरे नगरेको भन्नेबारे पनि जानकारी छैन । सेयर सदस्यका अनुसार गौतम श्रीले अहिलेसम्म साधारणसभा गरेको छैन । अहिले सदस्यहरु दिनहुँ कार्यालय परिसरमा धर्ना दिन बाध्य भएका छन् ।

संस्थाका अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र विष्ट हुन् । सञ्चालक सम्पर्कविहीन भएपछि सहकारी रहेको भवनमा एभरेस्ट बैंकले शिल गरेको सूचना टाँस गरेको छ ।

संस्थाका अध्यक्ष रामबहादुर गौतमको अन्य व्यवसायमा बैंकले लगानी गरेको र सोही भवनमा पनि बैंकले लगानी गरेको व्यवसायको गोदाम तथा कार्यालय रहेका कारण भवन सिल गरेको एभरेष्ट बैंकले जनाएको छ ।

सेयर सदस्यको भनाइलाई नै आधार मान्ने हो भने यसको २५ हजार सेयर सदस्य छन् ।

प्रमाणका आधारमा रकम फिर्ता हुन्छ । सहकारी विभागले गौतम श्रीको सम्पत्ति रोक्का गरिसकेको जनाएको छ । यही सम्पत्तिको अध्ययन गरेर प्रमाणका आधारमा सेयर सदस्यको रकम फिर्ता गर्ने विभागका उपरजिष्ट्रार उपाध्यायले बताएका छन् । विभागले सदस्य आफैँ सक्रिय भएर सहकारीमा कारोबार गर्नुपर्ने बताएको छ । अहिले मुलुकभर ३० हजार भन्दा बढी सहकारी संस्था रहेका छन् भने नियमन गर्ने ७ सय ६१ वटा नियामक निकाय छन् । विभागको क्षेत्रभित्र हाल १ सय २६ सहकारी संस्था रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *