आज भारतलाई हराए नेपाल फाइनल पुग्ने पक्का, कस्तो छ विगत ? – Nepal Press

आज भारतलाई हराए नेपाल फाइनल पुग्ने पक्का, कस्तो छ विगत ?

काठमाडौं। भारतको भुवनेश्वरमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आइतबार साँझ भारतलाई हराउन सके फाइनलमा स्थान बनाउनेछ ।

नेपाल दुई खेलबाट ६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । शीर्षस्थानको बंगलादेशले तीन खेलबाट ९ अंक जोडेको छ ।

भारतको दुई खेलबाट ३ अंक छ । दुई खेल खेलेको मालदिभ्स र तीन खेल खेलेको श्रीलंकाले अंक जोड्न सकेका छैनन् । नेपालले पहिलो खेलमा मालदिभ्सलाई ४-० र दोस्रो खेलमा श्रीलंकालाई ३-० गोलले हराएको थियो ।

पहिलो खेलमा बंगलादेशसँग २-१ गोलले पराजित भारतले दोस्रो खेलमा श्रीलंकालाई ४-० गोलले हराएर फाइनल पुग्ने सम्भावना कायमै राखेको थियो । राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्ने भएकाले नेपालसँग पराजित भएको अवस्थामा भारत पहिलो चरणबाटै बाहिरिनेछ ।

भारतले सन् २०१९ मा आयोजित साफ यू-१९ च्याम्पियनसिप जितेको थियो । नेपालले साफ यू-१९ च्याम्पियनसिप सन् २०१५ र २०१७ गरी दुईपटक जितेको छ । सन् २०१५ को संस्करणमा नेपालले फाइनलमा भारतलाई टाइब्रेकरमा हराएर उपाधि जितेको थियो । यो नेपालले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा २२ वर्षपछि हात पारेको पहिलो उपाधि थियो । नेपालले लगातार यो प्रतियोगिता जितेको थियो ।

सन् २०१७ मा राउन्ड रोबिन लिगको पहिलो स्थानमा रहने टोलीलाई विजेता घोषणा गरिएको थियो । त्यतिबेला नेपालले भारतलाई २-० गोलले हराएको थियो । पहिलो खेलमा भूटानसँग १-० गोलले स्तब्ध भएको नेपालले त्यसपछि लगातार तीन खेल जितेर उपाधि हात पारेको थियो ।

सन् २०१९ मा भने नेपाल समूहगत चरणबाटै बाहिरिएको थियो । यसपटक देखि यू-२० स्तरमा साफ च्याम्पियनसिप सुरु भएको थियो ।

जारी प्रतियोगितामा नेपालका क्रितिशरत्न चुन्जू र मनज्ञ नकर्मीले दुई–दुई गोल गरेका छन् । दीपेश गुरुङ, आयुष घलान र सुगम सुवालको नाममा एक–एक गोल रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर