निष्कृय जनशक्तिलाई चलायमान गराउन खेलकुदमन्त्रीको निर्देशन – Nepal Press

निष्कृय जनशक्तिलाई चलायमान गराउन खेलकुदमन्त्रीको निर्देशन

काठमाडाैं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तिब्र बनाउन निर्देशन दिएका छन् । निर्धारित मितिमै प्रतियोगिता संचालनकालागि हरेक दिन छलफल तथा अन्तरक्रिया गरीरहेका मन्त्री अथकले शुक्रबार युवा तथा खेलकुदसँग सम्बन्धित विषयगत समितिको वैठक बोलाएर युद्धस्तरमा प्रतियोगिताको तयारीमा जुट्न निर्देशन दिएको हुन् ।

नवौं राष्ट्रिय प्रतियोगितालाई केन्द्रमा राखेर आयोजना गरीएको बैठकले विभिन्न पाँच बुँदे निर्णय पारीत गरेको छ । सिंहदरबारस्थित मन्त्रालयको हलमा संचालन गरीएको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तथा प्रभावकारीताकालागि हरेक प्रदेशमा आवश्यकता र उपलब्धताका आधारमा प्रशिक्षक तथा जनशक्ति उपलब्ध गराउने निर्णय गरेको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनकालागि प्रदेशमा विनियोजित बजेट अपुग देखिएकाले प्रदेशको आवश्यकता अनुसार अर्थ मन्त्रालयसँग थप बजेट माग गर्नुकासाथै विषयगत समितिको गत चैत्र ११ गते बसेको पहिलो बैठकले गरेका १४ बुँदे निर्णयको प्रभावकारी कार्यान्वयनकालागि सम्बन्धित निकायले पहल गर्ने निर्णय समेत गरिएको छ ।

त्यसैगरी सबै प्रदेशका खेलकुदसँग सम्बन्धित मन्त्रालय, प्रदेश खेलकुद परिषद÷बोर्ड तथा खेलकुद सँग सम्बन्धित संघ संस्थाले आ–आफ्नो क्षेत्रबाट प्रतियोगितामा सहभागीता जनाउनुका साथै समन्वय र सहजीकरणमा समेत सहयोग गर्ने निर्णय भएको छ ।

बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुल आयोजक समितिमा सात वटै प्रदेशका युवा तथा खेलकुद मन्त्रालयका मन्त्रीहरुलाई समावेश गर्ने निर्णय गरेको छ ।

निष्कृय जनशक्तिलाई चलायमान गराउन मन्त्री अथकको निर्देशन

बैठक अघिको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले देशभर निस्कृय अवस्थामा रहेका खेलकुदसँग सम्बन्धित जनशक्तीलाई चलायमान गराउन राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिएकाे छ

। राज्यको सेवा सुविधा लिएर निस्कृय बसेका कर्मचारीलाई नवौं राष्ट्रिय प्रतियोगितामा सदुपयोग गर्नुपर्ने बताउँदै मन्त्री अथकले सक्रिय रुपमा काममा लगाउन निर्देशन दिएको हो । उनले नवौं राष्ट्रिय खेलकुदकालागि प्रदेशको तयारी अघि बढाउन सम्बद्ध प्रदेशका मन्त्री तथा सदस्य सचिवलाई आग्रह समेत गरेको थियो ।

संघ, प्रदेश र स्थानीय तह बीच (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ मा व्यवस्था भए अनुसार युवा तथा खेलकुदसँग सम्बन्धित विषयगत समितिको वैठक बसेको हो । युवा तथा खेलकुद मन्त्री अथकको अध्यक्षतामा बसेको बैठकमा प्रदेशका मन्त्रीहरु, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला, सदस्य सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लगायतको उपस्थिती रहेको थियो ।

४ वर्षदेखी हुन नसकेको राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा गर्ने निर्णय भईसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *