माैद्रिक नीतिपछि सकारात्मक लयमा – Nepal Press
साप्तािहक सेयर समीक्षा

माैद्रिक नीतिपछि सकारात्मक लयमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछिको साप्ताहिक सेयर कारोबार आज सकियो । यो साता समग्रमा सबै दिन सेयर बजार बढेको छ । मंगलबार एकदिन सेयर बजारमा सामान्य करेक्सन आएको थियो ।

शुक्रबार मौद्रिक नीति सार्वजनिक भएपछि आइतबारको कारोबारमा त्यसको असर देखियो । साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक ६१.०५ अंकले बढेर २०७८.५१ विन्दूमा पुग्यो । यो दिन २ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी सेयर कारोबार भयो ।

मौद्रिक नीतिपछिको कारोबारले सकारात्मक लय समात्यो । त्यो लयले साताको अन्तिम कारोबार दिनसम्म निरन्तरता पायो । साउन लागेसँगै नेप्सेमा उत्साह देखिएको थियो ।

साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा रौनक देखियो । मौद्रिक नीति सार्वजनिक भएपछिको २ दिनकै कारोबारमा नेप्सेले फराकिलो अंकको वृद्धि हासिल गरेको थियो । यस दिन नेप्से सूचक ५४.४५ अंकले बढेर २१३२.९६ विन्दूमा पुग्यो । यो दिन ४ अर्ब रुपैयाँभन्दा बढी कारोबार भएको थियो ।

मंगलबार भने सेयर बजारमा सामान्य करेक्सन देखियो तर यो करेक्सन बुधबारको कारोबारमा फर्कियो । बुधबार नै नेप्सेले २१ सय विन्दू टेकेको थियो । यस दिन नेप्से सूचक २३.८३ अंकले बढेर २१११.९९ विन्दूमा आएको थियो । यसले पुनः आम लगानीकर्तालाई आशावादी बनायो ।

बिहीबार कारोबार रकम ५ अर्बमाथि पुग्यो । नेप्से सूचक १५.४७ अंकले बढेर २१२७.४५ विन्दूमा अडियो । ५ कम्पनीको सेयर भाउ बढेर सकारात्मक सर्किटतर्फ लागेको थियो । शुक्रबार २ घण्टाको कारोबारमा पनि दोहोरो अंकको वृद्धि भयो । यस दिन दुई अर्ब रुपैयाँभन्दा बढी सेयर कारोबार भयो ।

विशेषगरी केन्द्रीय बैंकको सेयर बजारमा ४-१२ को नीतिले बजारलाई धराशायी बनाएको भन्दा रिसाएका लगानीकर्ताले मौद्रिक नीतिपछि केही राहत महसुस गरे । अहिले यो नीतिलाई सामान्य परिमार्जन गर्दै ४ लाई हटाएर १२ करोडसम्म भन्ने राखिएको छ ।

यसैगरी सेयर धितो कर्जामा जोखिम भार बढाएर १५० प्रतिशत पुर्‍याएपछि बजार थप मारमा परेको भन्दै लगानीकर्ताहरुले रोइलो गरिरहेको बेला यसलाई पनि कारोबार रकमका आधारमा एक सय प्रतिशत र १५० प्रतिशतसम्म जोखिम भार बनाइयो ।

नयाँ मौद्रिक नीतिबाट यी प्रावधानमा केन्द्रीय बैंक केही लचक बनेको पाइयो । अब एकल कर्जा सीमाअन्तर्गत सेयर बजारका लगानीकर्ता एउटै वा सबै वित्तीय संस्थाबाट १२ करोड सेयर धितो कर्जा लिन सक्नेछन् । राष्ट्र बैंकको पछिल्लो नीतिका कारण सेयर बजारले केही राहत महसुस गरेको लगानीकर्ताको बुझाइ छ ।

सेयर बजारको वृद्धिसँगै बजार पूँजीकरण पनि बढिरहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबारसम्म ३० खर्ब ५६ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ । करिब ४२ खर्बसम्म पुगेको बजार घट्दा लगानीकर्ताको खर्बौं रुपैयाँ डुबेको थियो ।

बिहीबारमात्र पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले पूँजीबजार सुधार गर्न नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । यसले आगामी साता बजारमा थप सुधार हुने आम लगानीकर्ताको अपेक्षा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *