हेटौंडा कपडा उद्योग निजी क्षेत्रलाई दिन सकारात्मक छौं: मन्त्री बडू – Nepal Press

हेटौंडा कपडा उद्योग निजी क्षेत्रलाई दिन सकारात्मक छौं: मन्त्री बडू

हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले हेटौंडा कपडा उद्योग निजी क्षेत्रलाई दिन सरकार सकारात्मक रहेको बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघले आज हेटौंडामा गरेको कार्यक्रममा मन्त्री बडूले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन नीति अवलम्बन गरेको भन्दै हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको लागि दिनसक्ने बताएका हुन् ।

व्यवसायिक अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री बडूले भने, ‘हामीले उद्योग सञ्चालनको लागि रकम विनियोजन गरेका छौं । तर पनि सरकारी स्तरबाट भन्दा निजी क्षेत्रबाट उद्योग सञ्चालनमा सहजता तथा तीब्रता देखिने भएकाले उद्योग सञ्चालन निजी क्षेत्रलाई गर्न दिने गरी तयारी गरिएको छ ।’

उनले निजी क्षेत्रबाट पुनः सञ्चालनको सम्भावना देखिएपछि सरकारले प्रक्रिया अघि बढाइसकेको बताए । सरकारले कुन मोडालिटीमा उद्योग सञ्चालन गर्नसक्छ भन्ने विषयमा अध्ययन गरिरहेको भन्दै मन्त्री बडूले सरकारी सम्पत्तिको सदुपयोग र बन्द उद्योगहरुको पुनःस्थापना हुने देखेर सरकारले यस्तो नीति अवलम्बन गर्न लागेको बताए ।

२० वर्षदेखि बन्द उद्योग सञ्चालनको लागि पटक-पटक सरकारले समिति निर्माण गर्ने, बजेट विनियोजन गर्ने, अनुगमन गर्ने काम गर्दै आएको छ । यस्ता काममा राज्यको करोडौं रकम खर्च भए पनि उद्योग भने सञ्चालन हुन सकेको छैन ।

यसैबीच उद्योग संघ हेटौंडाले उद्योगको जग्गाको भाडा बढाउने सरकारी निर्णय कार्यान्वयन नगर्न मन्त्री बडूको ध्यानाकर्षण गरेको छ ।

मन्त्री बडूलाई ध्यानाकर्षणपत्र बुझाउँदै संघका अध्यक्ष स्वागतराज प्याकुरेलले कोरोनाको महामारीबाट बल्लतल्ल नियमित सञ्चालनमा आएका उद्योग क्षेत्र हतोत्साहित हुने निर्णय आफूहरुलाई मान्य नहुने बताए ।

सरकारले भाडादरबारे पुनर्विचार नगरे आफूहरु आन्दोलित हुने प्याकुरेलको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *