गौरव थापाको प्रष्टीकरणः एन्फामा कुनै पदका लागि अनुरोध गरेको र दवाव दिएको छैन – Nepal Press

गौरव थापाको प्रष्टीकरणः एन्फामा कुनै पदका लागि अनुरोध गरेको र दवाव दिएको छैन

‘मेरो नियुक्ती फिफा र एएफसीलाई अमान्य हुने गलत हल्ला चलाइयो’

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको सीइओमा प्रस्तावित गौरव थापाले आफ्नो विषयमा गलत हल्ला फैलाइएको भन्दै प्रष्टीकरण दिएका छन् । आफूले एन्फामा कुनै पदका लागि कसैलाई अनुरोध र दवाव नदिएको उनको भनाइ छ ।

थापाले आज एक विज्ञप्ति जारी गर्दै आफूलाई एन्फाका वर्तमान अध्यक्ष र महासचिवले नै सहयोगको आग्रह गरेर नाम प्रस्ताव गरेकाे बताएका छन् ।

उनले भनेका छन्, ‘वर्तमान अध्यक्ष, महासचिव र कार्यसमितका पदाधिकारी तथा सदस्यहरुसँग मेरो यस विषयमा छलफल भएको छ । उहाँहरुले प्रत्येक पटक बजारमा प्रचार गरिएजस्तो कुनै समस्या नरहेको बताउँदै आउनुभएको छ ।’

आफू फुटबलको व्यवसायिक व्यक्ति भएकाले नेपाली फुटबलका लागि आवश्यकता पर्दा आफ्नो क्षमता अनुसार योगदान गर्न कहिल्यै पछि नपर्ने थापाले बताएका छन् । फिफा, एएफसी र एन्फामा कुनै समस्या नभए पनि केही स्वार्थी मानिसहरुले निश्चित मिडियालाई गलत सुचना दिएर विवाद सिर्जना गर्दै नेपाली फुटबललाई अप्ठेरोमा पार्ने काम गरिरहेको उनको आरोप छ ।

‘फिफा र एएफसीका विषयमा गलत सुचना दिने र झूटो बोलेर नेपाली फुटबललाई बन्धक बनाउने प्रयास कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ ।

आफूलाई एन्फामा नियुक्त गर्दा एएफसी र फिफाले अस्वीकार गर्ने प्रायोजित हल्ला चलाइएको भन्दै गौरवले त्यसको खण्डन गरेका छन् ।
उनले भनेका छन्, ‘यो सफेद झूट र प्रायोजित रुपमा चलाइएको प्रपोगण्डा मात्र हो । वतृमान अध्यक्ष र महासचिवले गत महिना फिफा र एएफसीमा पटक–पटक सम्पर्क गरेर यो विषयमा स्पष्टता खोजेको मेरो जानकारीमा छ । उहाँहरु सबैलाई मेरो नियुक्तीमा फिफा र एएफसीलाई कुनै समस्या नरहेको प्रष्ट पारिसकिएको छ ।’

गौरव थापा फिफाको कारवाहीमा रहेका एन्फाका भुतपूर्व अध्यक्ष गणेश थापाका छोरा हुन् । उनलाई एन्फामा नियुक्त गर्दा फिफा र एएफसीले नमान्ने भन्दै एन्फाका केही पदाधिकारीले रोक्नका लागि लविङ गरेपछि थापाले प्रष्टीकरण दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर