सीसीटीभी फुटेजबाट पनि निष्कर्षमा पुग्न सकेन छानबिन समिति, प्रतिवेदनमा सांसदहरूको राय बाझिन सक्ने – Nepal Press

सीसीटीभी फुटेजबाट पनि निष्कर्षमा पुग्न सकेन छानबिन समिति, प्रतिवेदनमा सांसदहरूको राय बाझिन सक्ने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले सीसीटीभी फुटेजमाथि छलफल र विश्लेषण गरेको छ ।

नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाका विज्ञहरूसमेत बोलाएर संसदीय समितिले आज छलफल गरेको हो ।

सीसीटीभीबाट डिलिट भएको १४ जेठ रातिको फुटेज रिकभर भए पनि यसका दृश्यहरू प्रस्ट नदेखिएपछि समितिले विज्ञहरू बोलाएको थियो ।

मंगलबार अपरान्ह भएको बैठकमा समितिका सदस्यहरुले विज्ञहरुलाई भिडियो क्वालिटी किन यस्तो ? भनी सोधका थिए । सांसदहरुले भिडियो कहिलेको हो ? डेट पनि नदेखिने, अनि किन ५१ क्लिप एउटै (मुभी जस्तो सरर देखिने) हुन्न ? भनी प्रश्न सोधेको एक सांसदले नेपाल प्रेसलाई बताएका छन् ।

विज्ञहरुले भने प्रावधिक विषय, सिस्टम चेक धेरै ठाउँ भएको लगायतका कारण यस्तो भएको जवाफ दिएको ति सांसदले भने ।

समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले प्रस्ट नभएका कुराहरूमा विज्ञहरूले आफ्नो राय दिएको बताए ।

सीसीटीभीमा के देखियो भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘सीसीटीभीले जे देखाउनुपर्ने देखायो । अब सबै कुरा प्रतिवेदनमै आउँछ ।’

अर्यालका अनुसार भोलि बिहान ११ बजे समितिको बैठक बसेर प्रतिवेदन लेख्न थालिने छ । साथै छलफललाई पनि निरन्तरता दिइने उनले बताएका छन् ।

सीसीटीभी फुटेज मात्र नभएर अनुसन्धानका अरू सबै माध्यमहरूका आधारमा निचोडमा पुगिने अर्यालले बताए ।

‘तपाईँहरू सीसीटीभीलाई मात्र जोड दिइरहनुभएको छ, तर यो मात्रै सबै थोक होइन,’ उनले भने, ‘हामीसँग सत्य तथ्यमा पुग्न अरू पनि औजार छन् ।’

स्रोतका अनुसार सीसीटभी फुटेजले ‘दूधको दूध पानीको पानी’ हुन सकेको छैन । अब प्रतिवेदन लेख्दा समिति सदस्यहरूबिच राय बाझिन सक्ने सम्भावना रहेको छ ।

समितिले दिने निष्कर्षका सम्बन्धमा सत्तारुढ दलहरू र प्रतिपक्षी दल एमालेका सांसदहरूबिच मतभेद हुन सक्ने स्रोतको दाबी छ । अब फेरि म्याद नथप्नेमा भने समितिका सबै सदस्यहरू सहमत छन् ।

समितिलाई सुरुमा १० दिनको म्याद दिइएकोमा पछि सात दिन थपिएको थियो । थपिएको म्याद गुज्रिन पनि अब दुई दिन मात्रै बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *