बलिउडमा रणवीरअघि क–कसले गरेका थिए न्यूड फोटोसुट ? – Nepal Press

बलिउडमा रणवीरअघि क–कसले गरेका थिए न्यूड फोटोसुट ?

काठमाडौं । जुलाई २२, २०२२ मा भारतका चर्चित अभिनेता रणवीर सिंहले प्रसिद्ध ‘पेपर म्यागेजिन’ का लागी गरेको नग्न फोटोशूटहरु सार्वजनिक भएपछि अहिले भारतीय मिडियाहरूमा एक किसिमको भुइँचालो आएको छ ।

रणवीरको उक्त नग्न फोटोसुटका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएपछि र उनको चौतर्फी ट्रोल बन्न थालेका छन् । त्यसपछि उनले उनले पेपर म्यागेजिनलाई एक अन्तर्वार्तासमेत दिएका थिए। सो अन्तर्वार्तामा उनले भनेका छन् , ‘शारीरिक रूपमा नग्न हुनु मेरो लागि कुनै ठूलो कुरा होइन । मलाई हजारौँ मानिसको अगाडि नग्न हुनु पनि केही जस्तो लाग्दैन । मलाई त्यो रूपमा हेरेर अरू कसैलाई अप्ठ्यारो लाग्छ भने त्यो उनीहरूको समस्या हो।’

हाल उनको ‘न्यूड’ फोटोशुटको विरोध गर्दै मुम्बईको चेम्बुर पुलिस स्टेसनमा उजुरीसमेत परेको छ। महिला संवेदनाको अपमान गरेको भन्दै एक गैर सरकारी संस्थाले रणवीरविरुद्ध उजुरी गरेको हो ।

उनको उक्त तस्बिरहरू साझा भएपछि धेरैले रणवीर त्यसरी नग्न फोटोसुट गर्ने पहिलो भारतीय व्यक्ति भएको दाबी गरिरहेका छन् । तर उनी अघि पनि अरू धेरै भारतीय कलाकारहरूले यस्ता खालका नग्न फोटोसुटहरु गरिसकेका छन् । जसमध्ये आज हामी पाँच त्यस्ता फोटोसुट गर्ने भारतीय कलाकारहरूको चर्चा गर्नेछौँ –

१. मिलिन्द सोमनको नग्न फोटोसुट

चर्चित अभिनेता मिलिन्द सोमन अझै पनि भारतीय फिल्म उद्योगका चर्चित अभिनेता मध्येका एक हुन् । उनी आफ्नो असाधारण फेसन सेन्स र फिटनेसको लागि प्रसिद्ध छन् ।

प्रेम र विवाहको बारेमा उनको बोल्ड दर्शन र खुला विचारका बारेमा सबैलाई थाहा भएता पनि उनले तीन पटक क्यामेराको अगाडि नग्न भएर फोटोसुट गरेको भने कुरा धेरैलाई थाहा छैन ।

मिलिन्द सोमनले सन् १९९५ मा पहिलो पटक क्यामेराको अगाडि जुत्ताको विज्ञापनको नग्न फोटोसुट गरेका थिए । उक्त तस्बिरमा उनी भारतीय सुपर मोडल मधु सप्रेसँग सर्पमा बेरिएर पोज दिइरहेका देख्न सकिन्छ।

दोस्रो पटक मिलिन्दले दिल्लीको प्रख्यात रिजमा नग्न फोटोसुट गरेका थिए। त्यो समय उनको तस्बिर भन्दा पनि उनको शरीर र कपालको धेरै चर्चा भएको थियो । यद्यपि धेरै दर्शकहरू र सेलिब्रेटीहरूले सोमनले उनको तस्बिरमार्फत मानिसहरूलाई अश्लीलता र कलाबीचको महत्त्वपूर्ण भिन्नता बुझाउने काम गरेको भन्दै उनी सम्मान र प्रशंसाको हकदार भएको दाबी गरे।

४ नोभेम्बर, २०२० मा मिलिन्द सोमन जब ५५ वर्षको पुगे तब उनले आफ्नो जन्मदिनको अवसरमा आफैँलाई शुभकामना दिँदै आफ्नो इन्स्टाग्राम ह्यान्डलमार्फत एक तस्बिर साझा गरेका थिए । तस्बिरमा चर्चित अभिनेता तथा मोडल पूर्ण नग्न भएर समुद्र तटमा दौडिरहेको देख्न सकिन्छ । उक्त तस्बिर केही समयमै सामाजिक सञ्जालमा भाइरल भयो । भाइरल भएको सो तस्बिरले उनको बोल्ड चालबाट मानिसहरूलाई प्रेरणा मिलेको भन्ने खालका प्रशंसा बटुल्न सफल भएको थियो ।

२. पूजा बेदीको कन्डमको विज्ञापन

पूजा बेदी ९० को दशककी भारतीय फिल्म उद्योगको होनहार अभिनेत्री मध्येकी एक हुन । सन् १९९१ मा उनले गरेको कामुक कन्डमको विज्ञापनले उनलाई झन् रातारात चर्चित बनायो । सो विज्ञापनले भारतमा एक किसिमको यौन क्रान्ति नै ल्यायो । तर धेरै कामुकता झल्काउने तस्बिर भएकाले गर्दा रिलिज भएको केही महिनामा नै पूजा बेदीको उक्त कन्डमको विज्ञापनमा प्रतिबन्ध लगाइएको थियो ।

३. सपना भवनानीको ‘पेटा’ को लागि नग्न फोटोशूट

चर्चित सेलिब्रेटी हेयरस्टाइलिस्ट सपना भवनानी दशकौंदेखि आफ्नो बोल्ड स्टाइलहरूले दर्शकमाझ आफ्नो छाप छोड्न माहिर छिन् । यही क्रममा उनले पेटा (से नो टु लेदर एण्ड फर) को एक अभियानका लागि नग्न फोटोशूट गरेकी थिइन् जसले भारतीय मिडियामा ठूलो विवाद सिर्जना गरेको थियो ।

४. शर्लिन चोर्पाको कामसूत्र थ्रीडीको सेटको नग्न तस्बिर

शर्लिन चोपडा भारतकी सबैभन्दा बोल्ड अभिनेत्री हुन् भन्दा खासै फरक पर्दैन । हामीले उनलाई धेरै चलचित्रहरूमा कामुक दृश्यहरू गरेको देखेका पनि छौ ।

शर्लिनले पहिलो पटक आफ्नो एडल्ट फिल्म ‘कामसूत्र थ्रीडी’ को सेटमा खिचेको आफ्नो नग्न तस्बिर अपलोड गरी आफूलाई समाचारको हेडलाइन्स बनाएकी थिइन् ।

सार्वजनिक भएको केही समयमा नै उक्त तस्बिर इन्टरनेटमा भाइरल भएको थियो । तस्बिरमा शर्लिनलाई क्यामेराको अगाडि नग्न अवस्थामा कुर्सीमा बसेर कफी खाइरहेको देख्न सकिन्छ ।

तस्बिर साझा भएपश्चात् उनलाई धेरैले नकारात्मक टिप्पणीहरू गरे । यद्यपि, शर्लिनले नकारात्मक टिप्पणीहरूमा कुनै ध्यान नदिई आफ्नो फिल्म कामसूत्र थ्रीडीमा केन्द्रित भएर लागिन् । जुलाई २०१२ मा चोपडा प्लेब्वाय म्यागेजिनको लागि नग्न पोज दिने पहिलो भारतीय महिला समेत बनेकी थिइन् तर उनको सो तस्बिरहरू भने दुई वर्ष पछि मात्र साझा गरिएको थियो।

५. ‘पीके’ मा आमिर खानको नग्न तस्बिर

बलिउडका परफेक्शनिस्ट आमिर खानले पनि आफ्नो ब्लकबस्टर फिल्म ‘पीके’ का लागि नग्न तस्बिर खिचाएका थिए । फिल्म रिलिज हुनु अघि आफ्नो नग्न अवतारलाई फिल्मको आधिकारिक पोस्टको रूपमा राख्ने छनौट गररे आमिरले हेडलाइन सँगसँगै सबैको ध्यान खिच्न सफल भएका थिए । पोस्टरमा आमिरलाई परम्परागत रेडियोले आफ्नो प्राइभेट पार्ट्स लुकाएर उभिएको देख्न सकिन्छ । सो पोष्टर साझा भएपछि धेरैले चित्त दुखाएका थिए । तर अधिकतम प्रतिक्रियाहरू सकारात्मक आएपछि सो कुरा त्यतिकै सेलाउँदै गयो । यो प्रयास आमिर र फिल्म निर्देशक राजकुमार हिरानीको लागि एक मास्टरस्ट्रोक थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *