सदाबहार अभिनेताको विकास बोर्डमा इन्ट्रीः चलचित्र क्षेत्रमा ल्याउलान् बहार ? – Nepal Press

सदाबहार अभिनेताको विकास बोर्डमा इन्ट्रीः चलचित्र क्षेत्रमा ल्याउलान् बहार ?

काठमाडौं । चार दशकभन्दा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय अभिनेता भुवन केसीले लामो प्रयासपछि अन्ततः चलचित्र विकास बोर्डको बागडोर पाएका छन् । हिजो बसेको मन्त्रिपरिषद बैठकले केसीलाई विकास बोर्ड अध्यक्ष बनाउने निर्णय गरेको हो ।

सूचना तथा सञ्चार मन्त्रालयले तीन जनाको नाम बोर्ड अध्यक्षका लागि क्याबिनेटमा पठाएको थियो । भुवनसहित नरेशकुमार पौडेल र सुस्मा कार्की मन्त्रालयको सिफारिसमा परेका थिए । उनीहरुमध्ये भुवनलाई बोर्ड अध्यक्षमा चयन गरिएको खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालप्रेसलाई जानकारी दिए ।

दयाराम दाहालको दुई वर्षे कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले गत असार १५ गते सूचना प्रकाशित गर्दै बोर्ड अध्यक्षका लागि आवेदन मागेको थियो । विभिन्न मापदण्ड तोक्दै मागिएको आवेदनमा १० जनाले दरखास्त दिएका थिए ।

भुवनसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशील पोखरेल र सुस्मा कार्कीले दरखास्त दिएका थिए । अरु नौ जनालाई पन्छाएर भुवनले बाजी मारेका छन् ।

चलचित्र विकास बोर्ड नेपाली चलचित्र क्षेत्रकै अभिभावक तथा नियमनकारी संस्था हो । त्यसैले धेरै चलचित्रकर्मीहरु बोर्डमा जान मरिहत्ते गर्छन् । तर, बोर्ड अध्यक्ष हुन प्रधानमन्त्रीदेखि सञ्चारमन्त्री र उनको पार्टीलाई समेत खुशी बनाउनुपर्ने अवस्था छ । भुवनले पनि राजनीतिक लविङ गरेरै यो पद हासिल गरेका हुन् ।

अघिल्लो पटक नै उनले बोर्डमा जान प्रयास गरेका थिए । केपी ओलीको सरकारका पालामा उनको प्रयास खेर गयो । यसबाट निराश उनी गत वैशाखमा कांग्रेस प्रवेश गरे । बोर्ड अध्यक्ष बनाउने शर्तमा केसी कांग्रेसमा गएको चर्चा त्यतिखेर भएको थियो । तर, केसीले आफू पदको बार्गेनिङ गरेर नगएको बताएका छन् ।

पार्टीको फेरो समातेर जानु गलत भए पनि भुवन केसी चलचित्र बोर्ड अध्यक्षका निम्ति ‘डिजर्भिङ’ व्यक्ति नै हुन् । उनले नायक वा अभिनेताका रुपमा नभएर निर्माताका रुपमा पनि चलचित्रमा योगदान दिएका छन् । उनी नेपाली चलचित्रका पहिलो सुपरस्टार मानिन्छन् । रोमान्स किङदेखि सदाबहार अभिनेतासम्मको उपमा उनलाई प्राप्त छ ।

२०३७ सालमा बनेको ‘जूनी’ चलचित्रबाट भुवनको नेपाली चलचित्रमा इन्ट्री भएको थियो । त्यसको एक वर्षपछि निर्माण भएको ‘सम्झना’ चलचित्रबाट उनले पहिलो सफलताको स्वाद चाखे । सम्झना सुपरहिट भएपछि भुवनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।

नेपालमा सबैभन्दा बढी हिट फिल्म दिने नायकको कुरा गर्दा भुवन अग्रस्थानमा आउँछन् । कुसुमेरुमाल, सन्तान, कन्यादान, चिनो, दुई थोपा आँसु, दक्षिणा, सपना, करोडपति लगायतका उत्कृष्ट र ब्लकबस्टर चलचित्रहरु उनले दिएका छन् । संख्यात्मक रुपमा राजेश हमालले भुवनभन्दा कैयौं गुणा धेरै चलचित्र खेले पनि सफल र सम्झनलायक चलचित्र भुवनका धेरै छन् ।

सपना चलचित्रमार्फत भुवन पहिलोपटक निर्माणमा होमिएका थिए । उक्त चलचित्र हिट भएको थियो । नेपाली चलचित्र खराब अवस्थाबाट गुज्रिरहेको बेला भुवनले करोडपति निर्माण गरे । यसमा पनि उनी सफल भए । करोडपतिले संकटग्रस्त अवस्थामा रहेको नेपाली चलचित्रलाई बौरिन मद्दत गरेको थियो ।

भुवन आफूमात्र होइन, श्रीमती र छोरालाई पनि चलचित्रमा प्रवेश गराए । उनले आफैं निर्माण गरेको चलचित्रमा पत्नी सुस्मिता बम्जनलाई नायिका बनाएका थिए । भुवनका छोरा अनमोल केसी अहिले नेपाली चलचित्र क्षेत्रका सर्वाधिक सफल र महंगा स्टार हुन् ।

भुवन केसीको व्यक्तिगत र पारिवारिक जीवन भने विवादित रह्यो । उनले पहिलो पत्नी विजया केसीसँग डिभोर्सपछि सुस्मितासँग दोस्रो विवाह गरेका थिए । तर, यो विवाह पनि उनले टिकाउन सकेनन् । सुस्मितासँग पनि डिभोर्सपछि भुवन अहिले जिया केसीसँग लिभिङ टुगेदरमा छन् । चलचित्र क्षेत्र र बाहिरका विभिन्न युवतीहरुसँग भुवनको नाम जोडिने गरेको थियो ।

विकास बोर्डको अध्यक्षमा नियुक्त भएसँगै भुवनसामु ठूलो अवसर र चुनौती खडा छन् । उनले समग्र नेपाली चलचित्रको नेतृत्व गर्ने अवसर पाएका छन् । आफूलाई प्रमाणित गरेर देखाउने चुनौती पनि छ । चार दशकसम्म चलचित्र क्षेत्रमा काम गरेर हासिल गरेको अनुभव उनले अब बोर्डमा खन्याउन सक्छन् ।

अहिले नेपाली चलचित्रको सबैभन्दा ठूलो बाधा भनेको विदेशी चलचित्रको दबदबा हो । बिग बजेटमा बन्ने भारतीय र दक्षिण भारतीय चलचित्रहरुका कारण नेपाली चलचित्रले हल पाउनै गाह्रो पर्ने अवस्था छ । पाइहाले पनि दर्शक तान्न सक्दैनन् । राम्रा भनिएका चलचित्रहरु पनि भटाभट फ्लप भइरहेका छन् । भुवनको सबैभन्दा पहिलो र ठूलो चुनौती भनेकै विदेशी चलचित्रको बेलगाम आयात नियन्त्रण गर्नु हो ।

व्यापार घाटा कम गर्ने भन्दै विभिन्न वस्तुहरुको उत्पादनमा संकुचन गर्ने नीति लिएको सरकारले चलचित्रमा ध्यान दिएको छैन । तर, चलचित्रमार्फत पनि बर्सेनि अर्बौं रकम विदेशिने गरेको छ । चलचित्रसँगै भित्रिने विदेशी संस्कृतिले नेपाली समाजलाई विकृतितर्फ धकेलिरहेको छ । त्यसैले भुवनले सबैभन्दा पहिले निश्चित संख्यामा मात्रै विदेशी चलचित्रहरु चलाउन पाउने गरी कोटा निर्धारण गर्नु अत्यावश्यक छ । यसका निम्ति सरकारलाई पनि विश्वासमा लिएर उनले काम गर्नुपर्ने हुन्छ ।

यस्तै, नेपालमा बनेका चलचित्रलाई अन्तर्राष्ट्रिय बजार खोज्न पनि भुवनको प्रयास अपेक्षित छ । नेपाली बजारबाट मात्रै नेपाली चलचित्र धानिनसक्ने अवस्था नरहेकाले अन्य देशका बजार खोज्न विकास बोर्डमार्फत उनले पहलकदमी लिनुपर्नेछ ।

भुवन आफ्नो जिम्मेवारीमा कति खरो उत्रिनेछन्, त्यसका लागि प्रतीक्षा नै गर्नुपर्छ । अहिले चाहिँ उनलाई सफल कार्यकालका निम्ति शुभकामना दिउँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *