‘छक्कापञ्जा-४’ मा बाहिरिए जितु, शुभमुर्हूतमा पुगेर दिए शुभकामना – Nepal Press

‘छक्कापञ्जा-४’ मा बाहिरिए जितु, शुभमुर्हूतमा पुगेर दिए शुभकामना

काठमाडौं । तेस्रो संस्करणसम्म चलचित्रमा हास्य पात्रका रूपमा देखिएका हास्य कलाकार जितु नेपाल ‘छक्का पञ्जा ४’ मा नदेखिने भएका छन् । चलचित्रमा आफू नभएता पनि टिमलाई शुभकामना दिन सोमबार जितु फूल लिएर भक्तपुर पुगेका थिए ।

आमा सरस्वती मुभिजको ब्यानरमा बन्न लागेको चलचित्र ‘छक्का पञ्जा ४’ को सोमबार सूर्य विनायक मन्दिर, भक्तपुरमा घोषणा तथा शुभमुर्हूत कार्यक्रम सम्पन्न भएको थियो ।

दीपाश्री निरौला र जितु नेपालबिच भएको आपसी मनमुटाबका कारण सायद जितु यो भागमा नभएको हुनसक्ने धेरैको अनुमान छ ।

चौथो संस्करणमा जितु नहुनु बारे दीपकराज गिरी भन्छन्, ‘अब सबैले यहीँ प्रश्न गर्नुहुन्छ जुन स्वाभाविक हो । आपसी दुस्मनी वा मनमुटाब भएर जितु यो भागमा नभएका हैनन् । मनमुटाब भएको भए उहाँ यहाँसम्म शुभकामना दिन पनि आउनु हुन्न थियो । आफैँ विचार गर्नुहोस् कि हामीले सबै भागमा एउटै कलाकार दोहोर्‍याएका छैनौँ । कथाले कुन पात्र माग्छ कुन माग्दैन भन्ने पनि हुन्छ । मुख्य कुरा त हामी सेटमा भेटिँदा वा चलचित्र गर्दा मात्र ओहो भन्ने मित्र होइनौँ । हामी चाहे सँगै काम गरौँ या नगरौँ तर सधैँ सँगै नै हुन्छौँ ।’

घोषणा गरिएको सो चलचित्र २०१६ मा बनेको ब्लकबस्टर हास्य चलचित्र ‘छक्का पञ्जा’ को चौथो संस्करण हो ।

तेस्रो सिरिजसम्म चलचित्रलाई निर्देशक तथा निर्मात्री दीपाश्री निरौलाले निर्देशन तथा निर्माण गरेकी थिइन् । तर यो चौथो संस्करणलाई भने निर्देशक हेमराज बिसीले निर्देशन गर्ने भएका छन् ।

चलचित्रमा कलाकारहरू दीपकराज गिरी, दीपाश्री निरौला, राज आचार्य, बेनिशा हमाल, मलिना जोशी र केदार घिमिरे (माग्ने बूढा) अनुबन्धित भइसकेका छन् । चलचित्र यसै असोज महिनामा रिलिज हुने निर्माण टिमको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *