प्रहरीको दाबी- यसकारण गायिका दिलमायाको हत्या – Nepal Press

प्रहरीको दाबी- यसकारण गायिका दिलमायाको हत्या

काठमाडौं । रहस्यमय तरिकाले मृत फेला परेकी लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या नै भएको निष्कर्षमा प्रहरी पुगेको छ । प्रहरीले सुनारको हत्या अभियोगमा मुद्दा चलाउन राय दिएकोमा जिल्ला सरकारी वकिल कार्यालयले त्यसैबमोजिम अदालतमा मुद्दा दायर गरेको छ ।

दिलमायाका प्रेमी भनिएका सूर्य भनिने खिलबहादुर श्रेष्ठविरुद्ध जन्मकैद माग गर्दै अभियोगपत्र दर्ता भएको छ । असार ११ गते दिलमाया काठमाडौंको नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी थिइन् । त्यसपछि असार १० गते राति दिलमायासँगै सुतेका श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो । श्रेष्ठले मध्यरातमा दिलमाया झुन्डिरहेको देखेपछि खाटमा झारेर आफू निस्किएको भन्दै हत्या आरोप अस्वीकार गरेका छन् ।

यता पोस्टमार्टम रिपोर्टले पनि दिलमायाको झुन्डिएर ज्यान गएको तथा शरीरका बाहिरी र भित्री भागमा कुनै चोटपटक नरहेको देखाएको छ । यद्यपि प्रहरी श्रेष्ठले दिलमायाको हत्या नै गरेको निष्कर्षमा पुगेको छ ।

प्रहरीले अनुसन्धान प्रतिवेदनमा श्रेष्ठले नै हत्या गरेको हो भन्ने किसिमले केही आधारहरु देखाएको छ । विवाहित श्रेष्ठ परिवारसहित गोठाटारमा सुनचाँदी व्यवसायी गर्दै आएका थिए ।

प्रहरीका अनुसार लोकदोहोरीमा काम गर्ने दिलमाया लामो समयदेखि त्यसमा जान छाडेकी थिइन् । श्रेष्ठले बाहिर निस्कन नदिएको र आफूसँग समेत लिएर हिँड्न नमान्ने गरेको प्रहरीको दाबी छ ।

यस्तै श्रेष्ठले दिलमाया झुन्डिएको बताए पनि दिलमाया लडेको अवस्थामा भेटिनु र उनी राति नै भाग्नुलाई पनि शंकास्पद मानेको छ । दिलमायाले झुन्डिन प्रयोग गरेको भनिएको सल लुकाउनुलाई पनि प्रहरीले श्रेष्ठले हत्या गरेको आधार मानेको छ ।

यस्तै त्यस रात १ बजे दिलमायाको फेसबुक अकाउन्टमा लेखिएको सुसाइड नोटजस्तो स्टाटस सूर्य आफैले लेखेको हुनसक्ने र दिलमायाको मोबाइल अझैसम्म नभेटिनुले उनको हत्या नै भएको निष्कर्ष प्रहरीले निकालेको हो ।

सुर्खेत स्थायी घर भएकी दिलमायाको करिब १० वर्षअघि श्रीमानसँग सम्बन्धबिच्छेद भएको थियो । त्यसपछि केही वर्ष खाडीमा काम गरेर उनी नेपाल फर्कीएकी थिइन् । त्यसपछि काठमाडौंका दोहोरी साँझहरुमा उनले दोहोरी गाउने गरेकी थिइन् ।

लकडाउनका समयमा चरम आर्थिक संकटमा पुगेकी दिलमायाले यसअघि एकपटक विष सेवन गरेर आत्महत्याको प्रयास पनि गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *