पुबुदुकाे निरश दाेस्राे इनिङ– १४ ओडीआइमा ९ हार – Nepal Press

पुबुदुकाे निरश दाेस्राे इनिङ– १४ ओडीआइमा ९ हार

काठमाडौं । समय यस्तो पनि थियो कि राष्ट्रिय टोलीका तत्कालीन कप्तान पारस खड्कासहित ज्ञानेन्द्र मल्लहरु पुबुदु दासानायकेलाई नै प्रशिक्षकमा निरन्तरता दिइनुपर्ने अडान राख्थे । त्यतिबेला क्यानडामा रहेका पुबुदु नेपाल फर्कने नफर्कने निश्चित थिएन ।

लगातार नेपाललाई सफलता दिलाइरहेका पुबुदु खेलाडीको रोजाइमा पर्नु अस्वभाविक थिएन । तर यही कारण उनीहरुको खुबै आलोचना पनि भयो । सरकारले पछि खेलाडीको आग्रहलाई सम्मान गर्दै आफैँले खर्च व्यहोर्ने गरि पुबुदुलाई नेपाल बोलाएको थियो ।

नेपाल क्रिकेट संघ–क्यानका तत्कालीन पदाधिकारी र खेलाडीबीच मनमुटाव चर्किरहेका बेला सन् २०१५ को अन्त्यतिर पुबुदुले नेपालको प्रशिक्षकबाट विदा हुने निर्णयमा पुगेका थिए ।

त्यतिबेला क्यानका तत्कालीन पदाधिकारीसँग पुबुदुको सम्बन्ध पनि राम्रो भइरहेको थिएन । प्रशिक्षकको निर्णयले नेपाली टोलीका तत्कालीन सदस्यहरु विल्कुल खुशी थिइएनन् ।

त्यसअघि प्रशिक्षकका रुपमा उनको चार वर्षभन्दा लामो कार्यकाल नेपाली क्रिकेटका लागि स्वर्णिम रहेको थियो । नेपाल वर्ल्ड क्रिकेट लिग डिभिजन फाइभदेखि डिभिजन वनका रुपमा खेलिने वर्ल्ड क्रिकेट लिग च्याम्पयनसिप खेल्नेस्तरसम्म पुगेको थियो । पहिलोपटक टी–२० विश्वकप खेल्यो । हरेक वर्ष अन्तर्राष्ट्रिय उपाधिहरु नेपाल भित्रिए ।

बुधबार राजिनामा दिएर दोस्रो कार्यकाल ६ महिनामै टुंगिएको घोषणा गरिरहँदा पुबुदुको मुद्रामा त्यस्तो कुनै बदलाव थिएन । उनले यस्तो परिस्थितिमा यो निर्णय लिएका छन् कि नेपाली टोलीभित्र युनिटी विल्कुल भंग रहेको स्वंय खेलाडीहरु अनौपचारिक कुराकानीमा बताउँछन् ।

गत माघमा पुबुदु यस्तो स्थितिमा नेपाल आइपुगेका थिए जतिबेला राष्ट्रिय टोलीका अधिकांश सिनियर सदस्यहरु आन्दोलनमा थिए । अनुशासन कारवाही गरेर ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाइएको विषयमा खेलाडीको चरम असन्तुष्टी देखिइरहेको थियो ।

नयाँ कप्तान सन्दीप लामिछानेलाई घोषणा गरिएको थियो तर पुबुदुको आगमनसँगै सबै कुरा मिलेजस्तै भयो । सन्दीप कप्तानमै कायम रहे, ज्ञानेन्द्र र दीपेन्द्रहरु टिममा फर्कन सहमत भए ।

तर टिमभित्रको माहोल बिग्रिएको र प्रदर्शनमा प्रभाव परेको भन्दै टी–२० विश्वकपको एसिया छनोट र विश्वकप लिग–२ अन्तर्गत यूएई भ्रमणपछि ज्ञानेन्द्रलाई टिममै राख्न छाडियो ।

खेलाडीसँग लामो समयदेखि चल्दै आएको विवादमा क्यानले यसपटक पुबुदुको काँधमा राखेर बन्दुक पड्काएको र विरोधको मुख बन्द गराएको टिप्पणीसमेत यसबीचमा हुने गरेको थियो ।

यता टिमले अपेक्षित नतिजा ल्याउन नसकिरहेका बेला कप्तान सन्दीपले बारम्बार सामाजिक सन्जालहरुमा असन्तुष्टी पोख्ने गरेका छन् । आफूले सहयोग नपाएको आशयका स्टाटसहरु उनको देखिने गरेका छन् । खासगरी ज्ञानेन्द्रको अस्वभाविक बहिर्गमनलाई लिएर स्वंय पुबुदु र क्यानको आलोचना हुने गरेको छ ।

अर्कोतर्फ अनुकुल नतिजा नआउँदा दबाब बढ्दो थियो । हुन पनि पुबुदुको दोस्रो कार्यकालमा नेपालले खेलेका १४ एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा ९ हार, ४ जित र एक बराबरीको नतिजा निकाल्यो । यसले नेपालको एक दिवसीय विश्वकप छनोट र एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताको निरन्तरता जोखिममा देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *