छानबिन समितिसँग पत्रकारद्वयले भने: हामीसँग प्रमाण छ, तर दिन मिल्दैन – Nepal Press

छानबिन समितिसँग पत्रकारद्वयले भने: हामीसँग प्रमाण छ, तर दिन मिल्दैन

काठमाडौं । अर्थमन्त्रीमाथि छानबिन गर्न गठित संसदीय समितिले अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत दुई पत्रकारसँग सोधपुछ गरेको छ । आज सिंहदरबारमा भएको बैठकमा उनीहरुलाई बोलाएर समितिले सोधपुछ गरेको हो ।

समितिका सदस्यहरुले पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापासँग करिब साढे दुई घन्टा कुराकानी गरेका थिए । उनीहरुको प्रश्नमा दुवै पत्रकारले आफूहरु समाचारको विश्वसनीयतामा निर्धक्क रहेको बताएका छन् । तर, उनीहरुले समाचारको स्रोत नखोल्ने बताए ।

‘हामी आफ्नो समाचार स्रोतप्रति पूर्ण विश्वस्त छौं । तर, पत्रकारिताको मान्यताअनुसार हामीले आफ्नो स्रोतलाई जोगाउनुपर्छ । त्यसैले स्रोत खोल्न असमर्थ छौं’, पत्रकारद्वयको भनाइ थियो ।

समितिका सदस्यहरुले पत्रकारद्वयलाई समाचारको स्रोत खोल्न थप दबाब भने दिएनन् । उनीहरु आफूले गलत समाचार लेखेको महसुस भएको छ कि छैन भनेर सोधेका थिए । पत्रकारहरुले त्यस्तो महसुस नगरेको बताए ।

बयानपश्चात नेपालप्रेससँग कुरा गर्दै पत्रकार थापाले आफूहरुसँग समाचार स्रोतका अलावा अर्थमन्त्रीविरुद्ध अन्य प्रमाणहरु पनि भएको बताइन् ।

‘जेठ १४ गते राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको घुसपैठ भएको यथेष्ट प्रमाण पाएपछि नै समाचार लेखेका हौं । तर, प्रमाण सार्वजनिक गर्न मिल्दैन’, उनले भनिन् । समितिलाई पनि यही भनेको थापाले बताइन् ।

काफ्ले र थापाको बाइलाइनमा अन्नपूर्ण पोष्टमा पहिलोपटक अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार प्रकाशित भएको थियो । सोही समाचारबाट उत्पन्न भएको विवादपछि अर्थमन्त्री जनार्दन शर्मा राजीनामा दिन बाध्य भएका थिए । अन्नपूर्ण पोष्टले अहिलेसम्म समाचार पुष्टि हुने कुनै प्रमाण भने सार्वजनिक गरेको छैन ।

समितिले कान्तिपुर दैनिकका पत्रकारसँग पनि सोधपुछ गर्न चाहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *