अनिलको देउडा गीत ‘रेलिमोई’ मा इटालियन मोडेल मार्गोस तटेला – Nepal Press

अनिलको देउडा गीत ‘रेलिमोई’ मा इटालियन मोडेल मार्गोस तटेला

काठमाडौं । ‘आई लभ यू’, ‘प्रेमपत्र’, ‘डुब्न देउ’, ‘इञ्जिन गाडीमा’, ‘प्रेमिका’, ‘मैले जानिसके’ लगायतका दर्जन बढी सुपरहिट गीतका गायक अनिल सिंहले देउडा गीत ‘रेलिमोई’ ल्याएका छन् । आफ्नै म्युजिक च्यानल म्युजिक स्टेटमार्फत उनले गीत सार्वजनिक गरेका हुन् ।

पप गीतबाट नाम कमाएका अनिलले यसपटक देउडा गीत ल्याएका हुन् । आफ्नै संगीत र स्वर रहेको गीतको भिडियोमा उनी स्वयम् फिचर्ड छन् । सार्वजनिक गीतमा रिदमराज जोशीको शब्द रहेको छ ।

सप्तरङ्ग नामक सांगीतिक टुरमा रहँदा अनिललाई देउडा गीत गाउने प्रस्ताव आएको थियो । त्यहाँ रिदमसँग यशराजमार्फत भेट भएपछि उनले धुनलाई कम्पोज गरेर गीत तयार गरेका हुन् ।

गीतमा अनिलसँगै इटालियन मोडेल मार्गोस तटेला र निर्मल सिग्देल फिचर्ड छन् । गीतको भिडिओमा सीजीआई, भीएफएक्स र कलाकार करेक्सन सुवोध पाण्डेको रहेको छ । यसलाई म्युजिक स्टेटले छायांकन, सम्पादन र निर्देशन गरेको हो ।

अनिलले गाएका गीतसंगीतमा नझुम्ने कमै थिए । अहिले पनि स्टेज कार्यक्रममा सक्रिय अनिलको कन्सर्टमा गाउने गीत र झुम्ने दर्शकको कमी छैन । आफै गाउने र कम्पोज गर्ने भएकाले पनि अनिलको छुटै फ्यान फलोअर्स छन् ।

उनले आफ्नो सफल गीत इञ्जिन गाडीमा २ र आई लभ यु २ गीत छिट्टै दर्शकसमक्ष ल्याउँदैछन् । उनले आफ्नो हिट गीतहरुको नयाँ सिर्जनालाई ‘द ग्रेट हार्मोनिस्ट २’ एल्बममा संगृहीत गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *