‘सम्झना-बिर्सना’को बिर्सनलायक व्यापार, तीन दिनमै हलबाट उत्रेपछि पूजा-आकाशको स्टारडममा प्रश्न – Nepal Press

‘सम्झना-बिर्सना’को बिर्सनलायक व्यापार, तीन दिनमै हलबाट उत्रेपछि पूजा-आकाशको स्टारडममा प्रश्न

काठमाडौं । पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित चलचित्र ‘सम्झना बिर्सना’ रिलिज भएको तीन दिनमै हलबाट उत्रेको छ । भदौ ३१ बाट देशभर एकसाथ रिलिज भएको यो चलचित्रले नेपाली बजारमा तहल्का पिट्ने अनुमान थियो । तर, रिलिज भएको केही दिनमै हलबाट फिल्म उत्रिन थालेपछि नम्बर वान कहलिएकी नायिका पूजा शर्माको स्टारडममाथि नै प्रश्न उठेको छ ।

पहिलो र दोस्रो दिन न्यून व्यापार गरेको चलचित्रले तेस्रो दिनदेखि खासै व्यापार गर्न सकेन । पूजा भएपछि जस्तोसुकै चलचित्र र म्युजिक भिडियो पनि चल्छ भन्ने सोचले अहिले प्रायः निर्माताहरुबीच उनलाई लिने होडबाजी नै चलेको छ । जस्तोस्तरको फिल्म बनाए तापनि चल्तीका कलाकार राखे चलचित्र चल्छ भन्ने सोच राख्ने निर्देशक र निर्माताको लागि यो चलचित्र एउटा झापड बनेको छ ।

यस्तै आशा राखेर बसेका ‘सम्झना बिर्सना’ चलचित्रको निर्माण टीम चलचित्र नचलेपछि ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भने झैं भएर बस्नुपरेको छ ।

केही समय अगाड रिलिज भएको चलचित्र ‘कबड्डी ४’ ले अहिलेसम्मकै सबैभन्दा धेरै शो पाएर नेपाली सिने जगतमा इतिहास रचेको थियो । चलचित्र ५१ दिन मनाउन सफल भएको छ ‘कबड्डी ४’ले २८ दिनमा २२ करोड ४७ लाख रुपैयाँ ग्रस कमाएर सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान राखेको छ ।

तर, ‘सम्झना बिर्सना’ लाई भने करोड क्लबमा पस्न पनि धौधौ परिरहेको छ । कति हलबाट यो चलचित्र उत्रिसक्यो भने कति हलमा उत्रिने क्रम जारी छ । फिल्मले ५ दिनमा मात्र ५१ लाखको ग्रस कलेक्सन गरेको छ ।

चलचित्रको प्रोमोशनको लागि भनेर केही साताअघि देखि नै निर्माण टीम प्रचारप्रसार कार्यक्रममा दौडिरहेको थियो । प्रोमोशनको समयदेखि नै पूजाले आफूहरुलाई साथ नदिएको भन्दै निर्माण टीमले गुनासो व्यक्त गर्दै आएका थिए । रिलिज भइसकेपछि शर्मा ‘सम्झना बिर्सना’ लाई छाडेर आफ्नो ब्यानरको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को लागि अष्ट्रेलिया उडेकी थिइन् । यसबाट निर्माण टीम खिस्रिक्क पर्नुबाहेक अरु कुनै विकल्प रहेन ।

चलचित्र रिलिज भएको दोस्रो दिन पूजा-आकाश हल भिजिट र दर्शकको प्रतिक्रियाको लागि अष्टनारायण हल पुगेका थिए । हलमा सामान्य दर्शकभन्दा पूजा-आकाशको फ्यान क्लबको लर्को लामो देखिन्थ्यो । तर, आफ्नै चलचित्र हेर्न पुगेका दर्शकमाथि पूजा आक्रोशित भएर जवाफ दिएपछि माहोल खलबलिएको थियो । भीडमा आफ्नो नाम कम र आकाशको नामको हुटिङ धेरै आएपछि पूजाले फ्यानहरुलाई नै गाली गरेकी थिइन् ।

कुनै समय चुम्बकजस्तो सम्बन्ध भएको यो जोडी अहिले आफ्नै चलचित्रको प्रोमोशनमा पनि अलग-अलग हिसाबले आउँछन् । केही हुँदा एकै ठाउँमा भेला हुने दुईजनाको फ्यानसमेत अहिले दुई भागमा विभाजित छन् । पूजा-आकाशको जोडीमा आएको खटपटी, फ्यान विभाजन र बेलाबेलामा आइराख्ने तीता विवादहरुले यो जोडीको चलचित्र नचलेको हुनसक्ने धेरैको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *