आठौं फर्निचर एक्स्पो भदौ अन्तिम साता हुने – Nepal Press

आठौं फर्निचर एक्स्पो भदौ अन्तिम साता हुने

काठमाडौं । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ भदौ अन्तिम साता हुने भएको छ । कोभिड १९ महामारीका कारण पछिल्ला २ वर्ष हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा हुने भएको हो ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा एक्स्पो हुने भएको हो । एक्स्पोले चलायमान हुन खोजिरहेको अर्थतन्त्रमा टेवा पुर्‍याउने विश्वास आयोजकको छ ।

संघका अध्यक्ष शुभेन्द्र जोशीका अनुसार झण्डै डेढ वर्ष फर्निचरजन्य व्यवसाय ठप्प रहेर अहिले सामान्य अवस्थामा फर्किरहेको छ । ‘यो अवस्थामा एक्स्पोले व्यवसायी र उपभोक्तालाई उचित प्लेटफर्मको भूमिका निर्वाह गर्नेछ’, जोशीले भने, ‘यतिमात्र नभई एक्स्पोले आर्थिक क्रियाकलाप चलायमान बनाउन पनि योगदान पुर्‍याउने विश्वास लिएका छौं ।’

फर्निचर व्यवसायमा आवद्ध उद्यमी तथा व्यवसायी एक्स्पोप्रति उत्साहित रहेको पनि जोशीले बताए । पछिल्लो पटक २०७६ भदौ अन्तिम साता सातौं संस्करणको एक्स्पो भएको थियो ।

पाँच दिनसम्म चल्ने एक्स्पोमा १२० भन्दा बढी स्टल रहनेछन् । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री एक्स्पोको मुख्य आकर्षण रहने आयोजकको भनाइ छ । आठौं संस्करणको एक्स्पोलाई प्रेस्टिज कार्पेटले मुख्य प्रायोजन गर्नेछ ।

एक्स्पोमा भारत, बंगलादेश, पाकिस्तानलगायत मुलुकका प्रदर्शकहरुले समेत सहभागिता जनाउँदैछन् ।

फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ । आधुनिक जीवनशैली बढिरहेका वेला फर्निचरजन्य उत्पादनको बजार विस्तारमा पनि एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरिएको छ ।

व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका अनुसार एक्स्पोमा सहभागी हुन बुकिङ खुला गरिएको छ । साउन २३ गतेसम्ममा स्टल बुकिङ गर्नेलाई कुल लागतमा १० प्रतिशत छुटको व्यवस्था गरिएको इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *