तिलोत्तमामा सहमतिपछि बजेट पारित – Nepal Press

तिलोत्तमामा सहमतिपछि बजेट पारित

रुपन्देही । कांग्रेस–एमाले जनप्रतिनिधिको विवादका कारण रोकिएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बजेट मंगलबार नगरसभाबाट पारित भएको छ ।दुई दलबाट निर्वाचित जनप्रतिनिधि आपसमा नमिलेपछि चर्किएको द्वन्द्वका कारण बजेट पारित हुनसकेको थिएन ।

मंगलबार भागबण्डा मिलाउन दुवै पक्ष सकारात्मक भएपछि बजेट पारित भएको हो । विषयगत समितिहरुमा नेपाली काँग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको भागबण्डा मिलेपछि बजेट पारित गरिएको छ ।

नगरसभाले आर्थिक वर्ष २०७९/८० का लागि उपप्रमुख जगेश्वरी चौधरीद्वारा प्रस्तुत १ अर्ब ९८ करोड रुपैयाँको बजेट र आर्थिक विधेयक एवं विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको छ । नगरसभाले सहकारी ऐन २०७४ (दोस्रो संशोधन) पनि पारित गरेको छ ।

मंगलबार बसेको नगरसभा बैठकले बजेट पारितसँगै विभिन्न चार वटा समितिका संयोजक र सदस्य चयन गरेको छ । बैठकले उपप्रमुख जागेश्वरीदेवी चौधरीको संयोजकत्वमा लक्ष्मी विश्वकर्मा गजमेर र सन्तबहादुर बस्नेत सदस्य रहने गरी न्यायिक समिति गठन गरेको छ ।

काँग्रेसबाट निर्वाचित वडा नं १३ का अध्यक्ष नारायणप्रसाद ढकालको संयोजकत्वमा कल्पना थापा रोका (काँग्रेस) र बालकृष्ण लम्साल (एमाले) सदस्य रहेको विधायन समिति पनि गठन भएको छ । यस्तै, लेखा समितिमा एमालेबाट निर्वाचित फर्सुराम गिरीको संयोजकत्वमा उपेन्द्र बस्याल (एमाले) र पूर्णप्रसाद आचार्य (माओवादी केन्द्र) सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *