तीज गीत ‘पाउमा पाउजु’ बाट प्रियंकाको कमब्याक – Nepal Press

तीज गीत ‘पाउमा पाउजु’ बाट प्रियंकाको कमब्याक

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको नयाँ तीज गीत सार्वजनिक भएको छ । केही समय अगाडि तीजलाई लक्षित गरेर चलचित्र ‘राधा द सेक्रेट्स रिभिल’ को एक गीत छायांकन गरिएको थियो । गीत आज पत्रकार भेटघाटमार्फत सार्वजनिक गरिएको हो ।

आमा बनेपछि ह्वात्तै तौल बढे तापनि केही महिनामा नै अप्रत्याशित तौल घटाएर कार्की अभिनयमा फर्किएकी हुन् । लकडाउनको समयमा आमा बनेकी प्रियंका पछिल्लो समय छोरीको हेरचाहमा व्यस्त देखिन्थिन् ।

साझा भएको ‘पाउमा पाउजु’ बोलको गीतमा नायिका कार्की र पूर्व मिस नेपाल सृष्टि श्रेष्ठको नृत्य रहेको छ । सृष्टि चलचित्र ‘राधा’ को मुख्य पात्र समेत हुन । चलचित्रमा प्रियंका भने मात्र यो एक गीतमा विशेष अतिथि स्वरूप प्रस्तुत भएकी हुन् । कार्की र श्रेष्ठले यसअघि पनि ‘जस्ट अनदर लभ स्टोरी’ नामक वेब ​​सिरीजमा सहकार्य गरिसकेका छन् ।

‘पाउमा पाउजु’ गीतलाई सौगात मल्लले निर्माण गरेका हुन् । सृजना खत्रीको शब्द र कालीप्रसाद बास्कोटाको सङ्गीत रहेको गीतमा सज्जा चौँलागाई र स्वस्तिका ढकालले स्वर भरेका छन् ।

सुवर्ण थापा निर्देशित चलचित्रमा सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्या देव, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राई, निश्चल बस्नेत, दयाहाङ राई, सौगात मल्ललगायतका कलाकारको अभिनय रहेको छ ।

भदौ १० बाट देशभर रिलिज हुने तयारीमा रहेको चलचित्र ‘राधा’ लाई सौगात मल्ल, देवकी विष्ट र विक्रमदास जोशीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *