बजेटपछि मौद्रिक नीतिमाथि सबैको आस, कसिलो भनेपछि बढ्यो त्रास – Nepal Press

बजेटपछि मौद्रिक नीतिमाथि सबैको आस, कसिलो भनेपछि बढ्यो त्रास

काठमाडौं । चालु आर्थिक वर्षको बजेट आउँदा निजी क्षेत्रले स्वागत गरेको थियो । तर, बजेटको स्वागत गरेको केही दिनपछि नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघले स्वदेशी उद्योग नै बन्द हुने गरेर स्यानिटरी प्याड र घ्यूतेललगायतका उद्योगहरु बन्द हुने भन्दै विरोध गरेका थिए । नयाँ मौद्रिक नीतिमा पनि सबैले आआफ्नो माग नेपाल राष्ट्र बैंकसँग राखेको छ ।

गत आर्थिक वर्षमा नयाँ बजेट निर्माणको विषयलाई लिएर तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नै दिनुपर्ने अवस्था आएको थियो । अहिले संसदीय समिति नै बनाएर अर्थमन्त्री शर्मामाथि छानबिन भइरहेको छ ।

बजेट निर्माणको बेला तत्कालीन अर्थमन्त्री शर्माले करका दर हेरफेर गर्न बाहिरी व्यक्ति ल्याएको भनेर संसददेखि सडकसम्म विरोध भएपछि उनले संसदमा सम्बोधन गर्दै राजीनामा दिएका थिए । बजेट निर्माणको अन्तिम दिन अर्थात जेठ १४ गते राति करको दरको विषयमा निर्णय गर्ने बेलामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंकको गभर्नरसमेत बस्न नपाउने व्यवस्था थियो । शर्माले बाहिरका व्यक्ति ल्याएर करविज्ञ भन्दै करको दर हेरफेर गरेको आरोप लागेको छ ।

अहिलेका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना आयोगमा रहेका ‘एम अधिकारी’ नै भएको भन्दै सत्ता पक्षले राजीनामा मागिरहेका छन् । तर, नेकपा एमाले ‘एम अधिकारी’ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्टीकरण दिएको छ । गभर्नर अधिकारीले पनि आफू कुनै पार्टीको सदस्य वा कुनै विभागमा नरहेको विज्ञप्ति नै निकालिसकेका छन् ।

तर, नेकपा माओवादी केन्द्र र सरकारमा भएका दलका विद्यार्थी संगठनहरुले राष्ट्र बैंकको कार्यालय नै गएर निलम्बन गर भनेर आन्दोलन गरिरहेका छन् ।

एमालेले तत्कालीन अर्थमन्त्रीले करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति ल्याएर राष्ट्रका लागि घात गरेको भन्दै संसदमा राजीनामा मागेको थियो । अहिले माओवादीले गभर्नरको राजीनामा मागिरहेको छ ।

यही साता नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरेको छ । निजी क्षेत्रका विभिन्न संघसंस्थाहरुले अर्थतन्त्र सुधार हुने मौद्रिक नीति ल्याउनुपर्ने बताएको छ । गभर्नर अधिकारीले कसिलो मौद्रिक नीति आउने भनेर सार्वजनिक कार्यक्रममै भनिसकेका छन् ।

केही दिनअघि गभर्नरले निजी क्षेत्रले आयोजना गरेको कार्यक्रममा देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको र नयाँ मौद्रिक नीतिले कसैलाई असर गर्न पनि सक्ने भएकाले त्यसका लागि तयार हुनुपर्ने बताएका थिए । उनको भनाइलाई मान्ने हो भने मौद्रिक नीति अर्थतन्त्र सुधारका लागि आउने देखिन्छ ।

गभर्नर अधिकारीले मौद्रिक नीति कसिलो आउने बताएका छन् । अहिले देशको अर्थतन्त्र सुधार गर्न पनि कसिलो मौद्रिक नीति आवश्यक छ । राष्ट्र बैंक स्रोतका अनुसार निजी क्षेत्रको मागभन्दा पनि मौद्रिक नीति बिग्रेको अर्थतन्त्र कसरी सुधार गर्ने विषयमा केन्द्रित रहेको छ । माथिल्लो तहको भन्दा पनि तल्लो तहका मान्छेहरुलाई छुने प्रकारको मौद्रिक नीति ल्याउने तयारीमा छ राष्ट्र बैंक ।

नयाँ मौद्रिक नीतिमार्फत अर्थतन्त्र सुधार गर्ने क्रममा केही क्षेत्रमा अझ कडाइ हुनेसमेत राष्ट्र बैंक स्रोतले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *