प्रदेश १ को पर्यटन विकासका लागि इटहरीमा छलफलः पर्यटकमैत्री योजनामा जोड – Nepal Press

प्रदेश १ को पर्यटन विकासका लागि इटहरीमा छलफलः पर्यटकमैत्री योजनामा जोड

इटहरी । नेपाल पर्यटन बोर्डले शनिबार इटहरीमा पर्यटन प्रवर्द्धनको उपाय खोजीका लागि छलफल कार्यक्रम आयोजना गरेको छ ।

प्रदेश १ का पर्यटन व्यवसायी र सरोकारवाला सहभागी कार्यक्रम बोर्डको आगामी आर्थिक वर्षको बजेट तर्जुमासम्बन्धी मुख्य एजेण्डा थियो । बोर्डका सदस्य कृष्ण शाह र प्रबन्धक सूर्य थपलिया सहभागी कार्यक्रममा प्रदेशभरका पर्यटकीय स्थलको पहिचानसँगै पूर्वाधार विकासमा जोड दिइयो ।

विराटनगरका व्यवसायी भविष श्रेष्ठले नेपाल-भारत सीमापार पत्रकारहरूको सञ्जाल बन्नुपर्ने, भारतीय सिमा क्षेत्रमा नेपाल पर्यटन मेला सञ्चालन गर्नुपर्ने, प्रदेश १ का गन्तव्य झल्किने फोटो प्रदर्शनी गर्नुपर्ने, विराटनगर, काकरभित्ता र पशुपतिनगर जस्ता क्षेत्रमा प्रभावकारी सूचना केन्द्रहरु राख्नुपर्ने बताए ।

धरानका पर्यटन व्यवसायी वासुदेव बरालले प्रदेश १ लक्षित पर्यटकको पहिचान गर्ने उनीहरूको चाहना बुझेर लगानी गर्नु्पर्ने जोड दिए । भारतीय पर्यटकको उदाहरण दिँदै बरालले भने, ‘भेडेटारमा धेरै बिहारी आउँछन् । उनीहरू धेरैले सुँगुर खाँदैनन् । तर, भेडेटारमा सुँगुर मात्रै देखिन्छ ।’

भेडेटारमा धेरै भारतीय आउन थालेपनि उनीहरूको चाहना र खानालाई ध्यान नदिइएको बरालले बताए । यस्तै उनले प्रदेश १ मा हुँदै आएको टुरिजम मार्ट अन्त सार्न वा बन्द गर्न नहुने बताए ।

झापाका व्यवसायी राजन दंगाल र योगराज दंगालले पर्यटन बोर्डले प्रदेश १ को पर्यटन विकासलाई प्राथामिकता दिन आग्रह गरे । काकरभित्ताका पर्यटन व्यवसायी उदय श्रेष्ठले प्रदेश १ को सत्कार र सुरक्षा क्षेत्रमा विषेध ध्यान आवश्यक भएको बताए । यो वर्ष कोलकातामा भएको पर्यटन मेला टीटीएफमा पर्यटन बोर्ड सहभागी नहुनु दुःखद भएको बताउँदै सहभागी हुनुपर्ने तर्क गरे । पर्यटन बोर्डले विदेशमा गर्ने मेलामा होटल व्यवसायीलाई मात्रै प्राथामिकता दिनु गलत भएको उनले बताए ।

उनले भने, ‘हामीले देखेका छौँ होटल व्यवसायीले आफ्नो होटलको मात्रै प्रचार गर्छ तर ट्राभल एजेन्सीले सबै योग्य होटलहरु र गन्तव्यको प्रचार गर्छ । त्यसैले असली पर्यटन व्यवसायलाई फाइदा गर्ने ट्राभल एजेन्सीहरु नै हुन् । उनीहरूलाई बोर्डले सहभागितामा प्राथामिकता दिनुपर्छ ।’

इटहरीका पर्यटन व्यवसायी रविन गौतमले पर्यटन बोर्डले व्यवसायीहरूलाई खुम्बु क्षेत्रमा अनुभव भ्रमणमा लगेर सिकाउन सकिने औंल्याए बताए । पर्यटन बोर्डले लगानी गर्दै गरेको विभिन्न मार्टहरूको प्रभावकारीताको विषयमा छलफल आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा बोर्ड सदस्य कृष्ण शाहले आफू प्रदेश १ को सदस्य भएकोले प्रदेश १ को ओझेलमा परेका पर्यटन विकासमा ध्यान दिने र कुरा उठाउने आश्वासन दिए । उनले ताप्लेजुङको पाथिभरा, धरानको दन्तकाली, सप्तरीको छिन्नमस्ता, आसामको कामाख्या र कोलकाताको काली मन्दिरलार्इ जोडेर देबी सर्किट बनाउने तयारी भएको बताए ।

यस्तै, प्रदेश १ मा विभिन्न पाँच ट्रेकिङ ट्रेलिङको काममा छलफल भएको उनले बताए । निकट भविष्यमै प्रदेश १ मा पर्यटन बोर्डको कार्यालय संचालन भएर टिम्स् कार्ड प्रदेशबाटै पाइने शाहले जानकारी दिए । यस्तै प्रदेश १ का स्थलमार्गबाट नेपाल प्रवेश गर्नेहरूलाई आवश्यक बहुआयामिक सुविधाको नमस्ते सेन्टरको कामसमेत अगाडि बढेको शाहले बताए ।

उनले भने, ‘कम्तीमा पर्यटन बोर्डको तर्फबाट संघीयताको अनुभूति हुने गरेको कार्यक्रमहरू आउनेछन् । प्रदेश १ मा केही राम्रा कार्यक्रहरू हुनेछन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *