बुटवलको अलपत्र सडकमाथिको राजनीति: निर्माण रोकेपछि मेयरले लगाए ठेकेदार र आयोजनालाई आरोप – Nepal Press

बुटवलको अलपत्र सडकमाथिको राजनीति: निर्माण रोकेपछि मेयरले लगाए ठेकेदार र आयोजनालाई आरोप

रुपन्देही । आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर रहेको बुटवलको मुख्य सडक निर्माण गर्ने घोषणा गरेका नगर प्रमुख खेलराज पाण्डेले अहिले पुनः असन्तुष्टि जनाउन थालेका छन् ।संघीय सरकारले ठेक्कामा लगाएर लामो समय केही दलका नेताको आडमा सडक छेउका व्यवसायीको अदालती झमेला र ठेकेदारले अलपत्र पारेको को यो सडकलाई उनले बनाउने चुनाव नारा बनाएका थिए ।

उनको पदबहालीसँगै ठेकेदारले काम सुरु गरेपछि आफ्नो पहलमा काम सुरु भएको भन्दै दिनहुँ अनुगमन तथा आफै सामाजिक सन्जालमा प्रत्यक्ष प्रशारण गरेका थिए ।असार मसान्त आउन लागेकाले ठेकेदारले म्याद थप गर्नका लागि गरेको थोरै कामलाई नगर प्रमुख आफैले गरेजस्तो प्रचार गरेपनि म्याद थप गरेसँगै ठेकेदारले अलपत्र पारेपछि अहिले उनी पुनः असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।

ठेकेदारले काम सुरु गरेसँगै बिहान नगर प्रमुख पाण्डे र साँझ उपप्रमुख सावित्रा अर्यालले अनुगमन भन्दै दिनहुँ प्रचार गरेका थिए । मुख्य सडकमा भएको धुलो र हिलोले आजीत बुटवासी रोकिएको काम सुरु भएको भन्दै खुसी भएपनि ठेकेदारले म्याद थपाउन गरेको नाटकपछि भने आक्रोशित छन् ।

बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक ३० महिनामा पूरा गर्ने गरी २०७३ चैत १२ मा सम्झौता भएको थियो ।

दुई वर्षअघि नै सकिनुपर्ने काम पूरा नभएपछि ०७९ असार मसान्तसम्म म्याद थप भएको थियो ।निर्माण कम्पनी द कञ्चनजंघा÷बिरुवा जेभीले अन्तिमपटकका लागि भन्दै थपिएको म्याद पनि यही असार ३० गते सकिएको छ । तर सडकको भौतिक प्रगति हालसम्म करिब ३० प्रतिशत मात्रै छ ।

२०७५ वैशाख १२ गते अदालतको आदेशले सडक निर्माणको बाटो खुलेपछि २०७७ जेठमा पूरा गर्ने गरी पहिलोपटक म्याद थप भएको थियो । सो अवधिमा पनि काम पूरा नभएपछि निर्माण कम्पनीको निवेदनअनुसार दोस्रो पटक म्याद थप भयो । २०७७ पुस १० गते मन्त्रिपरिषद् बैठकले २०७९ असार मसान्तसम्मका लागि म्याद थप गरेको थियो ।

साढे तीन किलोमिटर सडक विस्तारको कामका लागि सुरुमा ४७ करोड २७ लाख रुपैयाँमा सम्झौता भएको थियो । निर्धारित समयमा निर्माण पूरा नभएपछि लागत बढेर ५३ करोड ९८ लाख रुपैयाँ कायम गर्ने सम्झौता भएको थियो । ठेकेदार कम्पनीले हालसम्म १३ करोड ६४ लाख रुपैयाँ भुक्तानी लगिसकेको बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले जनाएको छ ।

बुटवलको मुख्य सडक खण्ड निर्माणको काम फेरि अलपत्र परेपछि बुटवल उपमहानगरपालिकाका प्रमुखले पुनः असन्तुष्टि व्यक्त गरेका छन् ।साढे ३ किलोमिटर सडक निर्माणमा ६ वर्षभन्दा बढी समय खर्चिने निर्माण कम्पनी र ताकेता नगर्ने डिभिजन सडक कार्यालय बुटवल र सडक विस्तार आयोजनाको भूमिकाप्रति प्रमुख पाण्डेले असन्तुष्टि व्यक्त गरेका हुन् ।

बुटवल उपमहानगरपालिकाले पटक पटक दबाब सिर्जना गर्दै अनुगमन गरेपछि केही दिन सडक निर्माणको काम भएपनि डिभिजन सडक कार्यालय र सडक विस्तार आयोजनाले चासो नदिँदा निर्माण कम्पनीले विभिन्न बहानामा काम रोकेको छ ।

काम रोकिएपछि उपमहानगरपालिकाका प्रमुख पाण्डेले वर्षायाम अघि नै काम पूरा गर्नुपर्नेमा विभिन्न बहानामा काम रोक्ने र काम रोक्नेलाई ताकेता नगर्ने डिभिजन सडक कार्यालय र विस्तार आयोजनाको भूमिकाले बुटवल क्षेत्रको मुुख्य सडकको दुर्दशा बनाएको बताए ।

‘यो सडक निर्माणको काममा भएको ढिलासुस्ती र लापरबाही देखेर म निर्वाचित भएर आउनेबित्तिकै प्रमुख जिल्ला अधिकारी, डिभिजन सडक कार्यालय, विस्तार आयोजना, निर्माण कम्पनी, उद्योगी व्यवसायी र सरोकारवालासहितलाई राखेर असारभित्र काम पूरा गर्ने गरी सहमति जुटाएका थियौं, उनले असन्तुष्टि व्यक्त गर्दै भने–तर, केही दिन काम भयो, अनि उस्तै शैलीमा फर्कियो, यसको ठेक्का लगाउने, नियमन गर्ने सडक र विस्तार आयोजनाले चासो दिनुपर्ने हो कि होइन, त्यहाँका कर्मचारीले जे जिम्मेवारी लिएर बसेका छन्, त्यो जिम्मेवारी पूरा गर्नुपर्ने होइन र, बुटवललाई यो दुर्दशा बनाएर राख्न पाइन्छ ?’

उनले काममा ढिलाई भएपछि आफुले निरन्तर अवलोकन र अनुगमन गरेर कामलाई तीब्रता दिएपनि निरन्तरता दिने काममा सडक डिभिजन र विस्तार आयोजनाले कुनै चासो नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘यही असार मसान्तमा काम सक्ने प्रतिबद्धता जनाएको निर्माण कम्पनीको ठेक्काको म्याद सकिदैछ, उनले भने–काम पूरा गर्छु भनेको समयमा पूरा नगर्ने कम्पनीलाई नै म्याद थप गर्ने भन्ने सुन्दैछु, जुन समयमा काम पूरा गर्छु भनेको थियो, त्यो समयभित्र पूरा नगर्नेले फेरि थप गरिएको समयमा पूरा गर्छ भन्ने कुरामा कसरी विश्वास गर्ने ?’

बुटवल उपमहानगरपालिकाको पहलमा भएको सहमतिअनुसार केही दिन सडकका खाल्डा पुर्ने र पक्की गर्ने काम शुरु भएपनि काम पूरा हुन सकेको छैन । भत्काएको सडक क्षेत्र र अलपत्र नालीका कारण वर्षा लागेपछि सडक हिलाम्मे छ ।ठूलाठूला खाडलका कारण दैनिक साना सवारी दुर्घटना भइरहेका छन् । निर्माण कम्पनीले काम रोकेपछि बुटवलको अस्पताल लाईन, ट्राफिक चोक, मिलनचोक, राजमार्ग चौराहाजस्ता स्थानमा रहेका खाल्डाका कारण सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ ।

मुख्य सडक क्षेत्रका व्यवसायीहरुले सास्ती बेहोर्नुपरेको छ । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू अस्तव्यस्त सडकका कारण कैयौं व्यवसायी विस्थापित भएको बताउँछन् ।उनी भन्छन्–‘कोभिड १९ ले व्यवसाय थला परेको थियो, गोलपार्कदेखि चौराहासम्मका व्यवसायी धेरै विस्थापित भइसकेको अवस्था छ, बहालमा व्यवसाय गरिरहेकाहरु झनै पीडित भएको अवस्था छ ।’

उनले सडक निर्माणको काम निर्धारित समयभित्रै पूरा गर्न निरन्तर दबाब दिएपनि सडक डिभिजन र विस्तार आयोजनाले गम्भीरतापूर्वक काम गराउन चासो नदेखाएको बताए ।

‘बुटवल उपमहानगरपालिकामा नयाँ जनप्रतिनिधि आइसकेपछि मेयरज्यूकै पहलमा सिडिओ, ठेकेदार, सडक डिभिजन र विस्तार आयोजनासहित बसेर छिटै नै बाँकी रहेको पक्की गर्ने भन्ने सहमति भएको थियो, केही दिन त काम भयो,’–उनले भने–‘केहीदिनपछि फेरि उस्तै झारा टार्ने काम ठेकेदार कम्पनीले गरेको छ, सडक डिभिजन र सडक विस्तार आयोजनाले जति चासो देखाउनुपर्ने हो देखाएनन् ।’

पटक पटक थप भएको समयमा पनि काम पूरा नगरी ८० प्रतिशत काम बाँकी राख्ने निर्माण कम्पनीलाई कारबाही गर्नुको सट्टा डिभिजन सडक कार्यालय र बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजना निर्माण कम्पनीको म्याद थप गर्ने तयारीमा पुगेका छन् ।सार्वजनिक खरिद ऐनको बाह्रौं संशोधन भएपछि सोही व्यवस्थाअनुसार ठेकेदारलाई अझै एक वर्ष म्याद थप्न सकिने भएको छ । यही आधारलाई टेकेर म्याद थप गर्न सकिने आयोजनाका कार्यालय प्रमुख दीपक झाले बताए ।

उनले वर्षा शुुरु हुनअघि नै ठूला खाल्डा पुर्ने र दोहोरो यातायात सञ्चालन गर्नसकिने गरी ग्राबेल र ग्रिडिङ गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको बताए । ‘हामीले पनि धेरैपटक निर्माण कम्पनीलाई ताकेता गरेका छौं, तर अनेक बहाना बनाएर काममा ढिलासुस्ती भएको छ, उनले भने–अब ढिलासुस्ती हुँदैन, वर्षाअघि नै दुवै लेनमा गाडी चल्ने गरी सम्याएर पानी जम्मा नहुने गरी सहज बनाउने काम हुन्छ ।’

उनले वर्षापछि मात्रै सडक पक्की गर्ने काम शुरु हुने बताए । ‘वर्षाको समयमा खानेपानीका पाइप, विद्युतका पोल, सर्भिस लेनको काम, नालीको काम पूरा हुन्छ, उनले भने–त्यसपछि पक्की शुरु हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *