खराब लयमा रहेका विराट कोहलीबारे गरेको ट्वीट भाइरल भएपछि के भन्छन् पाकिस्तानी कप्तान बाबर आजम ? – Nepal Press

खराब लयमा रहेका विराट कोहलीबारे गरेको ट्वीट भाइरल भएपछि के भन्छन् पाकिस्तानी कप्तान बाबर आजम ?

 

लाहोर । कमजोर लयमा रहेका भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीलाई सान्त्वना दिँदै पाकिस्तानी कप्तान बाबर आजमले बिहीबार राति ट्वीटरमा लेखेका थिए, ‘यो पनि बितेर जानेछ । बलियो बन ।’

आपसमा शत्रु जस्तो व्यवहार गर्ने यी दुई देशबीच कोहलीबारे बाबरले गरेको ट्वीट केहीबेरमै भाइरल बन्यो । राजनीतिक रुपमा कटु सम्बन्ध रहे पनि बाबरको टिप्पणीको चौतर्फी प्रशंसा भयो ।

आफूले कोहलीबारे गरेको ट्वीटलाई लिएर आजमले शुक्रबार थप प्रस्ट पारेका छन् । श्रीलंकाविरुद्ध पाकिस्तानको टेस्ट क्रिकेटअघि आयोजित पत्रकार सम्मेलनमा आजमले खराब समय चलिरहेका बेला खेलाडीलाई सपोर्ट निकै आवश्यक रहने उल्लेख गरे ।

‘एउटा खेलाडीका रुपमा मलाई थाहा छ कुनै समयमा खराब लय आउनसक्छ । त्यो अवस्थामा खेलाडीलाई सपोर्ट निकै चाहिन्छ । केही सहयोग हुन्छ भनेरै मैले कोहलीबारे त्यस्तो ट्वीट गरेको हुँ । उनी विश्वका एक उत्कृष्ट खेलाडी हुन्’, आजमले भनेका छन् ।

आजमले कोहली चाँडै लयमा फर्कने पनि विश्वास गरे । ‘उनले धेरै क्रिकेट खेलेका छन् र यस्तो अवस्थाबाट कसरी अगाडि बढ्ने भन्ने उनलाई थाहा छ । समय लाग्छ । यदि तपाईं खेलाडीलाई सहयोग गर्नुहुन्छ भने त्यसले निकै राम्रो काम गर्छ’, उनले भने ।

हाल इङ्ल्यान्डविरुद्ध एकदिवसीय शृंखला खेलिरहेको भारतका लागि पहिलो खेल चोटका कारण गुमाएका कोहली दोस्रो खेलमा उत्रँदै १६ रनमा आउट भएका थिए । कोहलीले पछिल्लो समय उल्लेख्य पाली खेल्न सकेका छैनन् ।

आजम हाल एकदिवसीय र टी– २० क्रिकेट दुवैमा ब्याट्सम्यानको विश्व वरियतामा शीर्ष स्थानमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर