गहुँ र चिनीलगायतको निर्यात प्रतिवन्ध नेपालका लागि होइनः भारतीय राजदूत श्रीवास्तव – Nepal Press

गहुँ र चिनीलगायतको निर्यात प्रतिवन्ध नेपालका लागि होइनः भारतीय राजदूत श्रीवास्तव

काठमाडौं । भारत सरकारले गहुँ, चिनीलगायत केही वस्तुमा लगाइएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले बताएका छन् ।

राजदूत श्रीवास्तवले नेपाल उद्योग वाणिज्य महासंघले स्वागतका लागि आयोजना गरेको कार्यक्रममा महासंघ सचिवालयमा सो कुरा बताएका हुन् ।

महासंघ सचिवालयमा अध्यक्ष शेखर गोल्छाले राजदूत श्रीवास्तवलाई स्वागत गरेका थिए । स्वागत मन्तव्यका क्रममा अध्यक्ष गोल्छाले भारत सरकारको तर्फबाट केही अत्यावश्यक वस्तुहरूको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय भएपछि नेपाली उद्योगहरूलाई समस्या उत्पन्न हुन थालेको बताएका थिए ।

‘भारत सरकार, भारतसँगै नेपालको पनि आर्थिक विकास हुनुपर्छ भन्ने पक्षमा छ । तपाईंहरूको प्रगतिको हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार छ’, राजदूत श्रीवास्तवले भने ।

सडक, रेल, हवाई र डिजिटल कनेन्टिभिटीमा देखापरेका समस्याहरूको समाधान गर्दै नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन भारत सरकार तयार रहेको राजदूत श्रीवास्तवले बताए ।

उनले भने, ‘ल्याब टेष्टका सम्बन्धमा भारत सरकारले रक्सौलमा अन्तर्राष्ट्रियस्तको ल्याब स्थापना गरेको, काठमाडौंमा रहेको ल्याबलाई भारतमा एक महिनाभित्रै मान्यता दिने गरी काम भैरहेको छ । अर्को ल्याब उपयुक्त स्थानमा बनाउन नेपालका वाणिज्यमन्त्रीसमक्ष अनुरोध गरिएको छ ।’

महासंघका अध्यक्ष गोल्छाले नेपालमा लगानी विस्तार, व्यापारिक नाकाहरूको पूर्वाधार विकास, प्रयोगशालाहरूको स्तरीकरण तथा थप ल्याबहरूको विस्तार, गैरभन्सार अवरोधहरूका विषयलाई बैठकमा मुख्य रूपमा उल्लेख गरेका थिए ।

उनले भारतसँगको व्यापार घाटा नेपालका लागि चिन्ताको विषय भएकाले व्यापार घाटालाई कम गर्ने कार्यमा भारतीय सहयोग अपरिहार्य रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *