लुम्बिनीका ३५ पालिकामा रोकियो बजेट, अधिकांश पालिकामा आन्तरिक विवाद – Nepal Press

लुम्बिनीका ३५ पालिकामा रोकियो बजेट, अधिकांश पालिकामा आन्तरिक विवाद

रुपन्देही । लुम्बिनी प्रदेशका १०९ पालिकामध्ये ३५ वटाले अहिलेसम्म बजेट पारित गर्न सकेका छैनन् । ७४ पालिकाले भने बजेट पारित गरिसकेका छन् । अधिकांश पालिकामा आन्तरिक विवादको कारणले बजेट रोकिएको हो ।

रुपन्देहीमा दुई नगरपालिकासहित ६, नवलपरासीको पाल्हीनन्दन गाउँपालिका, अर्घाखाँचीको छत्रदेव गाउँपालिका, गुल्मीको कालीगण्डकी गाउँपालिका र पाल्पाको रामपुर नगरपालिकासहित ४ पालिकाले बजेट पारित गर्न सकेका छैनन् ।

यसैगरी कपिलवस्तुका ५, रोल्पाका २, प्यूठानको १, दाङका ४, बाँकेका ७, बर्दियाका २ र रुकुम पूर्वको एउटा पालिकाले बजेट पारित गरेका छैनन् । अधिकांश पालिकामा नेतृत्व एउटा पार्टीको तर कार्यपालिकामा बहुमत अर्को पार्टीको हुँदा बजेट पारित गर्न नसकेका हुन् ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेसको भए पनि उपाध्यक्षसहित बहुमत कार्यपालिका एमालेको भएकाले विवाद बढेको स्थानीय दिनेश पन्थीले बताए ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार असार १० भित्रै राजस्व र आय–व्यय (बजेट) को अनुमान पेस गर्नुपर्ने हुन्छ । उक्त कानूनबाट बच्न स्थानीय तहहरुले गाउँ तथा नगरसभामा बजेट प्रस्तुत गरे पनि छलफल तथा पारित गर्न भने सकेका छैनन् ।

असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने मान्यता छ । तर, ती स्थानीय तहहरुले असार सकिन ४ दिन बाँकी रहँदासम्म बजेट पारित गर्न सकेका छैनन् ।

आन्तरिक विवादका कारण रुपन्देहीका दुई नगरपालिका र ४ गाउँपालिकासहित ६ पालिकाले आगामी आर्थिक वर्षको बजेट पास गर्न सकेका छैनन् ।

रुपन्देहीको तिलोत्तमा र लुम्बिनी सांस्कृतिक नगरपालिका तथा मायादेवी, कञ्चन, कोटहीमाई र गैडहवा गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० को बजेट पास गर्न सकेका छैनन् । असार १० गते नगरसभामा बजेट प्रस्तुत भए पनि ती पालिकामा आन्तरिक विवादका कारण समयमै बजेट पारित गर्न सकिएको छैन् ।

तिलोत्तमा नगरपालिकामा करको दायरा तथा दर हेरफेरको विषयमा उत्पन्न विवादपछि रोकिएको थियो । अहिले सबै विवाद समाधान भई यही असार ३१ गते बजेट पारित गर्ने मिति तय गरिएको कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बताए ।

उता लुम्बिनी साँस्कृतिक नगरपालिकाले पनि हालसम्म बजेट पारित गरेको छैन । नगर प्रमुख सजरुद्दिन मुसलमानले बजेटको विषयमा कुनै विवाद नभए पनि पारित गर्न केही ढिला भएको बताए । असार ३० गतेभित्रै बजेट पारित गर्ने योजनामा रहेको उनले जानकारी दिए ।

त्यसैगरी मायादेवी गाउँपालिकामा पनि बजेट पारित हुनसकेको छैन । बजेट बाँडफाँटका विषयमा पूर्ण सहमति जुट्न नसक्दा रोकिएको गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले बताए । यहाँ पनि असार १० गते बजेट पेश भएको थियो । गाउँपालिका अध्यक्ष चौधरीले आन्तरिक छलफल तथा कार्यपालिका बैठक बसी छिट्टै बजेट पारित गरिने बताए ।

यसैगरी कञ्चन, कोटहीमाई र गैडहवा गाउँपालिकाले हालसम्म बजेट पारित गर्न सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *