पुबुदुको जन्मदिनमा जित उपहार दिन चाहन्छ नेपाली क्रिकेट टोली – Nepal Press

पुबुदुको जन्मदिनमा जित उपहार दिन चाहन्छ नेपाली क्रिकेट टोली

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके सोमबार ५२ औँ जन्मदिन मनाउँदैछन् ।

पुबुदुको जन्मदिनमा नेपालले विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा भइरहेको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नामिबियासँग खेल्दैछ ।

शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नामिबियासँग खेल्न लागेको हो । यसअघि नामिबिया आफ्नो पहिलो खेलमा आइतबार राति घरेलु टोलीसँग फराकिलो अन्तरले पराजित भएको थियो ।

नेपाली क्रिकेटको सफलता र पछिल्लो उचाइमा पुबुदुको भूमिका महत्वपूर्ण मानिन्छ । पहिलोपटक सन् २०११ मा नेपाली टोलीको प्रशिक्षक बनेका पुबुदुको पहिलो कार्यकालमा नेपालले आईसीसी टी-२० विश्वकप खेलेको थियो भने डिभिजन पाँचबाट वानसम्मको यात्रा तय गरेको थियो । उनी सन् २०१६ मा नेपाली टोलीबाट बिदा भएका थिए । तर, गत यसै वर्ष उनी फेरि नेपाली टोलीको प्रशिक्षकका रूपमा फर्किएका हुन् ।

एकदिवशीय विश्वकप खेल्न र एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाउने महत्वपूर्ण मानिएको विश्वकप लिग-२ को महत्वपू्र्ण चरणमा नेपाली टोली यतिबेला छ ।

नेपाल १६ खेलबाट १५ अंक जोडेर सात टोलीमध्ये पाँचौं स्थानमा छ । १४ खेलबाट १४ अंक भएको नामिबिया छैटौं स्थानमा छ । तालिकामा स्कटल्यान्ड २० खेलबाट २८ अंक जोडेर सात टोलीमध्ये दोस्रोमा छ । सबै खेल खेलिसकेको ओमानको ३६ खेलबाट ४४ अंक छ ।

यूएईको २२ खेलबाट २६ र अमेरिकाको २४ खेलबाट २३ अंक छ। पुछारमा रहेको पीएनजीको २० खेलबाट २ अंक छ । तालिकाको शीर्ष तीन टोली एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन् ।

श्रीलंकन मुलका क्यानेडियन नागरिक दासानायकेले आफ्नो ‘ओरिजिन’ मुलुकबाट टेस्ट क्रिकेट पनि खेलेका थिए । उनले नेपालबाट क्यानडा र अमेरिकाको पनि प्रशिक्षण भएर काम गरिसकेका छन् । आफ्नो दोस्रो कार्यकालमा भने पुबुदुले नेपाललाई अपेक्षित सफलता दिलाउन नसकेको भनेर आलोचना भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर