अस्ट्रेलियाबाट निकालिएका जोकोभिचले अस्ट्रेलियनलाई हराएर जिते विम्बल्डन, भन्छन्- राहत मिल्यो – Nepal Press

अस्ट्रेलियाबाट निकालिएका जोकोभिचले अस्ट्रेलियनलाई हराएर जिते विम्बल्डन, भन्छन्- राहत मिल्यो

काठमाडौं । लगातार चौथोपटक विम्बल्डन ग्रान्डस्लाम जितेका नोभाक जोकोभिचले यो वर्षको सुरुवातमा अस्ट्रेलिया सरकारले देश निकाला गरेपछि आफु निकै कमजोर बनेको बताएका छन्।

फाइनलमा आइतबार अस्ट्रेलियाकै निक किर्गियसलाई पराजित गर्दै विम्बल्डन जितेपछि उनले आफ्नो जिवनको महत्वपूर्ण समयमा यो उपाधि आएको उल्लेख गरेका छन्।

‘यो वर्ष जसरी सुरुवात भएको थियो त्यसले केही महिना मलाई निकै असर गरेको थियो’, ३५ वर्षिय जोकोभिचले भनेका छन्। कोरोनाविरुद्धको खोप नलगाएको र फर्ममा झुट्टा विवरण उल्लेख गरेको कारण देखाएर अस्ट्रेलियन सरकारले वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको पूर्व सन्ध्यामा उनलाई देश निकाला गरेको थियो। जोकोभिच अस्ट्रेलियन ओपनका ९ पटकका विजेता हुन् र पछिल्ला लगातार तीन संस्करण जितेका थिए।

यी सर्बियन स्टारले त्यसपछि फ्रेन्च ओपनमा क्वाटरफाइनलबाटै विदा हुनु परेको थियो, राफेल नाडालसँग पराजित भएर। तर विम्बल्डनबाट उनी लयमा फर्किएका छन्। समग्रमा सातौँपटक विम्बल्डन जितेका जोकोभिच सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने पुरुष खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्। उनले २१ पटक ग्रान्डस्लाम जितेका हुन्। नाडालले २२ पटक र रोजर फेडेररले २० पटक जितेका छन्।

‘मलाई राम्रो लागिरहेको थिएन। मानसिक र इमोसनल्ली म राम्रो स्थितीमा थिइन’, अस्ट्रेलिया सरकारले निकाला गरेपछि आफ्नो अवस्थाबारे जोकोभिचले स्मरण गरेका छन्, ‘मलाई लागेको थियो की ठिक हुन केही समय लाग्ने छ। मैले धैर्यता राख्नुपर्छ र ढिलो चाँढो म आफ्नो लयमा आउने छु भन्ने लागेको थियो’, जोकोभिचले भनेका छन्।

कोभिडविरुद्धको खोप नलगाउने अडानमा देखिएका जोकोभिचको निकै आलोचना पनि भएको थियो। केहीले उनको व्यक्तिगत रोजाईको विषय पनि भनेका थिए। जोकोभिचले सन् २०१८ यता मात्र ९ पटक ग्रान्डस्लाम उपाधि जितेका छन्। यो वर्षको सुरुका दुवै ग्रान्डस्लाम जितेका नाडाल चोटका कारण विम्बल्डनको सेमिफाइनल नखेली त्याग्नु पर्ने अवस्था बनेपछि जोकोभिचका लागि उपाधि रक्षा सहज बनेको थियो।।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर