म्यान सिटीमा ९ नम्बर जर्सी लगाउने हालान्डले पूरा गर्लान् च्याम्पियन्स लिग उपाधि जित्ने जिताउने सपना ? – Nepal Press

म्यान सिटीमा ९ नम्बर जर्सी लगाउने हालान्डले पूरा गर्लान् च्याम्पियन्स लिग उपाधि जित्ने जिताउने सपना ?

लन्डन। म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग (ईपीएल)का पछिल्ला पाँचमध्ये चार सिजनको उपाधि जितेको छ। तर पनि म्यान सिटी अझै भोकै छ ।

युरोपियन च्याम्पियन्स लिगको उपाधि नजित्दासम्म चित्त बुझाउने पक्षमा म्यान सिटी छैन । क्लबको त्यही सपना पूरा गर्ने गराउने लक्ष्यसहित म्यानचेस्टर सिटी आइपुगेका छन् एर्लिङ हालान्ड । म्यानचेस्टर सिटीले हालसम्म युरोपियन च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन ।

सन् २०१६ मा म्यानचेस्टर सिटीले प्रशिक्षक पेप गार्डिओलालाई भित्र्याउँदा त्यस पछाडि च्याम्पियन्स लिग जित्ने लक्ष्य राखेको थियो ।

च्याम्पियन्स लिग जिताउन सक्ने प्रशिक्षकका रुपमा चिनिएका गार्डिओलाले सन् २०१२ मा बार्सिलोना छाडेपछि बढीमा घरेलु लिगको मात्र उपाधि जितिरहेका थिए । गार्डिओला आफैंलाई पनि म्याचेस्टर सिटी एउटा अवसर थियो ।

गार्डिओलालाई भित्र्याउनुअघि म्यान सिटीले पनि पछिल्ला चारमध्ये दुई घरेलु लिग उपाधि जितेको थियो । त्यसकारण गार्डिओलालाई भित्र्याउनु पछाडिको कारण दुवैलाई थाहा थियो ।

दुर्भाग्य के रह्यो भने म्यानचेस्टर सिटीले राम्रो गर्दागर्दै पनि च्याम्पियन्स लिग जित्न सकिरहेको छैन । यो सिजन सेमिफाइनलबाटै बाहिरिएको थियो भने गत सिजन फाइनलसम्म पुगेको थियो । गार्डि‌ओलाको यो कार्यकालमा च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको बहिर्गमन हरेकपटक पीडादायी रह्यो ।

सन् २०१६/१७ सिजनमा म्यान सिटी प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको थियो । मोनाकोसँगको भिडन्तमा पहिलो लेगमा ५-३ गोलले विजयी भए पनि दोस्रो लेगमा ३-१ गोलले पराजित भएको थियो ।

सन् २०१८/१९ सिजन क्वार्टरफाइनलमा टोट्टनहामसँग दोस्रो लेग ४-३ गोलले विजयी भए पनि अगाडि बढ्न सकेन । पहिलो लेगमा १-० गोलले पराजित भएकाले अवे गोलका आधारमा बाहिरिएको थियो । लगत्तै अर्को सिजन फेरि क्वार्टरफाइनलबाट बाहिरिँदा म्यान सिटीका लागि कम्ता पीडा थिएन ।

लियोनसँग पहिलो लेग २-१ गोलले विजयी भए पनि दोस्रो लेगमा ३-१ गोलले पराजित भएर घर फर्किएको थियो । यो सिजन रियल म्याड्रिडसँग सेमिफाइनलको पहिलो लेग ४-३ गोलले जितेको थियो । तर, दोस्रो लेगमा ३-१ गोलले पराजित भएर बाहिरिनुपर्‍यो । यही सकसपूर्ण ताजा विगतलाई बिर्सन चाहन्छ म्यान सिटी र उसको रोजाइमा परेका छन् युवा स्ट्राइकर हालान्ड ।

लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोपछि लामो समयसम्म जम्न सक्ने उनीहरुका उत्तराधिकारीका रुपमा हालान्ड, केलियन एमबाप्पेहरुलाई लिने गरिन्छ । नर्वेका खेलाडी भए पनि हालान्डले २१ वर्षकै उमेरमा हेभिवेट पहिचान स्थापित गरेका छन् ।

हालान्डले यसअघि जर्मन क्लब बोरुस्सिया डर्टमुन्डका लागि ८९ खेलमा ८६ गोल गरेका थिए । त्यसअघि उनले अस्ट्रियन क्लब रेडबुल साल्जबर्गका लागि २२ खेलमा २८ गोल गरेका थिए । उनले च्याम्पियन्स लिगमा मात्र हालसम्म २५ खेलमा २७ गोल गरेका छन् ।

हालान्डले म्यान सिटीमा ९ नम्बरको जर्सी लगाएर खेल्दैछन् । यसअघि डर्टमुन्डमा पनि उनी ९ नम्बरकै जर्सीमा उत्रने गरेका थिए । यो सिजनमात्र म्यान सिटी छाडेका गाब्रियल जिससले लगाउने गरेको जर्सी हालान्डले रोजेका हुन् । म्यान सिटीले जिसस र रहिम स्टर्लिङजस्ता स्टार खेलाडीहरु यसै सिजन बिदा गरेको अवस्थामा अब हालान्डमाथि ठूलो जिम्मेवारी आइपरेको छ । गार्डिओलाले पूरा गर्न नसिकरहेको सपना अब हालान्डबाट पछ्याउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर