३२ औं पटक ग्रान्डस्लाम फाइनल खेलिरहेका जोकोभिच – Nepal Press

३२ औं पटक ग्रान्डस्लाम फाइनल खेलिरहेका जोकोभिच

लन्डन । वर्षको तेस्रो ग्रान्डस्लाम टेनिस विम्बल्डनको फाइनलमा आइतबार साँझ निक किर्गियससँग प्रतिस्पर्धा गरिरहँदा सर्बियन स्टार नोभाक जोकोभिचले लगातार चौथोपटक यो प्रतियोगिता जित्न प्रयास गर्नेछन् ।

गत वर्ष चारवटै ग्रान्डस्लामको फाइनल पुगेर यूएस ओपनमा मात्र उपाधि जित्नबाट चुकेका ३५ वर्षीय जोकोभिच यो वर्ष भने विवादमा रहे । कोरोना महामारीविरुद्धको प्रोटोकल फलो नगरेको भन्दै उनलाई अस्ट्रेलियन सरकारले प्रतियोगिता सुरु नहुँदै निकाला गर्‍यो ।

उनी अस्ट्रेलियन ओपनको पछिल्ला लगातार तीन संस्करणका विजेता थिए । फ्रेन्च ओपनमा भने क्वार्टरफाइनलबाटै बिदा हुन पुगे । राफायल नाडालले उनको चुनौती पन्छाएका थिए ।

जारी विम्बल्डनमा उनको यात्रा त्यति सहज नभए पनि फाइनलसम्म पुगेका छन् । दोस्रो र तेस्रो चरणमा मात्र सोझो सेटमा जितेका जोकोभिचले क्वार्टरफाइनलमा पाँच सेट खेल्नुपरेको थियो । पहिलो चरण, प्रिक्वार्टरफाइनल र सेमिफाइनलमा चार सेट खेलेका थिए ।

अन्तिम चारमा क्यामरुन नोरीविरुद्ध पहिलो सेट गुमाएका जोकोभिचले त्यसपछि लगातार तीन सेट जितेर फाइनलमा स्थान बनाएका हुन् । उनका फाइनल प्रतिद्वन्द्वी निक किर्गियसले सेमिफाइनलमा वाक ओभर पाएका थिए । लगातार तेस्रो ग्रान्डस्लाम जित्ने अवसरमा रहेका राफेल नाडाल चोटका कारण प्रतियोगिता खेल्न नसक्ने भएपछि किर्गियसको फाइनल खेल्ने भाग्य खुलेको थियो ।

नाडाल ग्रान्डस्लामको पुरुष एकलमा सर्वाधिक २२ पटकका उपाधि विजेता हुन् । २७ वर्षीय अस्ट्रेलियन किर्गियस पहिलोपटक एकल ग्रान्डस्लाम जित्ने प्रयासमा हुनेछन् ।

यसअघि उनी ग्रान्डस्लामको एकल स्पर्धामा क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेका थिएनन् । सन् २०१३ देखि ग्रान्डस्लाम खेल्न सुरु गरेका किर्गियसले युगल स्पर्धामा यसैपटक पहिलो ग्रान्डस्लाम जितेका थिए अस्ट्रेलियन ओपनका रुपमा । तर, जोकोभिच उनलाई कठिन प्रतिद्वन्द्वी हुनेछन् ।

जोकोभिच पुरुष एकलतर्फ २१ औं पटक ग्रान्डस्लाम जित्ने प्रयासमा छन् । उनले ग्रान्डस्लाममा समग्रमा ३२ औं पटक फाइनल खेल्न लागेका हुन् । पुरुष एकलतर्फ यसअघि कुनै पनि खेलाडीले यति धेरै पटक ग्रान्डस्लाम फाइनल खेलेका छैनन् । नाडालले ३० पटक र रोजर फेडेररले ३१ पटक ग्रान्डस्लाम फाइनल खेलेका छन् ।

जोकोभिच ग्रान्डस्लामको फाइनलमा ११ पटक पराजित भएका छन् । विम्बल्डनमा यसअघि सातपटक फाइनल पुग्ने क्रममा ६ पटक उपाधि जितेका थिए । सन् २०१३ को संस्करणमा फाइनलमा भने एन्डी मुर्रेले जोकोभिचलाई हराएका थिए । जोकोभिच ग्रान्डस्लाममा सन् २००७ को यूएस ओपनमार्फत पहिलोपटक फाइनल पुगेका थिए भने पहिलो उपाधिका रुपमा सन् २००८ को अस्ट्रेलियन ओपन जितेका थिए ।

जोकोभिचले पहिलो ग्रान्डस्लाम उपाधि जित्दा नाडाल तीनपटक र फेडेरर १२ पटक ग्रान्डस्लाम च्याम्पियन बनेका थिए । उनले सन् २०१८ यतामात्र ८ पटक ग्रान्डस्लाम जितेका छन् ।

यतिबेला जोकोभिचलाई नाडालको सर्वाधिक ग्रान्डस्लाम उपाधिको कीर्तिमान तोड्नुपर्ने चुनौती र अवसर छन् । किर्गियसले जोकोभिचलाई हराउन सके जीवनकै अधिकतम गर्वको क्षण हुने बताएका छन् । किर्गियस र जोकोभिच यसअघि दुईपटकमात्र आमनेसामने भएका छन् । सन् २०१७ मा भएका ती दुई भिडन्तमा किर्गियस विजयी भएका थिए त्यो पनि सोझो सेटमा । किर्गियसलाई विश्व टेनिसका ‘वेस्टेड ट्याले‍न्ड’ मान्नेहरु पनि छन् । ग्रान्डस्लाम जित्न बने पनि किर्गियसले त्यसलाई सदुपयोग गर्न नसकेको टिप्पणी उनिमाथि हुने गरेको छ ।

जोकोभिच ती नै खेलाडी हुन्, जसलाई किर्गियस सम्बन्धित रहेको अस्ट्रेलियाले गत जनवरीमा अपमानजनक तरिकाले निकाले‍को थियो । कोभिडविरुद्धको भ्याक्सिन नलगाएको र फर्म भर्दा झूटा विवरण भरेको आरोप उनीमाथि थियो । तर, किर्गियसले जोकोभिचको समर्थनमा बोलेका थिए ।

‘मैले अरुको कारणले भ्याक्सिन लगाएँ र खासगरी मेरी आमाको स्वास्थ्यका लागि । तर, जोकोभिचको विषयलाई हामी जसरी ह्यान्डलिङ गरिरहेका छौं ती निकै खराब छ’, किर्गियसले लेखेका थिए ।

पहिलोपटक एकल स्पर्धाको ग्रान्डस्लाम फाइनल खेल्न लागेका किर्गियस निकै उत्साहि छन् । ‘म आफूलाई नोभाक जोकोभिच वा नाडाल वा फेड‍ेररसँग तुलना भएको हेर्न चाहन्न । किनभने उनीहरुसम्म पुग्न सकिन्न । उनीहरु पूर्ण रोल मोडल हुन्’, किर्गियसले सम्मानसहितको हार्दिकता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर