चोटले नाडालको लयलाई ब्रेक लगाएपछि जोकोभिचलाई खुलेको बाटो – Nepal Press

चोटले नाडालको लयलाई ब्रेक लगाएपछि जोकोभिचलाई खुलेको बाटो

लन्डन । ३७ वर्षको उमेरमा पनि उनले विश्व टेनिसलाई छक्क पारिरहेका थिए र सोच्न बाध्य बनाएका थिए की राफेल नाडालले अझै कतिपटक ग्रान्डस्लाम उपाधि जित्न सक्लान् ?

विम्बल्डनको यो सिजन क्वाटरफाइनलमा टेलर फ्रिट्जलाई पाँच सेट खेलेर हराएपछि नाडाल युग अझै कति समयसम्म लम्बिने हो भन्नेमा अड्कलबाजीहरु सुरु भएको थियो।

फ्रिजसँग सुरुका तीनमध्ये दुई सेट गुमाएर हार नजिक पुगेका नाडालले त्यसपछिका अन्तिम दुई सेटमा ७–५ र ७–६ ले विजयी भएर २४ वर्षीय अमेरिकी फ्रिट्जलाई करियरकै गर्व गर्न लायक जितको अवसर दिएनन्। खेल चलिरहेकै बेला पेटको समस्यामा देखिएका नाडालले हिम्मत हारेनन्।

त्यसरी अगाडि बढेका नाडालले सेमिफाइनलमा प्रतिस्पर्धा नै नगरी प्रतियोगिताबाट बाहिरिनु परेको छ। त्यही चोटले उनको यात्रामा ब्रेक लगाएको छ।

‘मैले आफ्नो जिवनमा समस्या टारेर अगाडि बढ्न अनेकपटक प्रयास गरेको छु। तर यसपटक चोट अझ बढ्ने देखियो। यस्तो अवस्थामा खेल्नुको कुनै अर्थ हुँदैन। मैले यो भनिरहँदा निकै दुख लागेको छ’, गत जुनमा मात्र ३७ वर्ष टेकेका नाडालले भाह्वविह्वल हुँदै बनेका छन्।

नाडाल फेरी एकपटक करियरकै उच्च लयमा देखिइरहेका थिए जुन उनको यो उमेरमा विश्व टेनिसले अपेक्षा गरिरहेको थिएन। नाडालले यो वर्षका दुवै ग्रान्डस्लाम अस्ट्रेलियन ओपन र फ्रेन्च ओपन जितेका थिए। पछिल्ला लगातार तीन संस्करणका विजेता नोभाक जोकोभिच अनुपस्थित रहेको वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनमा प्राप्त उपाधि जितले उनी सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने पुरुष खेलाडी बनेका थिए।

त्यो फाइनल नाडालको खेल जिवनकै एक स्मरणीय रह्यो। ड्यानिल मेदभेदेवसँग भएको त्यस खेलमा नाडाल सुरुका दुई सेट गुमाएर त्यसपछि लगातार तीन सेट जित्न सफल भएका थिए। त्यसअघि नाडाल र जोकोभिचसँगै रोजर फेडेररको नाममा समान २० एकल ग्रान्डस्लाम रहेको थियो।

यो वर्ष नाडालका लागि खास भइरहेको थियो। १३ वर्षपछि पहिलोपटक र समग्रमा दोस्रोपटक अस्ट्रेलियन ओपन विजेता बनेका थिए। लगातार चार ग्रान्डस्लाम जित्न सक्ने अवसर बनिरहेको थियो। नाडालले यसअघि एकपटक लगातार तीन ग्रान्डस्लाम र एकपटक लगातार दुई ग्रान्डस्लाम जितेका थिए।

सन् २०११ फ्रेन्च ओपन, विम्बल्डन र यूएस ओपन जितेपनि त्यस वर्ष र सन् २०१२ को अस्ट्रेलियन ओपनमा भने क्वाटरफाइनलबाटै बाहिरिएका थिए। त्योभन्दा पनि बढी उल्लेखनीय अस्ट्रेलियन ओपनमा जस्तै उनका लागि जित्न कठिन बनिरहेको विम्बल्डन यसपटक उनको हातैमा देखिइरहेको थियो। नाडालले सन् २०१० यता विम्बल्डन जित्न सकेका थिएनन्। उनले यो प्रतियोगिता त्यसअघि एकपटक मात्र जितेका थिए।

नाडाल प्रतियोगिताबाट बाहिरिएपछि जोकोभिचको दाबेदारी अब अझ बढेको छ। पछिल्ला वर्षहरुमा फ्रेन्च ओपनबाहेकका अन्य ग्रान्डस्लाममा जोकोभिच हावी हुँदै आएका छन्। गत वर्ष मात्र उनी वर्षका चारवटै ग्रान्डस्लामको फाइनल पुगेका थिए जसमा तीमध्ये तीनवटाको उपाधि जितेका थिए।

अघिल्ला लगातार चार संस्करणका विजेता नाडाललाई फ्रेन्च ओपनको सेमिफाइनलमै विदा गरेका जोकोभिच यूएस ओपनको फाइनलमा भने मेदभेदेवसँग पराजित भएका थिए। यो हारले दोस्रोपटक लगातार चार ग्रान्डस्लाम जित्ने उनको प्रयास सफल हुन सकेन। यसअघि सन् २०१५ को विम्बल्डनदेखि उनले लगातार चारपटक ग्रान्डस्लाम उपाधि जितेका थिए। यो वर्ष भने जोकोभिचलाई सुखद् रहेन। कोभिड प्रोटोकल उल्लंघन गरेको भन्दै उनलाई अस्ट्रेलियन ओपन खेल्न दिइएन। अस्ट्रेलिया सरकारले भिषा रद्ध गरेर निकाला गरेको थियो।

उनी यो ग्रान्डस्लामका अघिल्ला लगातार तीन संस्करण विजेता थिए। फ्रेन्च ओपनमा भने जोकोभिच क्वाटरफाइनलबाटै घर फर्कनुपर्‍यो, नाडालसँग पराजित भए। जारी विम्बल्डनमा पनि जोकोभिच पछिल्ला लगातार तीन संस्करणका विजेता हुन्। नाडालभन्दा एक वर्ष कान्छा रहेका जोकोभिचले सन् २०१८ यता मात्र ८ पटक ग्रान्डस्लाम उपाधि जितेका छन्। जारी विम्बल्डनमा जोकोभिचको यात्रा सेमिफाइनलसम्म पुगिसकेको छ।

‘उपाधिभन्दा पनि ठूलो कुरा खुसी हो। म जोखिम उठाउने पक्षमा छैन र २र३ महिना प्रतियोगिताबाट बाहिर रहने छु’, पछिल्ला वर्षहरुमा लगातार विभिन्न चोटहरुसँग जुधिरहेका नाडालले भनेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर