लोकल रक्सीलाई ब्राण्ड बनाउँदै लुम्बिनी सरकार – Nepal Press

लोकल रक्सीलाई ब्राण्ड बनाउँदै लुम्बिनी सरकार

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले जनजाति समुदायबाट उत्पादन हुने स्थानीय जातको मदिरा ‘लोकल रक्सी’ को उत्पादन तथा बजारीकरण गर्ने योजनालाई अगाडि सारेको छ ।

प्रदेशमा बढी पाइने कोदो, मौवा, अनदि, कुरिलोबाट उत्पादन हुने लोकल जातको मदिराको उत्पादन र बजारीकरण गर्नका लागि बजेट नै छुट्टाएर नयाँ योजना अगाडि सारिएको हो ।

प्रदेश सरकारको पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयले जनजाति समुदायबाट उत्पादन हुने पेय पदार्थको उत्पादन, प्याकेजिङ्ग, ब्राण्डिङ्ग र बजारीकरण गर्नको लागि अध्ययनसमेत गरेको जनाएको छ ।

मन्त्रालयले विज्ञहरुसँग छलफल गरेर तयारी सुुरु गरेर साउनदेखि काम थालनी गर्ने तयारी गरेको हो । भदौं महिनादेखि प्रदेशका ४ स्थानबाट समुदायस्तरबाट उत्पादन गर्दै आएको पेय पदार्थको बजारीकरण सुुरु हुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बताएका छन् ।

‘पहिलो चरणमा यसको सुरुवातका लागि थोरै रकमबाट थालेका छौं, तत्काल यसको थालनी हुन्छ, धेरै जनाले रोजगार पाउने र धेरै रकम बाहिर जानबाट रोक्न सकिने तथ्यांकसहितको यसलाई सुरुवात गरिएको हो’ मुख्यमन्त्री केसीले भने ।

मगर, थारु, गुरुङ्ग, कुमाल समुदायले कोदो, मौवा,अनदिको चामल, कुरिलो, मकै, सालको मुनाबाट उत्पादन गर्ने पेय पदार्थलाई बजारीकरण गर्ने पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले जानकारी दिए । यसबाट १ देखि ५ लाख जनाले प्रदेशमा रोजगारी श्रृजना हुने मन्त्रलायले आंकलन गरेको चौधरीको भनाइ छ ।

‘मदिरामा ठूलो रकम बाहिरिएको छ, यसलाई व्यवस्थित बनाउने यो योजनाको सुरुवात भएको हो, जनजाति समुदायको यसको ठूलो प्रभाव पर्नेछ, धेरै रोजगारीको व्यवस्थापन हुनेछ, साउनदेखि यसलाई ब्राण्डिङ बनाएर लैजाने छौं, सुरुमा ४ जिल्लाबाट काम थाल्न बजेट व्यवस्थापन गरिएको हो’ मन्त्री चौधरीले भने ।

पहिलो चरणमा दाङ, रोल्पा, पाल्पा, रुकुमबाट पेय पदार्थको उत्पादन र बजारीकरण सुरु गर्ने तयारी गरिएको हो । आगामी आर्थिक वर्ष लागि प्रदेश सरकारले २ करोड बजेट छुट्टाएको र माग अनुसार बजेटको ब्यवस्थापन गरिने पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यो विषयमा जानकारी दिन आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसी, संचार मन्त्री तिलकराम शर्मा, पर्यटन मन्त्री डिल्लीबहादुर चौधरी, कानुन, महिला तथाबालबालिका मन्त्री रमा घर्तीलगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *